Logo

ब्यापारदेखि उत्पादनसम्म

नेपाल सरकारको सार्वनिक स्वामित्वमा २०२० साल २७ भदौमा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसन सफलताको ५९ औं वर्ष पूरा गरी ६० औं वर्ष प्रवेश गरेको छ । मुलुकभर अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन आपूर्तिलाई व्यवस्थित र नियमित गर्न तत्कालीन राजा महेन्द्रले सरकारी स्वामित्वको संस्था र नुन कारोबारमा लागेका मुख्य व्यापारीलाई समावेश गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड स्थापना गरेका थिए ।
कर्पोरेसनमा नेपाल सरकारको स्वामित्वको संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९.६७ प्रतिशत र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ११.५९ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ७८.७४ प्रतिशत नागरिकको सेयर छ ।
आफ्नो ६ दशक लामो यात्रामा विभिन्न चुनौती, उतारचढाव, आरोह–अवरोहको झेल्दै साल्ट ट्रेडिङले आफ्नो उद्देश्यअनुरूप उत्पादनमा गुणस्तरीयता, मूल्यमा एकरूपता र उपलब्धतामा सुनिश्चितताजस्ता मूल मन्त्र बनाएर सेवा दिइरहेको दाबी गर्छ । तत्कालीन समय नागरिकलाई सहज रूपमा नुन उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेसनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै नुनसँँँगसँँगै नेपालमै पहिलो पटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिल, वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेसनल फाइनाइन्स लिमिटेड (हाल सनराइज बैंक), सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्यास उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगसहित गहुँको बीउ उत्पादनदेखि सरकारी अनुदानको रासायनिक मल खरिद–बिक्री, सहुलियतमा चिनी, दाल, गेडागुडीलगायतको व्यापार गरिरहेको छ ।
वनस्पति घिउ, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखानालगायत केही उद्योग हाल बन्द अवस्थामा छन् भने संस्थाले मेट्रो ग्यास, उपहार हाउजिङ, हिमालय प्याकेजिङ, सहुलियत दरको चिनी, नुन, रासायनिक मल र खाद्यान्न व्यापार भने सफलताका साथ सञ्चालनमा छन् ।
हेटौंडास्थित खाद्य उद्योग लिमिटेडले २०३० सालदेखि मैदा उत्पादन गरिरहेको छ । व्यापारमा विविधीकरण र अन्य अत्यावश्यक वस्तुको समेत व्यापार बढाउने सोचसहित कर्पोरेसनले नेपालमै उत्पादित कृषिजन्य वस्तुमा आधारित उद्योग पनि स्थापना गर्ने नीति लिँदै आएको छ । सोहीअनुरूप पहिलो उद्योगको रूपमा खाद्य उद्योग लिमिटेड अर्थात् मैदा मिल स्थापना गरेको हो । यसबाट सयौं नेपालीले रोजगारी पाएका छन् भने उपभोक्ताले नेपाली उत्पादन चाख्न पाएका छन् । नेपाली भूमिमा उत्पादित गहुँलाई बजारीकरण गर्ने एवं त्यसलाई प्रशोधन गरी मैदा, आटा, सुजी र चोकर उत्पादन गरेर स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने यसको मुख्य उद्देश्य हो ।
कर्पोरेसनले नेपालको पहिलो वनस्पति घिउ उद्योगको रूपमा हेटौंडास्थित नेपाल वनस्पति घिउ उद्योग स्थापना गरी शान्ति र गृहिणी ब्रान्डमा घिउ उत्पादनमार्फत त्यतिबेला उपभोक्तालाई सेवा दिएको थियो । यद्यपि यो उद्योग अहिले बन्द अवस्थामा छ । अहिले पुन: यो उद्योगमार्फत तोरीको तेल उत्पादन गर्ने उद्देश्यले पुन: सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रबन्धक झाले बताए । दसैंअगाडि नै तेल उत्पादन हुने उनको भनाइ छ ।
सगरमाथा इन्स्योरेन्स पनि कर्पोरेसनमार्फत सञ्चालित ननलाइफ इस्योरेन्स कम्पनी हो । यसले हरेक वर्ष आफ्ना लगानीकर्तालाई लाभांश दिँदै आएको छ । कर्पोरेसनले उपभोक्तामाझ एसटीसी ब्रान्डको खाना पकाउने एलपी मेट्रो ग्यासमार्फत बजारमा राम्रो छाप छाड्न सफल भएको छ । यो ग्यास उद्योगमार्फत कम्पनीले मासिक २ लाख सिलिन्डर ग्यास उत्पादन गरी वार्षिक ६० करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको छ । खाना पकाउने ग्यासका उत्पादकहरूले हड्ताल गरेको बेला सरकारको निर्देशन एसटीसी ब्रान्डको खाना पकाउने ग्यास सुरु भएको हो ।
विभिन्न किसिमका खाद्य वस्तु बाह्य मुलुकबाट नेपाल भिœयाउँदा उतैबाट प्याकेजिङ गरेर ल्याउनेभन्दा नेपालभित्रै प्याकिङ गरी स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्देश्यले नुन, चिनी, गेडागुडी, दाल, मसला आदि खाद्यान्नको प्याकिङ गर्ने हिमालय प्याकेजिङले पनि अहिले राम्रो व्यवसाय गरिरहेको झाको भनाइ छ । कम्पनीले दैनिक अत्यावश्यक वस्तु दाल, चिनी, मसला, गेडागुडीलगायत कारोबार गरिरहेको छ ।
यसबाहेक साल्ट ट्रेडिङले सामाजिक उत्तरदायित्वका काम पनि गरेको झाको भनाइ छ । कम्पनीको रजत जयन्ती अवसरमा २०४५ सालमा हितकारी गुठीअन्तर्गत बाल हितकारी पुरस्कार स्थापना गरी नेपाली बालबालिकाको शैक्षिक, मनोवैज्ञानिक, बौद्धिक, शारीरिक र भौतिक अभिवृद्धि एवं नैतिक तथा चारित्रिक विकासमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष कर्पोरेसनको जन्म दिवस अवसरमा प्रदान गरिन्छ भने विश्व हिन्दू महासंघमार्फत हिन्दू धर्म, संस्कृति एवं संस्कृत वाङ्मयमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई २०५२ सालदेखि पाणिनी पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्