Logo

‘पाकिस्तान एन्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर २०२२’ सुुरु

पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी शनिबारदेखि राजधानीमा सुुरु भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तल्ला डिइसीसीमा शनिबार ‘पाकिस्तान एन्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर २०२२’ प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत सईद हैदर शाहले नेपाल र पाकिस्तानबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी हितमा हुने आर्थिक तथा व्यापारीकलगायतका गतिविधिमा संलग्नता बढाउन प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने बताए ।
प्रदर्शनी पाकिस्तान र नेपालको व्यापारिक सम्बन्धको उत्कृट नमुना भएको पनि उनले बताए । दुवै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुवै देशका उपभोक्ता लाभान्वित हुने उनले बताए ।
पाकिस्तान र नेपालको सम्बन्ध व्यावसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत शाहले प्रदर्शनीले दुवै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताए ।
आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि प्रदर्शनी फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए ।
पाकिस्तानमा निर्मित छालाका सामग्रीहरूले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उनले प्रदर्शनीमार्फत दुवै देशहरूको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षा उनले व्यक्त गरे ।
यस्तो प्रदर्शनीले दुवै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले विगत छ दशकयताको द्विपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हुने बताए ।
आगामी असोज ६ गते बिहीबारसम्म चल्ने पाकिस्तान र नेपालमैत्री व्यापार प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।
दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न प्रदर्शनीले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।
कार्यक्रमलाई भब्य बनाउन अर्गनाइजरका रूपमा इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालि, इन्डोर्स वाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, प्रोमोटेड वाई ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्स, सपोर्टेड वाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर, भेन्यू प्रोभाइडरमा डिइसीसी, डिजिटल पार्टनरमा एडीएसलगायतले कार्यक्रमको शोभा बढाउने छन् ।
काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । आगामी बिहीबारसम्म चल्ने प्रदर्शनीमा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहेको छ ।
व्यापार प्रबद्र्घनका लागि अतिथि राष्ट्रहरूमा भारत र बंगलादेशका स्टलहरू पनि छन् । यसपटक प्रदर्शनीको आकर्षणका रूपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरूका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बंगलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहेको आयोजक पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्