ताम्रपत्र अनावरण नै नगरी खुला «

ताम्रपत्र अनावरण नै नगरी खुला

कारोबार समाचार प्रभाव
अवैध होटलको उद्घाटन नगरी फर्के प्रधानमन्त्री
ताम्रपत्र अनावरण नै नगरी खुला

अन्ततः पोखरामा अवैध ढंगबाट हालै निर्माण भएको एक होटलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पूर्वघोषित कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । पोखरामा अवैध होटलको प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी भन्ने समाचार कारोबार राष्ट्रिय दैनिकले यही जेठ १७ गते प्रशासित गरेसँगै चौतर्फी विवाद उत्पन्न भएपछि अन्तिम समयमा आएर पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको हो ।
बिहान करिब १० बजे स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन गर्ने गरी विभन्नि अतिथि महानुभावहरूलाई निम्तो गरिए पनि प्रधानमन्त्री ओली उक्त होटलमा करिब दुई घण्टा समय बिताए पनि उद्घाटन सत्र समारोहमा भने सहभागी भएनन् । १० तले मापदण्डविपरीत निर्माण भएको उक्त होटलमा खानपिनपछि प्रधानमन्त्री ओली प्रथम राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) कार्यक्रमको उद्घाटन गरेपश्चात् पुनः उक्त होटलमा फर्किएका थिए । प्रधानमन्त्री ओलीले त्यस अवसरमा पनि होटलको उद्घाटन र होटलको अनावरण गर्नतर्फ लागेनन् स्काउटको पोसाक परिवर्तन गरी अर्को कार्यक्रममा सहभागी भएका थिए ।
व्यवसाय शुभारम्भ, प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट शनिबारका दिन होटल सरोवरको व्यवसाय शुभारम्भ सु–सम्पन्न भयो भनि लेखिएको ताम्रपत्र अनावरण नै नगरी हाल खुला गरिएको छ । प्रधानमन्त्रीले उक्त होटलको बिहान करिब १० बजे उद्घाटन गरी नेपाल स्काउटको कार्यक्रममा ११ बजे सहभागी हुने पूर्वघोषित कार्यक्रम भएपछि मापदण्डविपरीतको उक्त होटल उद्घाटन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा प्रधानमन्त्रीका अन्य दुई ठाउँका कार्यक्रमलाई असर परेको थियो ।
हतार–हतारमा स्काउटको कार्यक्रम उद्घाटन गरे लगत्तै स्काउटको ड्रेस परिवर्तन गरी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गर्न पोखरा सभागृहमा पुगेका हुन् । पोखरामा मापदण्ड विपरीतको होटल उद्घाटन गर्न प्रधानमन्त्री जस्तो व्यक्ति आउनु केही पोखरेलीले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
उक्त होटलको उद्घाटन हुने कार्यक्रम किन एकाएक स्थगित हुन पुग्यो भनी हामीले होटलका अध्यक्ष प्रा.डा.भरतराज पहारीलाई सोध्दा यस विषयमा भने बोल्न चाहेनन् । कार्यक्रम सञ्चालक सुशील पौडेलले प्रधानमन्त्री यस होटलको उद्घाटन गर्न आउँदै हुनुहुन्छ भन्दै बारम्बार उद्घाटन सत्रमा आमन्त्रित महानुभावलाई थमथमाउँदै करिब एक घण्टासम्म राखे पनि अन्ततः उहाँले केही समय ११ः२० बजे उद्घाटन हुन्छ भनी खाना खानका लागि अतिथिहरूलाई आग्रह गरेका थिए । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा उक्त होटलको उद्घाटन सत्रका लागि मञ्चमै गएर केही समय बसेका थिए । त्यसैगरी हलैभरि अतिथि महानुभावले खचाखच भएको हलमा पत्रकारलाई छुट्टाइएको स्थानमा पनि पत्रकारको भीड नै लागेको थियो ।
उक्त होटलको उद्घाटन हुने वा नहुने धेरैलाई दुविधा भएको थियो । उक्त कार्यक्रममा मन्त्री विश्वकर्मासहित गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावणमन्त्री विकास लम्साल, गण्डकी प्रदेशका सांसदहरू राजीव पहारी, रामजी बराल जीवन, बिन्दुकुमार थापा, पोखरा महानगरपालिका–६ का वडा अध्यक्ष जगत पहारी, मानव अधिकारकर्मी टेकनाथ बराललगायतको उपस्थिति थियो । पोखरा महानगरपालिका कार्यालयका जिम्मेवार पदमा रहेका व्यक्तिहरू भने उक्त कार्यक्रममा देखिएनन् ।
जनवरी १० तारिखदेखि सफ्ट ओपनी गरिएको उक्त होटलको जेठ १८ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने तयारी गरिएको थियो । पोखराको लेकसाइडमा भुइँ तलासहित १० तले उक्त होटलले पोखरा महानगरपालिकाबाट तीन तलाभन्दा माथिको तलाको मान्यता नै नलिइ सञ्चालन भएको अवस्थामा प्रधानमन्त्रीले नै उक्त होटल उद्घाटन गर्ने कुरा बाहिर आएपछि पोखरेलीहरूले यस विषयमा बहस सुरु गरेका थिए ।
उक्त होटलमा करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको अध्यक्ष पहारीले बताए । अत्याधुनिक प्रविधि तथा वातावरण मैत्री हुने गरी निर्माण भएको उक्त होटलको सेवा पाँचतारे होटल बराबरको भएको उनले जनाए । होटलमा हाल ९६ वटा रुमहरू रहेका छन् ।
पोखरा महानगरपालिकाका मेयर मानहादुर जिसीले प्रधानमन्त्री जस्तो व्यक्तिले स्थानीय तहसँग सहकार्य नगरी कुनै अवैधानिक रूपमा निर्माण भएको संरचनाको उद्घाटन गर्न नहुने बताएका थिए । यसैबीच, उपराष्ट्रपति नन्दबहादु पुन पासाङले गत माघ २ गते पोखराको बुद्धचोकमा मापदण्डविपरीत निर्माण भएको १० तले होटल टाक्स इन्टरनेसनलको उद्घाटन गरेर आलोचित भएका थिए । पोखरामा हालसम्म बैधानिक रूपमा तीन तले अर्थात ३५ मिटरसम्म उचाइका घर तथा होटल एवं भवनहरू निर्माणको अनुमति भए पनि मापदण्डविपरीत निर्माण भएको होटलमा उपराष्ट्रपति जस्तो व्यक्तिले उद्घाटन गर्नु निकै हास्यास्पद भएको पोखरेलीले चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्