उद्यमशिलतामा अग्रसर तिलाका महिला

शहरको तुलनामा गाउँका महिला आर्थिक रुपमा सक्षम हुँदैनन् । गाउँका महिलालाई व्यापार व्यवसाय, उद्यमशिलतामा अग्रसर हुन पारिवारिक तथा सामाजिक परिवेशले पनि दिएको छैन् । सीप क्षामता आँट नभएर होइन, महिला घरभन्दा बाहिरको काम गर्न सक्दैनन्, मेलापात घरधन्दा महिलाको पेवा जस्तो ठान्ने प्रवृत्ति समाजमा विद्यमान छ । जसका कारण अझै अधिकांश महिला आर्थिक सामाजिक र राजनीतिक रुपले मूल प्रवाहमा आउन सकेका छैनन् ।
तर तिला गाउँपालिका वडा नं. १ की संगीता बुढा समाजको संकीर्ण सोचभन्दा माथि उठेर एक नमूना उद्यमी बन्ने बताउँछिन् । उनी तीन महिने ढाका बुनाई तालिम लिइरहेकी छिन् । उनी ढाकाबाट उत्पादन हुने सल, चोली कपडा, गलबन्दी, सारी र धोतीलगायतका कपडा बुन्न सिकीरहेकी छिन् । तालिमपछि व्यावसायीक रुपमा ढाका उद्योग खोल्ने संगिताको सोच छ ।
संगीता भन्छिन्, “महिलाले पनि आर्थिक कमाउन सक्छन्, सफल उद्यमी बन्न सक्छन् भन्ने उदाहरण देखाउन चाहान्छु । सधै घरधन्दा समाल्नुपर्ने, मेलापात धाउनु पर्ने महिलाको मात्रै ठेक्का हैन । अब महिला पनि आर्थिक क्रान्ति अघि बढ्नु पर्छ । त्यसको शुरुवात उद्यमशिलताले गर्छ ।”
तिला गाउँपालिका ९ की अन्जु बढा पुरुषसरह आर्थिक रुपमा महिला सक्षम बन्न उद्यमशिलताको विकल्प नरहेको बताउँछिन् । “महिलाको परनिर्भता अन्त्यको विकल्प पनि उद्यमशिलता नै हो” उनी भन्छिन्, “मेहनत गरी ३ महिने तालिमबाट ढाका बुनाई सीप सिक्दै छु । तालिमपछि व्यावसायीक रुपमा उद्योग खोल्ने सोच छ । स्थानीय तहले सहयोग गरे ढाका उद्योगलाई थप वृहत्तर बनाउँछु । बढ्दो ढाको कपडाको माग जुम्लामै धान्ने गरी उत्पादन बढाउँछु ।”
तिला ९ की रामछाया थापाले एक महिना खरायोको टोपी बुन्न सिक्दैछन् । थापाले खरायोको टोपीसँगै मनग्य कमाउने सपनासमेत बुनेकी छन् । जुम्लामा खरायोको टोपीको माग बढ्दो छ । घरमै थन्किनु भन्दा उद्यम गरेर आर्थिक रुपमा सक्षम बन्ने हुटहुटी पलाएको समेत रामछायाले बताइन् । यसरी तिलाकी रामछाया, अन्जु र संगीता सामाजको संकिर्ण सोचभन्दा माथि उठेर उद्यमशिलता तर्फ अग्रसर हुन थालेका छन् ।
वल्र्डभिजनको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा सञ्चालित (एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन) परियोजनाबाट ३ महिने ढाका बुनाई र एक महिने खरायो टोपी बुन्ने तालिम सञ्चालन भएको छ । जसमा ढाका बुनाइमा २० र टोपी बुन्नेमा ३० जना महिला सहभागी छन् । तालिमपछि स्थानीय सरकारले आव्श्यक लगानी गरे नमूना उद्यमी बनेर छाड््ने उनीहरुको अठोट छ । किर्डाकले दिएको व्यावसायीक योजना सम्बन्धी तामिल र सीपले भविष्यमा सफल उद्यमी बन्ने आँट आएको समेत तिलाकी विष्णुकली रोकायाले बताइन् ।
गाउँमा रोजगारी सृजना गर्न तथा उद्यमशिलताको विकासका लागि स्थानीय सरकारले आबश्यक लगानी गर्ने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाको प्रतिवद्धता छ । तालिमपछि प्रत्यक महिलाले ढाका बुन्ने मेसिन पाउने छन् ।