सुदूरपश्चिमको पहिलो पञ्चवर्षीय योजना सार्वजनिक «

सुदूरपश्चिमको पहिलो पञ्चवर्षीय योजना सार्वजनिक

सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म लागू हुने पञ्चवर्षीय योजना प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष त्रिलोचन भट्टले शुक्रबार सार्वजनिक गरेका हुन् । आयोगले सो योजना सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले पञ्चवर्षीय योजना निर्माण सम्पन्न अहिले भए पनि त्यसको अवधारणा पत्र, प्रदेशको योजना तर्जुमा दिग्दर्शन र मध्यकालीन खर्च संरचनाको आधारमा आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट निर्माण गरी प्रदेश सरकारले योजनाबद्ध रूपमा विकास निर्माणको काम गरिरहेको बताए ।
कृषिलाई मुख्य प्राथमिकतामा राखेर आर्थिक विकासका क्रियाकलाप सञ्चालन गर्ने गरी पञ्चवर्षीय योजना निर्माण गरिएको आयोगका उपाध्यक्ष मोहनदेव विष्टले बताए । उनले कृषिलाई आधुनिकीकरण गर्दै आत्मनिर्भरतातिर लैजाने, कृषि उपजसम्बन्धी उद्योगहरू सञ्चालन गर्ने र कृषि उपजको बजारीकरण गर्ने विषयमा पञ्चवर्षीय योजनाले मुख्य फोकस गरेको बताए ।
यसैगरी, पर्यटन पूर्वाधार निर्माण गर्दै पर्यटन विकास गर्ने, पूर्वाधार विकासका लागि योजना बैंक सञ्चालन गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास र गुणस्तर सुधार गर्ने योजना तयार गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, प्रदेशका सांसद्, राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि, जिल्लास्थित विषयगत कार्यालय, प्रदेश मातहतका कार्यालयको सिफारिस र सर्वेक्षणको आधारमा योजना बैंकमा योजना राखिने र डीपीआर तथा लागत इस्टिमेट भएका योजनालाई प्रदेश सरकारको वार्षिक विकास कार्यक्रममा लैजाने गरी पञ्चवर्षीय योजना बनाइएको उपाध्यक्ष विष्टले बताए ।
उनले प्रदेशमा औद्योगिकरण गर्नका लागि सार्वजनिक, निजी र सरकारी क्षेत्रको संयुक्त साझेदारी, एकल लगानी र आन्तरिक लगानी र बाह्य लगानी समेतलाई प्रवद्र्धन गर्ने गरी पञ्चवर्षीय योजना तयार गरिएको बताए । उनले औद्योगिकरणका लागि नेपाल सरकारको सहमतिमा विदेशी लगानीसमेत प्रदेशमा भित्र्याउन सक्ने गरी नीतिगत तथा कानुनी व्यवस्था गर्ने योजना बनेको बताए ।
उपाध्यक्ष विष्टले पञ्चवर्षीय योजनाको उद्देश्य पूरा गर्न १० खर्ब बजेट आवश्यक हुने बताए । उनले त्यसका लागि प्रदेशको बजेटले नभ्याउने भएकाले नेपाल सरकार, निजी क्षेत्र, बाह्य लगानी र विदेशी लगानीसमेत आह्वान गर्नुपर्ने देखिएको बताए ।
नीति तथा योजना आयोगले पहिलो पञ्चवर्षीय योजना प्रकाशनका लागि प्रेसमा पठाएको जनाएको छ । आयोगले कभर प्रकाशन भइसकेको र केही दिनमा प्रकाशित भएर आएपछि प्रदेशका सबै कार्यालय र स्थानीय तहमा पठाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्