Logo

बिमामा जागरुकता आउनै सकेन

बिमामा सबैभन्दा ठूलो समस्या भनेको जनचेतना हो । जनचेतना नभएका कारण बिमाप्रति विश्वास पनि बढ्न सकेको छैन । त्यसमाथि बिमासम्बन्धी दक्ष जनशक्तिको अभावका कारण पनि बिमा क्षेत्र विस्तार हुन सकेको छैन । बिमासम्बन्धी संस्थाहरू धेरै भए पनि दक्ष जनशक्ति अभावले बिमा बजारलाई राम्रो सम्भावना भएर पनि विस्तार गर्न सकिएको छैन । त्यसमाथि लघुबिमाको हाल उठेका प्रश्नलगायत बिमासम्बन्धी विभिन्न समसामयिक विषयमा बिमाविद्सँग कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :

बिमाको भविष्य एकदम उज्यालो छ
फत्तबहादुर केसी
पूर्वअध्यक्ष, बिमा समिति
हाल बिमाका समस्या धेरै छन् । जस्तै रेगुलेटरको बीमितमा समस्या, व्यापार सुदृढीकरणमा समस्या, बिमितहरूको समस्या, ननलाइफमा पनि सर्वेक्षणसम्बन्धी समस्या छन् । त्यसका साथसाथै पूर्णरूपमा हेर्ने हो भने बिमाको नीति र बिमालाई प्राथमिकतामा राख्ने मुद्दाहरूमा अझै पनि समस्या छ । केही समायोजन हुँदै गएका छन् । तैपनि त्यसमा समस्याहरू देखिन्छन् । बिमा एउटा महŒवपूर्ण क्षेत्र हो र यो अन्य आर्थिक क्षेत्रसँग अन्तरसम्बन्धित छ । बिमा भएन भने उद्योगधन्दा, कलकारखाना, व्यवसायलाई असर पर्छ । बिमा भएन भने बैंक तथा वित्तीय संस्थालाई पनि असर पार्छ । अन्तर्राष्ट्रिय व्यापार बजारलाई असर गर्छ । वैदेशिक लगानीलाई पनि असर पार्छ । त्यसका साथसाथै समग्र आर्थिक विकासमा पनि बिमाको महŒवपूर्ण भूमिका हुन्छ । बिमा एउटा स्वच्छ, शुद्ध, पारदर्शी र बढी व्यावहारिक भएन भने हरेक क्षेत्रले समस्या भोग्नुपर्ने हुन्छ । त्यसैले बिमालाई हामीले एउटा महŒवपूर्ण आर्थिक क्षेत्रको रूपमा सम्बोधन गर्नुपर्छ । सरकारले पनि प्राथमिकमा राख्नुपर्छ । रेगुलेटरले पनि ठीक ढंगले आफ्नो ऐनले तोकेका कार्य सम्पादन गर्ने र व्यवसायीहरू तथा बिमकहरूले पनि आफ्नो व्यवसाय प्रबन्ध ठीक ढंगले गर्ने र व्यावसायिक धर्म निर्वाह गर्ने गर्नुपर्छ । बीमितहरूले पनि बिमा दाबी गरेको पाइन्छ । भोलिको सुरक्षाको दृष्टिकोणले बिमा गरेका हुन्छन् । तर, भोलि दाबी भुक्तानी सही तरिकाले प्राप्त गर्न सक्ने वातावरण बन्नुपर्‍यो । एउटै मुद्दामा दाबी नपाउँदाखेरि आम जनमानिसमा बिमा गर्नभन्दा नगर्न जाती भन्ने सोचको विकास हुन जान्छ । त्यसबाट पनि जोगिनु आवश्यक छ ।
तसर्थ बिमाका समस्याहरू छन् । तर, ती सबै समस्या समाधान गरी त्यसलाई न्यूनीकरण गर्न सकिने खालका समस्याहरू छन् । त्यस्ता जटिल समस्याहरू छैनन्, तर सबै पक्षले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्ने हो भने अब एजेन्टले, त्यस्तै सर्भेयरहरूले व्यावसायिक नैतिकता कायम राख्न सके भने अनि बिमा कम्पनीहरूले पनि सुशासन राम्रोसँग कायम गरेर पादर्शितालाई मुख्य ध्यान दिएर र सामाजिक उत्तरदायित्व राम्रोसँग निर्वाह गरे भने, त्यस्तै नियमनकारी निकायले पनि ठीक ढंगले नीति कार्यान्वयन गर्ने, कम्पनीको सुरक्षा गर्ने र बिमा क्षेत्रको विकासका लागि त्यसको प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्ने गर्दा यो क्षेत्रको विस्तार सम्भव छ । यसतर्फ उचित तथा पर्याप्त ध्यान दियो भने र नेपाल सरकारले पनि बिमा एउटा महŒवपूर्ण आर्थिक क्षेत्र हो, यसलाई प्राथमिकतामा राख्नुपर्छ भनेर उन्नत तरिकाले विकास गर्ने सोच राख्यो भने बिमाको भविष्य एकदम उज्यालो छ । यसको विस्तार हुँदैछ, अरू–अरू बढ्छ भन्ने मलाई आस छ ।
लघुबिमाको वास्तविक मर्मलाई नमारी लक्षित वर्गलाई ध्यानमा राखेर निश्चित क्षेत्रलाई ध्यानमा राखी ल्याइने बिमा लेख हो । लघुबिमा न्यून आय भएका व्यक्तिहरू, पिछडिएको ठाउँमा बसोबास गर्ने व्यक्तिहरूलाई लक्षित गरेर ल्याइने बिमा लेख भएकाले यस सन्दर्भमा हालका बिमा कम्पनीहरूले पनि आफ्नो छुट्टै लघुबिमा हेर्ने संयन्त्र खडा गरेर सोही अनुसारका बिमालेख तयारी गर्ने र त्यो लेख बिक्री–वितरण गर्ने र बिमादाबी ठीक ढंगले समयमै पूरा गर्ने, दाबी भुक्तानी गर्ने अभ्यास गरेको भए नयाँ कम्पनी चाहिन्छ भन्ने थिएन । तर, हाम्रा अहिले चलिरहेका कम्पनीहरू लघुबिमामा जाने उत्सुकता देखिँदैन । त्यसका कारण त्यसमा खर्च धेरै लाग्छ, नाफा कम हुन्छ भन्ने सोचाइबाट ग्रसित भएको हुनाले हो । लघुबिमाले अहिले पनि नेपालमा खास गति ल्याएको छैन । त्यसैले ठूला बिमा कम्पनीहरूले त्यो नगरेको खण्डमा न्यून आय भएका वर्ग ध्यान दिएर नयाँ लघुबिमा कम्पनी सेवा प्रदान गर्न सक्छन्, तर यसमा ध्यान दिनुपर्ने कुरा के छ भने लघुबिमाको कार्यक्षेत्र र अन्य बिमाका कार्यक्षेत्र राम्रोसँग परिभाषित गर्नु आवश्यक छ । लघुबिमाले कुन कुन क्षेत्र समेट्ने, त्यसका लक्षित वर्ग को हुन्, त्यसका प्रिमियम निकायले बीमित, राज्य, स्थानीय सरकार अथवा अरू निकायले कसले त्यो हेर्ने हो आदि राम्रोसँग परिभाषित गर्न सक्यो भने लघुबिमा कम्पनीको औचित्य सावित हुन्छ । तर कतिवटा कम्पनी ठीक हो, त्यो भनेको छैन । तर, अहिले वर्तमानका बिमा कम्पनीहरूले लघुबिमा कम्पनीलाई खासै प्राथमिकतामा नराखेको हुनाले लघुबिमा भनेर आइसकेपछि त्यसले काम त गर्नुपर्‍यो । नामअनुसार काम गर्छ भने लघुबिमा कम्पनीको आवश्यकता छ । किनकि लघुबिमामा खास चारवटा विशेषता हुन्छन् : न्यून आय भएका वर्गलाई लक्षित गर्छ, बिमाको प्रस्ताव र बिमालेख सामान्य भाषामा लेखिएको हुन्छ, थोरै र सहज तरिकाले बुझ्न सकिने हुन्छ, छिटो दाबीको भुक्तनी हुन्छ तथा प्रिमियम दर पनि कम हुन्छ ।

बिमा कम्पनी डिजिटल बजारमा जान सकेका छैनन्
रवीन्द्र घिमिरे
अध्यक्ष
नेपाल पुनर्बिमा कम्पनी
बिमाको समस्यामा सबैभन्दा पहिला जनचेतनाको अभाव छ । मान्छेमा बिमा गर्नुपर्छ भन्ने चेतना छैन । दोस्रो भनेको दक्ष जनशक्तिको अभाव छ । बिमा कम्पनी बिमा समिति, पुनर्बिमा कम्पनी, स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षालगायतका जति पनि संस्थाहरू छन्, त्यहाँ बिमासम्बन्धी गहिरो ज्ञान भएका दक्ष जनशक्तिको अभाव छ । अहिले डिजिटलको जमाना छ । बिमा कम्पनी डिजिटल बजारमा जान सकेका छैनन् । दर ट्यारिफ भन्छन्, त्यसलाई पूर्ण रूपमा लागू गर्न सकेको छैन । बिमामा हुने नैतिक जोखिम कम गर्नका निम्ति अहिलेसम्म कुनै कानुन पनि छैन । त्यस्ता निकाय पनि छैनन् । बिमासम्बन्धी सूचना दिन गाह्रो छ । सूचनाहरूको अभाव छ । विवरण धेरै छ, व्याख्या गरेर सकिँदैन । त्यसैले मोटामोटी रूपमा हेर्दा यिनै समस्या देखिन्छन् ।
लघुबिमा आवश्यकता हो, किनभने नेपालमा करिब २५ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् । तिनीहरूका लागि बिमा अतिआवश्यक छ । त्यस्तो अवस्थामा लघुबिमाजस्तो कार्यक्रम लैजानुपर्छ भन्ने लाग्छ । बिमा समिति र लघुबिमा कम्पनीहरूलाई पनि भनिरहेका पनि छौं । २०७१ सालदेखि नै लघुबिमाको निर्देशिका जारी भएर पनि त्यसको कार्यान्वयनमा ध्यान जान सकेको छैन । बिमा कम्पनीको कुल बिमा व्यवसायको ५ प्रतिशतचाहिँ लघुबिमा हुनुपर्ने भनेको अवस्थामा त्यो पुग्न सकेको छैन । बजेट भाषणमा १० प्रतिशत बनाइसकियो । त्यो पनि पुग्न सकेको छैन । लघुबिमा आवश्यकता हो । लघुबिमालाई कार्यान्वयन गर्नका लागि लघुबिमा कम्पनी नै आवश्यक छ कि अथवा अहिलेकै कम्पनीबाट हुन्छ भन्ने बहसको विषय होला । तर, लघुबिमा आवश्यकता हो । जहाँ राम्रो हुन्छ त्यहाँ बदनाम गर्न नखोजेको होइन । क्याम्पस, विश्वविद्यालय, पत्रकारिता क्षेत्र, समाज सेवाका लागि खोलिएका संस्था जति पनि सामाजिक हितका लागि खोलिएका संस्थाहरू छन्, बदनाम गर्न खोजिएका छन् । सबै क्षेत्रमा राम्रा–नराम्रा सबै बदनाम छन् । त्यसैले बिमा क्षेत्रले पनि राम्रो काम पनि गरेको छ । राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई आलोचना गर्नुपर्छ । यी भनेको समाजमा भइरहने घटना पनि हुन् ।
बिमा कम्पनीहरूको कार्यशैली चित्त नबुझेको हुनसक्छ त्यो आफ्नो ठाउँमा छ, तर बिमा अत्यन्तै आवश्यक विषय हो । यसलाई खारेज गर्न पनि सकिँदैन । बिमाबिना जोखिम न्यूनीकरणको अन्य उपाय केही हुनै सक्दैन । बिमाबिना अहिलेका उद्योगधन्दा जति पनि व्यावसायिक विकास भएका छन् वा जुन अन्तर्राष्ट्रिय/राष्ट्रिय व्यापार भएको छ, बिमामार्फत जोखिम कम नगरी यिनको विकास तथा विस्तार हुँदैन । हरेक व्यक्तिलाई पाइला–पाइलामा आवश्यक पर्ने, सधैं आवश्यक पर्ने विषय हो बिमा । कुनै कम्पनीबाट ढिलासुस्ती भयो होला, तर त्यसका कारण पूरै बिमा पेसा नै बदनाम भन्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्