अन्तरिक्ष सफाइ अभियान «

अन्तरिक्ष सफाइ अभियान

अन्तरिक्षमा मडारिएको काम नलाग्ने ठोस फोहोर वा कवाडी पृथ्वीका लागि ज्यादै खतरा बनेको अन्तरिक्षको खोजमा संलग्न संस्थाले जनाएका छन् । अन्तरिक्ष युगमा प्रवेश गरेका विश्वका विभिन्न देशका लागि यो थप चिन्ताको विषय पनि बन्न पुगेको छ । अन्तरिक्ष सफाइ अभियान ज्यादै महँगो हुने पनि अनुसन्धानले देखाएको छ । पछिल्लो समयमा अन्तरिक्षमा रहेको फोहोर सफाइका लागि विश्वका केही देशले विशेष चासोका रूपमा लिएका छन् ।
प्रकृति बचाउने कुरा अब पृथ्वीमा मात्र सीमित रहेन, जुन अन्तरिक्षसम्म पनि पुगेको छ । अन्तरिक्षमा बढेको फोहोरमैलाको विषयमाथि विश्वका सबै देशले आ–आफ्नै तवरले चिन्ता प्रकट गर्दै न्यूनीकरण र सफाइका लागि प्रयास जारी राखेका छन् । जापानका केही कम्पनीहरू अन्तरिक्षमा रहेका काम नलाग्ने वस्तुको व्यवस्थापनका लागि नयाँ उपायको खोजीमा सक्रिय रहेका छन् । हाल भारतको बेंगलुरमा ‘इसरो सिस्टम फर सेफ एन्ड सस्टेनेबल अपरेसन’ भनेर स्थापना भएको संस्थाले पनि अन्तरिक्षको सफाइप्रति विशेष चासो र चिन्ता बढाएको देखिन्छ । नयाँ प्रविधि, विभिन्न देशले प्रक्षेपण एवम् प्रयोग गरेका रकेटबाट निस्कने विकार वा ठोस फोहोरको प्रबन्ध गर्न यसले सहयोग गर्ने जनाएको छ । मानिसले ब्रह्माण्डको अवलोकन गर्नका लागि टेलिस्कोप अथवा स्याटेलाइट बनाउन सुरु गरेर सफलता प्राप्त गरेपछि चन्द्रमा अथवा मङ्गल ग्रहमाथि सबैको नजर परेको छ । हामी सबैको दृष्टि सीधै ती संसाधनमाथि केन्द्रित हुनुपर्छ, जसले पृथ्वीमाथि दोहन गरेको छ । लालचका कारण मानव समुदायले समुद्रलाई पनि भेदन गरिसकेको छ र आकाशलाई पनि उसले बाँकी रहन दिएको छैन ।
नेचर एस्ट्रोनमी पब्लिकेसन्सका अनुसार आज अन्तरिक्षमा जुन तरहले प्रदूषणले भरिएको छ, त्यो हाम्रो लागि घातक साबित भएको छ । हामीले स्याटेलाइट र रकेटलाई अन्तरिक्षमा प्रक्षेपण गरेका छौँ । त्यसबाट अन्तरिक्षमा फोहोर जम्मा भइरहेको छ । अनुसन्धानअनुसार अन्तरिक्षमा करिब ९३ हजार टन ठोस फोहोर रहेको पाइन्छ । यदि कुनै कारणले यी फोहोर पृथ्वीमा आउने हो भने ज्यादै नोक्सान हुने देखिन्छ । अहिले पनि करिब तीन हजारभन्दा ज्यादा स्याटेलाइट अन्तरिक्षमा बिनाकाम त्यसै घुमिरहेका छन् । जो पृथ्वीको सम्पर्कभन्दा बाहिर छन् । यद्यपि करिब २ हजार स्याटेलाइट अन्तरिक्षमा क्रियाशील छन् भने तिनले ब्रह्माण्डमा चक्कर लगाइरहेका छन् ।
नेचर एस्ट्रोनमी पत्रिकाले चेतावनी दिएको छ, आउने दस वर्षभित्र स्याटेलाइट अथवा स्पेसक्राप्फ्ट कुनै न कुनै बेला पृथ्वीमा झर्न सक्छ । यदि यो खसेमा त्यसले पृथ्वीमा अवश्य नै नोक्सान पुग्ने देखिन्छ, जसलाई हामीले गम्भीरताका रूपमा लिएका छैनौँ । अन्तरिक्षमा बहुत तीव्र गतिमा घुम्ने काम नलाग्ने ठोस फोहोरका टुक्राले अन्तरिक्षमा रहेका अन्य ग्रह–उपग्रहलाई ठूलै खतरा पुर्‍याउने देखिन्छ । सक्रिय उपग्रहलाई त्यसले असर पुग्ने देखिएको छ । मिलिमिटरको काम नलाग्ने ठोस फोहोरको टुक्राले पनि उपग्रहलाई नष्ट गर्न सक्छ । हालसम्म यस्ता ठोस फोहोर पृथ्वीमा खसेर कुनै पनि क्षति भएको तथ्य सार्वजनिक भएको छैन ।
हरेक १ सय वर्षमा एउटा ठूलो उल्का पिण्ड पृथ्वीमा खस्ने गरेको अनुसन्धानले देखाएको छ । जब कि ३० जुन १९०८ मा रूसको तुन्गुस्का नदी किनारको घना वनक्षेत्रमा उल्का पिण्ड खसेको थियो । त्यस खालको पिण्ड पृथ्वीका खस्दा १२ सय वर्गकिलोमिटरको क्षेत्र प्रभावित भएको थियो । त्यसैले अन्तरिक्षको कुनै पनि फोहोरको टुक्रालाई सामान्य ठान्न मिल्दैन । विश्वमा अन्तरिक्ष अनुसन्धानका लागि ठूलो लगानी भएको देखिन्छ । अनुसन्धानअनुसार काम नलाग्ने फोहोर वा कवाडीका कारण ठूलो नोक्सानी भोगिरहेका छाँै । ब्रह्माण्डको खोज मानवका लािग हितकर भए पनि पृथ्वीको अस्तित्व संकटमा नपर्ने गरी त्यसको खोज–अनुसन्धान गर्नु आवश्यक देखिन्छ ।
पृथ्वीको चारैतिर २८ हजार किलोमिटर प्रतिघण्टाका दरले ती काम नलाग्ने फोहोरले पृथ्वीको चक्कर लगाइरहेका छन् । त्यही फोहोरका कारण नासाले अन्तरिक्ष खोजमा जुटेका अन्तरिक्ष यानबाट बाहिर निस्कन अनुमति नदिएको जनाएको छ । रूसले आफ्नो अन्तरिक्ष केन्द्रको समाप्त गर्नका लागि स्याटेलाइटविरोधी मिसाइल प्रक्षेपण गरेको थियो, जसका कारण शान्त ब्रह्माण्डमा हलचल मात्र पैदा भएको छैन, काम नलाग्ने फोहोर पनि थुप्रिएको छ ।
आकाश, पाताल र पृथ्वीलाई पनि मानिसले आफ्नो लालचको घेरामा बाँधेको देखिन्छ । उसलाई भोलिका दिनमा आउने खतराप्रति चिन्ता देखिन्न । करिब ४० हजार टन धूलो कुनै न कुनै रूपमा अन्तरिक्षमा रहेको छ र जुन लगातार पृथ्वीमा आइरहेको छ । जसका कारण पृथ्वीको गुरुत्वाकर्षण शक्ति पनि प्रभावित भएको पाइन्छ ।
पछिल्लो समय आएर संयुक्त राष्ट्र संघले पनि यो समस्यालाई विशेष ध्यान दिएको छ । यस प्रकारको स्याटेलाइट रकेट वा क्राफ्ट अन्तरिक्षमा पठाउने संस्था वा एजेन्सीलाई अपिलसमेत गरेको छ कि सबैले अन्तरिक्षमा एकत्रित भएको आफ्नो हिस्साको फोहोर वा कवाडी स्वयम् आफैँले हटाउनुपर्नेछ । त्यसैले जापानले आफ्नो नवीन उपायको परीक्षण गरेको छ । त्यसलाई जापानले भविष्यको ठूलो कारोबारका रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्