अर्थतन्त्र उकास्न तेस्रो प्रादेशिक महोत्सव

जुम्लामा तेस्रो तेस्रो प्रादेशिक कृषि पर्यटन औद्योगिक तथा व्यापार महोत्सव सुरु भएको छ । कोरोना महामारीले थलिएको अर्थतन्त्र उकास्न उद्योग वाणिज्य संघको आयोजनामा यस वर्ष महोत्सव सञ्चालन भएको हो । महोत्सव नेपाली सेनाको टुँडिखेल मैदानमा पाँच दिनसम्म लाग्ने छ । महोत्सवमा किसान विष्णु धितालले अर्गानिक खिरदेखि कुन्जाङ लामाले राडी पाखीका उत्पादनलगायत ४० वटा अर्गानिक स्टल राखिएको छ । स्याउका विभिन्न परिकारसमेत राखिएको छ ।
महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले जुम्लाको आर्थिक समृद्धि, स्याउ, ओखरको बजार प्रवद्र्धन र जुम्लाको आर्थिक समृद्धिका लागि महोत्सव कोशेढुंगा सावित हुने बताए । उनले भने, “कर्णालीको कला, संस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बालीको बजारीकरण, पर्यटन तथा व्यापार प्रवद्र्धन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको आयोजना हँुदैछ । विगत दुई वर्ष कोरोना कहरले थलिएको अर्थतन्त्र चलायमान बनाउन पनि महोत्सवले टेवा पुर्याउने आशा छ ।”
३१ भदौदेखि पाँच दिनसम्म चल्ने तेस्रो जुम्ला व्यापार महोत्सव सञ्चालन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए । उनका अनुसार महोत्सवमा ४० वटा स्टल राखिएको छ । स्टलमा रैथाने अन्नबालीका परिकारलाई प्राथमिकता दिइएको छ ।
स्थानीयकला संस्कृति संरक्षण, कृषि वस्तुको बजारीकरण उत्पादन वृद्धि, जुम्लाको आर्थिक समृद्धि तथा पर्यटन प्रवद्र्धनका लागि महोत्सवले टेवा पुर्याउने उनको विश्वास छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जुम्ला पर्यटन, कृषिका हिसाबले सम्भावनायुक्त जिल्ला भए पनि लगानी पर्खिरहेको बताए ।
जुम्लाको सम्भावनालाई अवसरमा बदल्न निजी क्षेत्र र सरकारले लगानी भित्र्याउने वातावरण सृजना गर्नुपर्ने उनको भनाइ छ । जुम्लाको स्याउ, मार्सी चामल, चिनो, कागुनोलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने संयन्त्र तयार गर्न जुम्लाका निजी क्षेत्र, स्थानीय तह जुट्न जरुरी छ । महोत्सव यही ४ असोजसम्म लाग्ने छ ।