मुख्य कृषिजन्य उत्पादन अलैँचीको निर्यात खस्किँदै

नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरुमा भने खस्कन थालेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३१.४६ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी निरन्तर ओरालो लागिरहेको छ । “कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यात घटिरहेको छ,” केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, “गत आर्थिक वर्षमा साढे ३१ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आवको पहिलो महिनामा पनि सुधार हुन सकेन । यो आवको पहिलो महिनामै निकासीमाा ३५.८९ प्रतिशतले ह्रास आएको छ ।” केन्द्रका अनुसार अघिल्लो साउनमा ३५ करोड ६५ लाख रुपैयाँको निकासी रहेकोमा चालू आवको साउनमा भने यो निकासी २२ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
परिमाणका हिसाबले अलैँची निकासी झनै घटेको देखिन्छ । अघिल्लो साउनमा ४ लाख ५३ हजार १५० केजी अलैँची निकासी भएकोमा चालू वर्षको साउनमा भने २ लाख ७७ हजार ८७० केजीमात्र निकासी भएको छ । नेपाली अलैँचीको मुख्य बजार भारत भए पनि भारत सरकारका विभिन्न प्रावधानका कारण अलैँचीको निकासी ओरालो लाग्दै गएको अलैँची उत्पादक संघका निवर्तमान अध्यक्ष राजकुमार कार्की बताउँछन् ।
अलैँची निकासी गर्दै आएका व्यवसायीहरुका अनुसार भारतले अलैँचीको भन्सार मूल्यांकन बजार मूल्यभन्दा बढी गर्ने भएकाले निकासीकर्ता निरुत्साहित छन् । नेपाली बजारमा अलैँचीको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ रहे पनि भारतीय भन्सारले ५ सय भारु अर्थात् ८ सय रुपैयाँ नेपाली कायम गरेपछि किसानहरू समस्यामा परेका हुन् । नेपालको बजार मूल्यभन्दा २ सय ५० रुपैयाँ बढी मूल्यांकन हुँदा नेपाली किसानहरूले बढी जीएसटी तिर्नुपरेको अलैँची उत्पादक संघका निवर्तमान अध्यक्ष कार्कीको भनाइ छ । उनका अनुसार नेपाली किसानहरूले जीएसटीबापत प्रतिकिलो १५ देखि २० रुपैयाँ बेहोर्नुपर्ने अवस्था आएको छ । भारतीय व्यापारीले अलैँचीबापत लाग्ने जीएसटी रकम नेपालीलाई तिर्न लगाएका छन् । कार्कीका अनुसार अलैँचीको भुक्तानी गर्दा भारतीय व्यापारीले जीएसटी कटाएर भुक्तानी गर्दा किसानहरू मर्कामा परेका हुन् ।
पश्चिम बंगालको सिलिगुडीबाट नेपालको अलैँची कोलकाता हुँदै अन्य मुलुकमा जाने गरेको छ । नेपालले भारतलाई निकासी गरे पनि भारतले त्यसमा मूल्य अभिवृद्धि गरी दशौं गुणा बढी फाइदा उठाइरहेको व्यवसायीहरु बताउँछन् । कुनै बेला किसानले प्रतिमन अर्थात् ४० केजीको १ लाख रुपैयाँमा बिक्री गरेको अलैँचीको मूल्य पछिल्लो समय भने निरन्तर ओरालो लागेको छ । ५ वर्षअघि प्रतिमन १ लाखका दरले बिक्री भएको अलैँची हाल २० हजार प्रतिमनमा आइपुगेको छ ।
विगतमा नेपालबाट उच्च निकासी हुने सूचीमा रहेको अलैँचीको खेती पनि बढ्दै गएको छ । पहाडी जिल्लाका ग्रामीण भेगहरूमा अलैँची खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । सेपिलो र पानीको स्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैँची खेती पर्दै आएको व्यवसायीहरू बताउँछन् । एक जिल्लामा सरदर ८ सय क्विन्टल अलैँची उत्पादन हुने अनुमान छ । छोटो समयमा खेर गइरहेको जग्गाबाटै अत्यधिक आम्दानी हुने अलैँची खेतीको विस्तार भइरहेको छ । पूर्वका पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, पाँचथर, सखुवासभासहित देशका ४० जिल्लामा अलैँची उत्पादन हुँदै आएको छ । पश्चिमको लमजुुङ पनि अलैँची खेतीका लागि निकै राम्रो मानिएको देखिन्छ । अलैँची साउनदेखि मंसिरसम्म उत्पादन भइसक्छ ।