कार्यदल बन्न सकेन, स्वराजको भ्रमण सकारात्मक

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक बिनानिष्कर्ष सकिएको छ । बिहीबार ओली निवास बालकोट भक्तपुरमा बसेको बैठकले पार्टी एकताको थप दिशा तय गर्न सकेन । बिहीबार बन्ने भनिएको विचार सिद्धान्तसँग सम्बन्धित कार्यदलसमेत बन्न सकेन । दुई शीर्ष नेताबीच वान टु वान वार्ता भइरहेकाले उनीहरुबीच कुराकानी टुंगिएपछि मात्रै समितिले थप निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठकले कार्यदलले गरेको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डासम्बन्धी निर्णयलाई भने अनुमोदन गरेको छ ।
यसअघि कार्यदलले प्रदेश नम्बर १, ३, ४, र ५ को मुख्यमन्त्री एमालेलाई त्यस्तै ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने गरी भागवण्डा गरेको थियो ।
भागवण्डानुसार १, ३, ६ र ७ को सभामुख पनि एमालेले पाएको छ । त्यस्तै ४ र ५ को सभामुख भने माओवादी केन्द्रले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेले उपसभामुखमा उमेदवारी दिनेछ ।
बैठकले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधारका लागि सकारात्मक भएको टिप्पणी गरेको छ । “सुष्मा स्वराज छिमेकी देशको नेता हो, हाम्रो पाहुना हुनुहुन्छ । उहाँको भ्रमणलाई दुई देशको सम्बन्ध सुधार गर्ने सकारात्मक कदमका रूपमा लिएका छौँ,” बैठकपछि सञ्चारकर्मीसँग एमाले उपाध्यक्ष वामदेव गौतमले भने । नयाँ सरकार गठनको पूर्वार्धमा दुई दिवसीय नेपाल भ्रमणका लागि आएकी स्वराजको स्वागतमा एमालेले बिहीबारै रात्रिभोजको आयोजना गरेको छ ।