१० अर्बको तयारी पोशाक निर्यातमा चेम्बरले सहयोग गर्ने

नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ ।
तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको चेम्बरले जनाएको छ ।
नेपाल चेम्बरअन्तर्गतका अन्तर्राष्ट्रिय शाखामार्फत नेपाली तयारी पोशाकको बजार प्रवद्र्धन गर्न उद्योगी व्यवसायीसँग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन एक मात्रै विकल्प भएको बताए ।
“विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तर्राष्ट्रिय शाखामार्फत तयारी पोशाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ” अध्यक्ष मल्लले भने, “चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता ब्यक्त गर्दछु,।”
९० को दशकमै नेपालबाट वार्षिक ११ अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात हुने गरेको भन्दै अध्यक्ष मल्लले अहिले मुस्किलले ७ अर्बको निर्यात हुनु दुर्भाग्य भएको बताए ।
नेपालका तयारी पोशाकको निर्यात प्रर्वद्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसँग पनि चेम्बरले समन्वय गर्ने अध्यक्ष मल्लको भनाइ छ । तयारी पोशाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । गार्मेन्ट्सका वस्तु एवं तयारी पोशाकको निर्यातमा कुनै समय नेपाल विश्वको उत्कृष्ट १० भित्र परेको स्मरण गराउँदै आध्यक्ष मल्लले निर्यात प्रवद्र्धन गर्नका लागि चेम्बरले आवश्यक सबै व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाए ।
नेपाल तयारी उद्योग पोशाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भएपनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताए । यो आर्थिक वर्षमा निर्यात १० अर्ब पुर्याउने आफूहरुको लक्ष्य रहेको अध्यक्ष पाण्डेको भनाइ छ । स्वदेशी वस्तुको गुणस्तरबारे आफ्नै देशका नागरिकलाई सचेत गराउन नसकिएको पाण्डेको गुनासो गरे । नेपालमै उत्पादित वस्तुहरु पनि पछिल्लो समय गुणस्तरीय बन्दै गएको भन्दै पाण्डेले उपभोक्तामा सचेतना जगाउन भने नसकिएको बताए ।