डिप्रेसनको लक्षण, कारण र बच्ने उपाय «

डिप्रेसनको लक्षण, कारण र बच्ने उपाय

मन कमजोर हुने अवस्थालाई डिप्रेसन भनिन्छ । मानसिक रोगका दुई प्रकार कडा खालको मानसिक रोग र सामान्य खालको मानसिक रोगमध्ये डिप्रेसनलाई सामान्य खाले मानसिक रोगमा लिइन्छ । डिप्रेसनपश्चात् मानिसको अधिकांश समय मनमा खिन्नता हुने गर्छ । मानिसलाई यतिबेला उदास तथा दिक्क लागेको अनुभव हुन्छ । व्यक्तिमा निहित आत्मबल कमजोर हुनु, खुसीको अनुभव नै नहुनु नै डिप्रेसन हो । यो बढ्दै जाँदा मानिसको मनमा नकारात्मक सोचाइ क्रमश: बढ्दै जान्छ । मानसिक रोगहरूमध्ये धेरै व्यक्तिहरू डिप्रेसनको सिकार भएको पाइन्छ । डिप्रेसन जुनसुकै उमेरमा जोकसैमा पनि हुन सक्छ । यसलाई वर्तमान समयमा सामान्य रोगको उपनाम दिइएको छ । विश्व स्वास्थ्य संगठनअनुसार हाल विश्वमा लगभग २ सय ६४ मिलियन मानिसमा डिप्रेसन रोग छ भन्ने तथ्यांक सार्वजनिक गरेको छ । अर्थात् तथ्यांकअनुसार विश्वमा हरेक चार–पाँच जनाको बीचमा यो रोग पाइन्छ ।
डिप्रेसनबाट धेरैजसो विद्यार्थी सिकार भएको पाइन्छ । पढाइको चिन्ता, परिवारको चिन्ता, समाजको तनाव तथा आर्थिकको चिन्ता आदि कारक तŒवबाट विद्यार्थीहरू डिप्रेसनको सिकार भएको पाइएको छ । यदि सही रहनसहन तथा सोचाइ राख्न सकिएन भने यो रोगले मानिसलाई बाँच्न दिँदैन । बर्सेनि लाखौं मानिसले डिप्रेसनको कारणले आत्महत्या गरेको तथ्यांक छ । यो रोग सामान्य भनिए पनि यसको परिणाम घातक हुन सक्छ । मानसिक रोग आफंैमा डरलाग्दो रोग हो । यदि समयमा यसको रोकथाम गर्न सकिएन भने डिप्रेसनले मानिसको जीवन नष्ट गर्न सक्छ । डिप्रेसनका लक्षणहरू मनमा खल्लोपन, उदासीपन छाउनु, कुनै पनि काममा मन नलाग्नु, खुसी नलाग्नु, आत्मग्लानि हुनु, आफूलाई दोषी मान्नु, शरीरमा शक्ति नभएको महसुस हुनु, अल्छी लाग्नु, थकाइ लाग्नु, कमजोर हुनु, कुनै पनि काममा ध्यान दिन नसक्नु, भोक नलाग्नु र तौल घट्नु या अत्यधिक भोक लाग्नु र तौल घट्नु, निद्रा नपर्नु या निद्रा परे पनि गहिरो नपर्नु, आफूलाई नोक्सान गर्ने विचार आउनु, जीवनमा केही नभएको महसुस हुनु, आत्महत्याको इच्छामा वृद्धि हुनु इत्यादि हुन् । डिप्रेसनको सुरुवाती लक्षण भनेको पहिलेजस्तो खुसी नहुनु हो । विषयलाई सही रूपमा बुझ्न नसक्दा सामान्य खाले कुराप्रतिको असन्तुष्टिबाट बिस्तारै खुसी गुम्दै जाँदा मानिस कालान्तरमा डिप्रेसनको सिकार बन्न सक्छ । मानिसको सामान्य काममा बाधा आउनु नै डिप्रेसनको प्रमुख लक्षण हो । विद्यार्थी हो भने उसको पढाइमा ध्यान जाँदैन, काम गरिरहेको मान्छेको काममा ध्यान जाँदैन । यदि व्यक्तिको मस्तिस्कमा हर्मोनहरू जस्तै सेरोतिनिन, नोरपाइननेफ्रिन र डोपमिनको घटबढको कारणले डिप्रेसन हुन सक्छ । त्यसैगरी जीवनमा कुनै चिजमा असफल हुँदा पनि डिप्रेसन हुन सक्छ । साना–साना बेस्वादिलो कुरामा सोचाइ हुँदा पनि डिप्रेसन हुन सक्छ । परिवार, समाज, आर्थिक अवस्था, भौतिक अवस्था आदि तŒवबाट पनि डिप्रेसनको सिकार हुन सकिन्छ । आवश्यकभन्दा बढी चिन्ता र तनावबाट पनि डिप्रेसन उत्पन्न हुन सक्छ । अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ । दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ । लामो समयसम्म एउटै काम गरिरहनु हुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ । फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नु हुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ । निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ । मनोरोगलाई भयानक रूपमा लिनु हुँदैन । यदि मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
डिप्रेसनबाट बच्ने उपाय : हरेक दिन १५–२० मिनेट योगा गर्ने र योगाको समयमा सकारात्मक कुरा गर्ने । चिन्ता र तनाव कम लिने, नियमित रूपमा व्यायाम गर्ने, सन्तुलित भोजन सेवन गर्ने, सन्तुलित निद्रा लिने, मनोरञ्जन र प्रेरणा दिने खालको गीत सुन्ने र भावुक बनाउने गीत नसुन्ने, अल्कोहल र धूम्रपानबाट टाढै बस्ने, आफूलाई दोष दिन छोड्ने, सकारात्मक रहने र सकारात्मक सोच्ने, आफ्नो मिल्ने साथीसँग कुरा सेयर गर्ने, आफूलाई मन परेको सकारात्मक कार्य गर्ने र आफ्नो मस्तिष्कलाई कुनै सिर्जनात्मक कार्यमा लगाउने, डिप्रेसनमा गएको व्यक्तिलाई डिप्रेसनबाट बाहिर निकाल्न उसको परिवारको महत्वपूर्ण हात हुन्छ । त्यसकारण अभिभावक तथा परिवारका अन्य सदस्यले रोगीसँग राम्रो व्यवहार गर्ने । डिप्रेसन आफ्नो खुसीले चाहेर लागेको रोग होइन । त्यसकारण आफूलाई कमजोर सोच्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्