Logo

विराटनगरमा ‘सिएनआई एक्स्पो २०२३’ हुने

नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ। मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेसिनरीको प्रदर्शनी एवं बिक्री हुनेछ ।
प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने परिसंघले जनाएको छ ।
भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत मुलुकबाट प्रदर्शनीमा सहभागिता गराउने परिसंघको योजना छ। प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने परिसंघको विश्वास छ । प्रदर्शनीस्थलमा आधुनिक चार वटा डोम र तीन सय ५० स्टलहरु रहने छन् ।

प्रतिक्रिया दिनुहोस्