Logo

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर

लघुवित्त संस्थाहरु क्रमश: साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ । साथै, दुवै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ ।
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००:८७) कायम हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेशियो) कायम गर्नेसमेत सहमति भएको छ । मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष ७ अर्ब रुपैयाँभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले अख्तियार गरेको मर्जरसम्बन्धी नीतिको सम्मान गर्दै नेपालको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने बैकल्पिक एवम् सबल विशिष्टिकृत वित्तीय संस्थाको खाँचो पूरा गर्न र समाजका विपन्न तथा सिमान्तकृत वर्गमा सहज एवम् सरल वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारको एक सशक्त एवम् जिम्मेवार वित्तीय साझेदारको रुपमा स्थापित हुन यो मर्जर गरिएको हो ।
नेपाल सरकार, अर्थमन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोख्रेलको प्रमुख आतिथ्यमा ईन्द्रेणी होटेल, नयाँ बानेश्वरमा ३१ भदौ भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.का अध्यक्षसुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्