कर्मचारी सञ्चयकोष ६१औं वर्षमा

कर्मचारी सञ्चयकोषले स्थापनाको ६१औं वार्षिकोत्सव मनाएको छ ।
कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्तभरण तथा सञ्चयकोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो । २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो । २०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको कोषले ०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतको कोष कट्टी गर्दै आएको छ ।
कोषले २०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र २०७७ देखि सार्वजनिक निकायको निवृत्तभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको कार्यक्रममा जानकारी दिइयो । वार्षिकोत्सव कार्यक्रममा सञ्चयकोषका निमित्त प्रमुख जितेन्द्र धितालले कोषको वर्तमान अवस्था र भावी कार्ययोजनाको विवरण पेस गरे । उनले कोष ६१औं वर्षमा प्रवेश गर्दा विज्ञान र प्रविधिको उच्चतम् प्रयोगलाई प्राथमिकता दिइएको बताए ।
निमित्त प्रशासक धितालका अनुसार कोषमा ५ लाख ५५ हजार सञ्चयकर्ता छन् । यसबाट कोषले ४ खर्ब ५९ अर्बभन्दा बढी वित्तीय स्रोतको परिचालन गरेको छ । धितालले कोषले सरकारको स्वामित्व नियन्त्रणमा रहेका तथा सरकारको अनुदानमा सञ्चालन हुने सबै सार्वजनिक निकायका कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान योजना सुरुवात गरेको जानकारी दिए ।
भदौ मसान्तसम्म ३६४ कर्मचारीले केन्द्र, सात प्रदेशमा आठ वटा कार्यालय र तीन वटा सेवा केन्द्रबाट सेवा दिइरहेको छ ।
निमित्त प्रशासक धितालका अनुसार कोषलाई आर्थिक वर्ष २०७८/०७९ मा ३३ अर्ब ७८ करोड आम्दानी भएको छ । यसबाट ४ अर्ब २१ करोड खुद मुनाफा हुने अनुमान छ । यो रकमलाई मुनाफा र सामाजिक सुरक्षा सुविधाको रुपमा सञ्चयकर्ताकै हितमा प्रयोग गर्दै जाने धितालले बताए ।