बाढीपहिरोमा २३ को मृत्यु, दुईजना बेपत्ता

दुई दिनदेखि निरन्तरको वर्षाले आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा वितण्डा मच्चाएको छ । पहिरोमा परी अछाम जिल्लामा २२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । कैलालीमा आएको बाढीले एकजनाको ज्यान दिएको छ भने एक जना बेपत्ता भएका छन् ।
यसैगरी, कैलाली र कञ्चनपुरमा आएको बाढीले सयौं परिवार विस्थापित भएका छन् । शुक्रबार राति घनघोर वर्षा भएपछि प्रदेशमा यो वितण्डा निम्तिएको हो । शुक्रबार राति धनगढीमा १६४, दिपायलमा ७५.५ र डडेल्धुरामा ७५ मिलिटिर वर्षाको भएको थियो । सो वर्षाका कारण अछाम जिल्लाको ४ स्थानमा पहिरो गएर ठूलो संख्यामा जनधनको क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका वडा नं. ६ र ८, ढकारी गाउँपालिका वडा नं. ६ र तुर्माखाँद ५ मा पहिरो गएको प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले शनिबार विज्ञप्ति प्रकाशित गरी जनाएका छन् । अछाममा १ जना हराइरहेको जनाइएको छ ।
पहिरो गएको स्थानमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । पहिरोले घर भत्किएर, पुरिएर मानिसहरुको ज्यान भएको छ । पहिरोमा परी ११ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
यसैगरी, निरन्तरको वर्षाले कैलालीको दक्षिणपुर्वी क्षेत्र डुवानमा परेको छ । बाढीमा माछा मार्न गएकी धनगढी उपमहानगरपालिका वडा नं. १३ की २० वर्षीया युवतीको बगेर मृत्यु भएको छ भने भने भजनी नगरपालिका वडा नं. ८ का ५५ वर्षीय पुरुष बाढीमा बगेर बेपत्ता भएका छन् ।
जिल्ला प्रकाशन कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुरार कैलालीमा एक हजार तीन सय ३९ परिवार विस्थापित भएका छन् भने तीन हजार घर डुवानमा परेका छन् । भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कैलालीको मोहना, पथरैैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेको छ । कर्णाली नदीको बाढी पनि खतराको संकेत नाघेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीय उद्धार टोलीले डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा सारेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी, कञ्चनपुर जिल्लाको बेलौरी, पुनर्वास, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकामा नदीमा आएको बाढी गाउँ परेर सयौं परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।