Logo

‘बीआरआईबाट ठूलो अपेक्षा नराख्नुस्’

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) बाट सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बीआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका हुन् । उनले बीआरआई परियोजनामा चीन आक्रामक योजना नभएर सामान्य मात्रै रहेको बताए । उनले चीनसँगको बीआरआई सहयोगको जति व्यापक चर्चा भए पनि बीआरआई आउँछ भन्ने आशा नभएको बताए । पूर्वअर्थमन्त्री पाण्डेले नेपाल चीनको मोनविज्ञान बुझेरमात्रै अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठीक गरेको बताए ।
पाण्डेले नेपालमा अमेरिकी सहयोग एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीनमात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताए । उनले भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रहरूको स्वार्थलाई बुझेर मात्रै वैदेशिक लगानीसम्बन्धी नीति बनाउनुपर्ने बताए । उनले विश्वका मुलुकहरू अन्य स्वार्थमा हिँडे पनि नेपालले आफ्नो स्वार्थका लागि सबैसँग वैदेशिक सहयोग लिन सक्नुपर्ने बताए ।
पाण्डेले नेपालले भारतसँगको व्यापार नीति परिर्वतन गर्न नसके कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताए । उनले देशको नेतृत्वले वास्तविक अन्तर्राष्ट्रिय कुटनीतिलाई बुझ्न नसके अब नेतृत्वमा आउने नयाँ नेतृत्वले समेत दु:ख पाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्