परिसंघको महिला नेतृत्व शिखर सम्मेलन माघमा

नेपाल उद्योग परिसंघले २९ पुसदेखि १ माघसम्म महिला नेतृत्वदायी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।
परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधानका उपायका बारेमा सम्मेलनमा छलफल हुनेछ ।
यसैगरी सम्मेलनलाई लैगिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिनेछ । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुने परिसंघले जनाएको छ ।
परिसंघले पहिलो पटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउने बताइएको छ । शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरुको सहभागिता हुनेछ ।