Logo

गाउँमै पुगेर योजना सम्झौता

चैत वैशाखमा योजना सम्झौता गर्ने र जेठ असारमा भ्याइनभ्याइ विकास निर्माणका काम गर्ने नेपालमा थिति नै बसेको छ । पहिलो र दोस्रो चौमासिकमा सिन्को नभाँचेर असारे विकासलाई बढवा दिन प्रदेशदेखि स्थानीय सरकार उद्दत देखिन्छन् ।
समयमै योजना सम्झौता, योजना सर्वे, पूर्वअनुमगन तथा मूल्यांकन त परै जावस् हचुवाका भरमा योजना निर्माण गर्ने प्रवृत्ति छ । जसका कारण पुँजीगत बजेट फ्रिज जाने, काम गरेर पनि भुक्तानी नपाउने, गुणस्तरीय विकास नहुने समस्या छ । तर यहाँको तातोपानी गाउँपालिकाले कर्णालीकै नमुना पालिकाका रूपमा पहिलो चौमासिकमै योजना, सर्वे अनुगमन, मूल्यांकन तथा सम्झौता गरी सक्ने लक्ष्यका साथ रफ्तारमा काम गरिरहेको छ । जसअन्तर्गत दुर्गम क्षेत्र तातोपानी–७ र ८ का बस्तीबस्तीमा योजना सम्झौताका लागि प्राविधिक टोली खटाइएको छ ।
तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापा भन्छन्, “उपभोक्ता पालिकामा आएर योजना सम्झौता गर्न लाग्ने खर्च पनि बच्ने, स्थानीयलाई राहत होस् भनेर भेरीखोला क्षेत्रका गाउँमै पुगेर योजना सम्झौता थालिएको हो । पालिकाका आठवटै वडाका सबै योजना सम्झौता असोजभित्रै सक्ने गरी काम भइरहेको छ ।”
शनिबारका दिनसमेत प्रमुख प्रशासकीय अधिकृतसहित प्राविधिक, योजना फाँटका कर्मचारी कार्यालयमा बसेर योजना सम्झौता काम गरिरहेका छन् । शनिबारसम्मको विवरणअनुसार २ नम्बर वडाका नौ योजना ३ नम्बर वडाका ११ योजना, ८ नम्बर वडाका १९ योजना र ७ नम्बर वडाका ९ योजना सम्झौता भइसकेका छन् ।
त्यस्तै, १ नम्बर वडाका नौ वटा योजना शनिबार नै सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले जानकारी दिए । उनका अनुसार बाँकी वडा नंं.४, ५ र ६ का योजनासमेत अबको तीन दिनमा सम्झौता सक्ने गरी काम भइरहेको छ । गाउँगाउँमा पुगेको प्राविधिक टोली र कार्यालयलमा हाकिमसहितका जनशक्तिले दिनरात शनिबारसम्म नभनी योजना सम्झौता गरिरहेका छन् । यद्यपि, सबै योजनाको सर्वे, मूल्यांकनसमेत भइसकेको छ ।
बजेट सूत्रमा इन्ट्री र निकासा लिने पनि तातोपानी पहिलो पालिका बनेको छ । गत आवमा म्याद थप भएका योजनाको एक करोडभन्दा बढी भुक्तानी दिइएको छ । दसैंलगत्तै दोस्रो चौमासिक काम धमाधम सञ्चालन गरिने छ । भदौ महिनामै तातोपानीका–८ वटै वडामा उपभोक्ता समिति गठन भइसकेका छन् ।

कार्यसम्पादन सम्झौता कार्यान्वयन
कार्यसम्पादन सम्झौताबमोजिम कर्मचारीहरूको सक्रियताले असारे विकास अन्त्य गर्ने ढिलोमा वैशाखमा भुक्तानी दिएर सकाउने लक्ष्यका साथ तातोपानीमा योजना, सर्वे, मूल्यांकन र सम्झौता धमाधम भइरहेको तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले बताए ।
उनले भने, “पहिलो चौमासिकमै सम्झौता सर्वे, मूल्याकंन सकिएपछि ढिलोमा चैतसम्म सबै योजना निर्माण हुनेछन् । गुणस्तर मापनका लागि पर्याप्त समय हुने र पुँजीगत खर्च पनि शतप्रतिशत हुनेछ भने समग्रमा असारे विकासको अन्त्य हुने आशा छ । त्यसका खटिने कर्मचारी, व्यवस्थापन र ऊर्जा थप्ने हाकिम धन्यवादका पात्र हुन् ।”
विकास निर्माण र सेवा प्रवाहमा जिल्लाकै नमुना पालिका बन्ने अठोटका साथ कर्मचारी र जनप्रतिनिधिको सहकार्यमा तातोपानीले पृथक काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्