Logo

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौंराष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक), पर्यटनमन्त्री तथा नेपाल
ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलगायतको सहभागीता रहेको थियो । सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको
निर्माण गरेको हो ।
करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदकोविजेता टिमका लागि ट्रफी बनाईएको हो । ट्रफिका डिजाइनर नेपाल ओलम्पिक
कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् । यस्तै ट्रफिलाई श्याम तुलाधारले बनाएका हुन् । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी
रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।
अब नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याइने छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५
सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको छ ।
कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला
भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य छन् ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरि ११ टिमले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्