जलविद्युत्मा लगानी गर्न नेपालको जवाफ पर्खिरहेका छौं «

जलविद्युत्मा लगानी गर्न नेपालको जवाफ पर्खिरहेका छौं

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते शाम्सले नेपालमा चार वर्षदेखि दुई देशको कूटनीतिक तथा आर्थिक सम्बन्धको पुलका रूपमा काम गरिरहेकी छन् । पछिल्ला वर्षहरूमा बंगलादेशले लगातार ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गरिरहेको छ । तीव्र आर्थिक वृद्धिका कारण बंगलादेशमा विद्युत्को माग बढेको बढ्यै छ । बंगलादेशले नेपालसँग मिलेर ज्वाइन्ट भेन्चरमा जलविद्युत्मा लगानी गर्ने चासो देखाएको धेरै भइसकेको छ । तर, नेपालका तर्फबाट भने कुनै उत्तर नपाएकाले लगानीको सुनिश्चितता भने भइसकेको छैन । नेपालले तयारी आयोजना बनाउन प्रस्ताव गरे बंगलादेशले भारतसँग मिलेर लगानी गर्ने तथा उत्पादित बिजुली किन्ने प्रतिबद्धता जनाइसके पनि नेपाल आफ्नै राजनीतिक संक्रमणमा परेर निर्णय दिन नसक्दा व्यापारघाटा चुलिँदै छ । नेपाल–बंगलादेश व्यापारमा कुनै समय नेपाल नाफामा रहेकोमा हालका वर्षहरूमा बिस्तारै बंगलादेशसँग व्यापारघाटा बढिरहेको छ । निर्यात प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१६ मा नेपालले बंगलादेशबाट ५.०१ अर्बको आयात गरेको थियो भने जम्मा १.३८ अर्बको मात्रै निर्यात गरेको देखिन्छ; अर्थात् सन् २०१६ मा नेपालको बंगलादेशसँग करिब ४ अर्बको व्यापारघाटा थियो । यस्तै, सन् २०१५ मा नेपालले बंगलादेशबाट २.४० अर्बको आयात गरेको थियो भने निर्यात जम्मा ७०.३९ करोडको मात्रै गरेको देखिन्छ । बंगलादेशले नेपालमा एकै वर्षमा दोब्बर निर्यात गरेकोमा नेपालको निर्यात व्यापार भने त्यति सन्तोषजनक छैन । यसै क्रममा नेपालमा बंगलादेशका केही व्यापारिक प्रतिष्ठानले आफ्नो व्यवसाय विस्तार गरिरहेका पनि छन् । नेपाल र बंगलादेश दक्षिण एसियाली सहयोग संगठनजस्तो क्षेत्रीय मञ्च चाहिन्छ भनेर सार्कको परिकल्पना गर्ने मुलुक पनि हुन् । क्षेत्रीय सहयोग मञ्चमा बाहेक पछिल्ला वर्षहरूमा नेपाल तथा बंगलादेश दुवै मुलुकबीच उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान नभएको धेरै वर्ष भइसकेको छ । उच्च राजनीतिक नेतृत्वको द्विपक्षीय भ्रमण तथा लगानीका विषयमा कुरा गर्न ढिला भइसकेको बंगालदेशकी राजदूतको भनाइ छ । द्विपक्षीय सम्बन्ध, व्यापार, संयुक्त लगानी, जलविद्युत् विकासलगायतका विषयमा बंगलादेशकी राजदूत मास्फी बिन्ते शाम्ससँग कारोबारका सम्पादक कुबेर चालिसे तथा संवाददाता भीम गौतमले गरेको कुराकानीको सार:

नेपाल र बंगलादेशबीच वर्षौंदेखिको सम्बन्ध भए पनि द्विपक्षीय व्यापार भने सन्तोषजनक छैन नि ! यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपाल र बंगलादेशबीच सयौं वर्ष पुरानो सम्बन्ध छ, जुन आजसम्म जारी छ । सातौं शताब्दीदेखि दुई देशबीच ओहोरदोहोर छ । धेरै जनताले बंगलादेशलाई भारतसँग जोड्छन् । मलाई लाग्छ, नेपाल र बंगलादेश दुवै सार्वभौम देश हुन् । नेपाल र बंगलबादेशबीचमा भारत जम्मा ३७ किलोमिटर मात्र भए पनि भारत हामी दुई देशको पुलजस्तै छ । तर, व्यापार नबढ्नुमा सूचनाको अभाव हो । जस्तै, बंगलादेशका व्यापारीसँग नेपालबारे धेरै सूचना छैन तथा नेपालका व्यापारीसँग पनि बंगलादेशबारे धेरै सूचना छैन । नेपालको बजार पनि सानो छ । यस्तै, व्यापारमा दुई देशमा उत्पादित वस्तुको माग छ कि छैन भन्नेमा पनि निर्भर हुन्छ । बंगलादेश निकै उत्पादनशील राष्ट्र हो । बंगलादेशका धेरै उत्पादित वस्तु नेपालमा आयात हुन सक्छन् भने ठूलो अर्थतन्त्र भएको बंगलादेशमा पनि ठूलो बजार छ । नेपालबाट पनि आयात हुने अवस्था छ, तर उच्च भन्सार, गैरभन्सार अवरोधहरू, दक्ष जनशक्तिको कमि, एक–अपासमा सीधै सम्पर्क हुन कनेक्टिभिटीलगायतका मुद्दाहरू द्विपक्षीय व्यापारका लागि समस्याका रूपमा देखिएका छन्, तर पनि मैले मुख्य रूपमा दुई देशबीचमा सञ्चार तथा सूचनाको अभाव नै प्रमुख कारण देखेको छु ।

पछिल्ला वर्षमा बंगलादेशको उत्पादनले नेपालमा राम्रो बजार पाएको छ । यस्ता सफल उदाहरणहरू किन धेरै छैनन् ?
सही कुरो हो । चार वर्षदेखि नेपालमा प्रानको व्यापार छ । बंगलादेशको व्यापार यसमा बढ्दो छ । यस्तै, व्यापार प्रवद्र्धनका लागि बंगलादेशका व्यापारिक समूह नेपाल पनि आइरहेका छन् भने बंगलादेश राजदूतावासले यसमा सहयोग गरिरहेको छ । बंगलादेशमा बाल्टन, रेफ्रिजेरेटर, टेलिभिजनलगायतका कम्पनीहरू छन् । रनरजस्ता बंगलादेशी ब्रान्डका मोटरसाइकल पनि बंगलादेशले नेपालमा निर्यात गरिरहेको छ । त्यसैले द्विपक्षीय व्यापार बढिरहेको छ । पछिल्ला वर्षहरूमा नेपालसँगको व्यापारमा बंगलादेशले चार गुना वृद्धि गरिसकेको छ ।

बंगलादेशको नेपालमा आक्रामक व्यापारवृद्धिसँगै नेपालले पनि बंगलादेशसँग कसरी व्यापार वृद्धि गर्न सक्छ ?
जसरी बंगलादेशी व्यापारीहरू नेपाल आइरहेका छन्, त्यस्तै नेपाली व्यापारी व्यवसायीहरू पनि बंगलादेशमा व्यापारका लागि जानेबारे सोच्नुपर्छ । उत्पादनमूलक उद्योगमा बंगलादेश पनि अगाडि छ, तर पनि अझ धेरै नेपालका उत्पादनहरू बंगलादेश लैजान सकिन्छ । प्रत्येक वर्ष २५/२६ हजार पर्यटक नेपालमा आउँछन् र उनीहरू अधिकांशले पस्मिना किन्छन् । नेपालको पस्मिना बंगलादेशमा निर्यात गर्न सकिन्छ । अर्को, नेपालले कफीसमेत निर्यात गर्न सक्छ । अरू देशहरूमा पनि नेपालले गरिरहेको छ । नेपालबाट बंगलादेशमा जेम्स एन्ड ज्वेलरीको समेत निर्यातको सम्भावना छ । मेरो सोचाइअनुसार, नेपालको फुट वेयर पनि राम्रो उत्पादन हो । बंगलादेशको १ सय ६० मिलियन जनताका लागि यो उत्पादनको बजार हुन सक्छ । बंगलादेशले १ सय ८ वस्तुलाई निःशुल्क भन्सारको सुविधा दिएको छ । भन्सारको सुविधा व्यवस्थापन भएमा एग्रेसिभ्ली नेपाली व्यापारिक समुदाय बंगलादेशको बजारमा जान सक्छ ।
नेपाल र बंगलादेशबीचको सञ्चारसम्बन्ध र मानसिकतामा चार–पाँच वर्षदेखि परिवर्तन हुँदै आएको छ । आठ वर्षयता हेर्दा बंगलादेशको जीडीपी दोब्बर भएको छ । ६ प्रतिशतभन्दा बढी पनि छ । अघिल्लो वर्ष ७ प्रतिशतभन्दा बढी थियो । यस्तो अवस्थामा नेपाल र बंगलादेशबीच उत्पादित वस्तुहरूको आयात निर्यात बढ्न सक्ने राम्रो सम्भावना छ । बंगलादेशमा पनि सन् १९९१ पछिको अहिलेको अवस्था हेर्ने हो भने धेरै परिवर्तन आएको छ । पूर्वाधार विकासमा पनि धेरै फड्को मारेको छ ।

नेपाल तथा बंगलादेश दुवैको साझा सपना सार्कको गठन हो । तर, पछिल्लो समयमा सार्कको भूमिका विस्तार प्रभावहीन बन्दै छ भन्ने गुनासो छ । यसलाई कसरी हेर्नुहुन्छ ?
दक्षिण एसिया एउटा एकीकृत बजार हो । ब्रिटिस आउनुअघि यो क्षेत्र स्वतन्त्र बजार क्षेत्र पनि थियो । दक्षिण एसिया क्षेत्रका देशहरूमा जनताको ओहोरदोहोरदेखि व्यापार सहज छ र थियो पनि । पहिला राहदानी पनि चाहिँदैनथ्यो । ब्रिटिस आएपछि कृत्रिम पर्खालहरू बने । हामी फेरि एकीकृत क्षेत्रका रूपमा विकास हुन चाहेका छौं । सार्क त्यसकै लागि गठन भएको हो । धेरैले पछिल्लो समय बीबीआईएनले सार्कलाई प्रतिस्थापन गरिरहेको भन्न पनि थालिएको छ, तर यसमा सत्यता छैन । सार्कभित्र धेरै समानता छ । यस्तै, बंगलादेश, भुटान, भारत र नेपालबीचमा नदी, गरिबीलगायतमा पनि समानता छ, जसका कारण प्राकृतिक रूपमै हामी सहकार्य गरिरहेका छौं । बंगलादेश, भारत र श्रीलंकाबीच पनि केही समानता छ भने अन्य देशहरूबीच पनि समानता छ । तर, सार्क ठूलो क्षेत्रीय संगठन भएकाले अरू कुनैले यसलाई प्रतिस्थापन गर्न सक्दैनन् ।

विश्वमै बहुपक्षीयभन्दा द्विपक्षीय सम्बन्धले नै सहकार्यमा सहजता हुन्छ भन्ने धारणा बन्दै गइरहेको देखिन्छ । के सार्कले काम नगर्नुमा पनि दुई देशका आ–आफ्ना भिन्न–भिन्न सम्बन्धहरू बलियो भएर हो ?
बहुपक्षीय क्षेत्रमा काम गरिरहेकाहरू बहुपक्षीय सम्बन्धको कुरा गर्छन् र द्विपक्षीय क्षेत्रमा काम गरिरहेकाहरू द्विपक्षीय सम्बन्ध नै बलियो हुन्छ भन्छन् । यसबारे धेरै छलफल तथा वादविवाद गर्न सकिन्छ । कतिपय बहुपक्षीय मिसनहरू पनि समान हुन्छन् । जस्तै, विश्व व्यापार संगठनको विश्वमै सञ्जाल छ । हाम्रो क्षेत्रीय व्यापार संगठन साफ्टाको निश्चित क्षेत्रको सञ्जाल छ । यो एक–अर्का देशसँग कसरी व्यापार गर्छ भन्ने महŒवपूर्ण हुन्छ । बहुपक्षीय व्यापार गर्दा र क्षेत्रीय व्यापार गर्दा यसले पछ्याउने निर्देशिका फरक–फरक हुन्छ । यसका प्रक्रिया, सुविधा, प्रावधान महत्वपूर्ण हुन्छन् । द्विपक्षीय रूपमा नेगोसेसन कठिन भएका बेला बहुपक्षीय मञ्चले काम गर्छ । यदि नेपाल र बंगलादेशजस्तै दुई देशबीच असल सम्बन्ध छ भने द्विपक्षीय सम्बन्धले पनि धेरै सहकार्य गर्न सहज हुन्छ । अरू देशहरूको सम्बन्धमा पनि यस्तै अवस्था छ ।

तर, सार्कबाहिरका देशहरूसँग भन्दा सार्कभित्रकै देशहरूको आपसमा व्यापारको स्थिति सन्तोषजनक छैन नि । के कारण हो जस्तो लाग्छ ?
सार्क सबै राष्ट्रका लागि एउटा सशक्त माध्यम बन्न सक्छ । भौगोलिक कारण तथा आपसी सम्पर्कको कठिनाइले पनि सार्कभित्रका राष्ट्रहरूको बीचमा व्यापर धेरै हुन नसकेको हो । तर, यथार्थतामा सार्कभित्र कनेक्टिभिटी बढाएमा सबैको प्रयासमा सम्भव छ ।

कुनै बेला सार्कभित्र एउटै बजार तथा एउटै मुद्राको कुरा पनि कुरा उठेको थियो ? फेरि किन यो अघि बढ्न सकेन ?
यी सबै कार्य गर्नका लागि सार्क राष्ट्रहरूले सबैले नै महत्वपूर्ण भूमिका खेल्नुपर्छ । त्यसमा पनि जुन देशले अध्यक्षता गर्छ, त्यो देशको भूमिका अझ महत्वपूर्ण हुन्छ । हाल नेपाल अध्यक्ष छ, त्यसैले नेपालको भूमिका धेरै हुन्छ । साथै, द्विपक्षीय सम्बन्धलाई पनि दरिलो बनाउँदै लैजानुपर्छ । यसले व्यापार प्रवद्र्धनमा समेत ठूलो सहयोग गर्छ । साथै, विकास र व्यापारलाई छुट्टै रूपमा हेरेर अघि बढ्न सक्नुपर्छ । भएका सम्झौताहरू कार्यान्वयन हुनुप¥यो तथा लागू हुनुप¥यो ।

सार्कका सम्झौताहरू अघि नबढ्नुमा यस क्षेत्रका कर्मचारीतन्त्रको ठूलो हात छ भनिन्छ नि ! राजनीतिक तहबाट हस्ताक्षर भएर पनि वर्षौं पुराना सम्झौताहरू कार्यान्वयनमा नआउनुमा हाम्रो यस क्षेत्रका कर्मचारीतन्त्र परम्परागत र साँघुरो सोच हो भनिन्छ, यसलाई कसरी हेर्नुहुन्छ ?
विश्वमै यस्तो हुन्छ । सम्झौता वा समझदारी राजनीतिक नेतृत्वले गर्ने हो । तर, जब सम्झौता वा समझदारी हुन्छ, त्यसपछि त्यसलाई केलाएर हेर्दै कार्यान्वयनको चरणमा पुराउने तथा कार्यान्वयन गर्ने क्रममा कर्मचारीतन्त्रको ठूलो हात रहन्छ । आयोजनाहरू अघि बढाउनका लागि राजनीतिज्ञहरूसँग लगातार पटक–पटक छलफल र वार्ता गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र दु्रत गतिमा सम्झौताको कार्यान्वयन अघि बढ्न सक्छ । त्यसमाथि पनि यस क्षेत्रका केही देशमा राजनीतिक अस्थिरता रहेकाले पनि समग्र दक्षिण एसियाली क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धनमा केही ढिला भएको हो, तर सार्कले काम गर्छ भन्नेमा हामी आशावादी छौं ।

नेपाल, भारत र बंगलादेशबीच ऊर्जाको सहकार्य गर्नेबारेमा धेरै चर्चा भइरहेको छ । बंगलादेश नेपालको ऊर्जामा लगानी गर्न चाहन्छ भन्ने पनि सुनिन्छ । केही ठोस प्रगति भएको छ ?
हामी बंगलादेशबाट नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि कुरा गरिरहेका छौं । हालै भएको नेपाल पावर समिटमा समेत बंगलादेशले नेपालको ऊर्जाक्षेत्रमा अर्बौं लगानी गर्ने घोषणा गरिसकेको छ । मलाई लाग्छ, ऊर्जामा लगानी गर्दा विन–विन अवस्था हुनुपर्छ । नेपाल–भारत र बंगलादेशबीच यस्तो अवस्था हुनुपर्छ, जसमा सबैलाई फाइदा होस् । बंगलादेश ऊर्जा अभाव भएको देश हो । हाम्रो देशमा अर्थतन्त्र बढ्दो अवस्थामा छ । बंगलादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.५ प्रतिशतभन्दा बढी नाघ्दैछ । बंगलादेशलाई सन् २०२१ भित्र २० हजार मेगावाटभन्दा बढी बिजुली आवश्यक छ । सन् २०४० मा विकसित राष्ट्र बन्ने हामीले घोषणा गरेका छौं । त्यति बेलासम्म ४० हजार मेगावाटभन्दा बढी आवश्यक पर्छ । हाल बंगलादेशले मिक्स इनर्जी प्रयोग गरिरहेको छ । हामीसँग नेचुरल ग्यास, फर्निस आयाल पनि छ । हामीले भारतबाट बिजुली आयातसमेत गरिरहेका छौं । भुटानमा समेत जलविद्युत्मा लगानी गर्न गइरहेका छौं । बंगलादेश, भारत र भुटानबीचमा सहकार्य गरी संयुक्त कम्पनीको काम पनि अघि बढेको छ । त्यस्तै, हामी नेपालसँग पनि सहकार्य गर्न सक्छौं । नेपालले बंगलादेशलाई समेत बिजुली निर्यात गर्न सक्छ । यसका लागि संयन्त्र बनाएर अघि बढ्न सकिन्छ । दुई देशबीचमा प्रत्यक्ष रूपमा कनेक्सनको अवस्था नभए पनि सम्भव छ । बंगलादेश र भारतबीच प्रसारण लाइन जोडिएको छ भने नेपाल र भारतबीच पनि जोडिएको छ । दुई देशबीचमा विद्युत् आदान–प्रदानका लागि छुट्टै लाइन बनाउन सकिन्छ । हुन त म प्राविधिक होइन, तर मलाई के लाग्छ भने यसका लागि राजनीतिक इच्छाशक्ति र कर्मचारीतन्त्रको भूमिका रहन्छ । भारतसँग सहकार्य गरेर जाने कुरामा बंगलादेश अगाडि बढेको छ । बंगलादेशका राजनीतिक दलहरूमा पनि आर्थिक रूपमा शक्तिशाली राष्ट्र बन्नुपर्छ भन्ने बुझाइ बढेको छ । आर्थिक रूपमा सम्बन्ध बलियो नबनाएमा देशको समृद्धि हुँदैन भन्ने बुझाइ हुनु सकारात्मक लक्षण हो ।

बंगलादेशले नेपालमा कुन आयोजनामा कसरी लगानी गर्दैछ ?
हामी नेपालले सम्भाव्यता अध्ययन गरिरहेका आयोजनामा लगानी गर्न खोजिरहेका छौं । बंगलादेशमा भने धेरै आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ । नेपालका सम्भाव्यता अध्ययन भइसकेका केही आयोजनाबारे छलफल गरिरहेका छौं । सुरुमा नेपालको जलविद्युत्मा बंगलादेश सरकारले नै लगानी गर्छ । भुटानमा पनि सरकारले गर्न लागेको हो । त्यसपछि निजी क्षेत्र पनि आउँछ । सरकारले लगानी गरेपछि निजी क्षेत्रलाई लगानी गर्न पनि सहज हुन्छ । बंगलादेशका निजी क्षेत्रलाई यहाँ लगानी गर्ने अवसर पनि छ । नेपालको ऊर्जाक्षेत्रका परियोजना अघि बढाउनका लागि केही समझदारी र सहकार्यका लागि गर्ने सम्झौता अहिले पेन्डिङ अवस्थामा छ, तर अन्तिम चरणमा पुगेको छ । नेपालमा नयाँ सरकार आएपछि यसलाई अन्तिम रूप दिएर बंगलादेशको मन्त्री आएपछि यसमा हस्ताक्षर हुन्छ भन्ने हामीले आशा गरेका छौं । पावर सेक्टर को–अपरेसनका लागि एउटा समझदारी हुन्छ । यो कुनै निश्चित परियोजनाका लागि नभई सबैका लागि हो । यसमा आयोजनाहरू निर्माणका साथै विज्ञहरू र वस्तुहरूको आदान–प्रदानबारे समेत उल्लेख हुन्छ । यसमा संयुक्त समूह पनि हुन्छ । बैठकहरू भएर आयोजनाहरूको छनोट हुन्छ । हामी नेपालले कुन–कुन जलविद्युत् आयोजना बनाउनका लागि प्रस्ताव गर्छ भन्ने प्रतीक्षामा पनि छौं । अहिले नेपालमा स्थानीय, प्रदेश र केन्द्रको चुनाव भएर देश स्थिरतातर्फ अघि बढेकाले ऊर्जामा लगानी गर्न सहज हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । नयाँ सरकारले यसलाई प्राथमिकतामा राख्छ भन्ने पनि विश्वास गरेका छौं । जहाँसम्म प्रसारणलाइनको कुरा छ । त्यसमा नेपालबाट विद्युत् निर्यात गर्नका लागि भारतले प्रसारणलाइनमा सहजीकरण गर्नुपर्छ । दुई देशबीच भएका विभिन्न भ्रमण र छलफलका क्रममा समेत भारत सकारात्मक देखिएको छ । त्यसैले नेपाल, भारत तथा बंगलादेशबीच ऊर्जाको क्षेत्रमा चाँडै सहकार्य हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

 

प्रतिक्रिया दिनुहोस्