Logo

काठमाडौं–तराई/मधेस द्रुतमार्ग अनिश्चित

प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस दु्रतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको दिएको एक सातापछि नेपाली सेनाले द्रुतमार्ग आयोजनाको खोकना–बुङ्मती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रीय तहबाट पहल गरिनुपर्ने बताएको छ ।
समितिको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन गरेको थियो । तर, शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन गरी काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका प्रमुख विकास पोखरेलले खोकना–बुङ्मती खण्डको स्थानीय विवादको निकासका सम्बन्धमा हालसम्म भएका विभिन्न प्रयासहरुका बाबजुद ठोस निकास ननिस्किएको भन्दै द्रुतमार्ग निर्माणमा बाधा भएको बताए ।
प्रक्रियागत जटिलता फुकाउन अन्तरमन्त्रालय सहजीकरणको आवश्यकता देखिएको भन्दै उनले यसबारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बसेर अर्को हप्ताबाट छलफल अघि बढाउने पनि जानकारी दिए । उनले चालू आर्थिक वर्षमा २०७९/०८० को माइलस्टोन तय गरिएअनुरुप आगामी फागुनसम्ममा खोकना विवाद समाधान गरी त्यस खण्डको अधिग्रहण हुन बाँकी ४०१ रोपनी जग्गा अधिग्रहण गर्ने लक्ष्य रहेको बताए ।
पोखरेलले फागुनसम्ममा जग्गा अधिग्रहणको समस्या समाधान नभए व्यवस्थापनमा बाधा पर्न गई निर्माण कार्य प्रभावित हुन जाने बताउँदै रुख कटान तथा जग्गा अधिग्रहण सम्बन्धी प्रक्रियागत जटिलता कायम हुनुले पनि निर्माण कार्यलाई प्रभावित बनाएको बताए । उनले आयोजनाको दु्रतमार्ग इलाकामा हालसम्म कुल छपान भएको ३८ हजार ६६४ वटा रुखमध्ये २७ हजार ३७० वटा रुखहरु कटान भएको जानकारी दिए । उनले छपानमा परेका तर कटान हुन बाँकी रहेका ११ हजार २९४ रुखलाई आवश्यकताअनुसार कटान गर्ने पनि बताए । कुल छपान भएका रुखको सन्दर्भमा ६ लाख ७५ हजार १७५ बिरुवा रोप्ने योजनामुताविक चरणवद्ध रुपमा वृक्षरोपण कार्य भइरहेको स्पष्ट पार्दै उनले गत आवसम्ममा विभिन्न प्रजातिका रुख एवं फलफूलका बिरुवा गरी ४ लाख २ हजार ८२३ बिरुवा विभिन्न स्थानमा रोप्ने कार्य सम्पन्न भएको जानकारी दिए ।
पोखरेलले द्रुतमार्ग आयोजनाको लागि पूर्व सूचनामुताविक हालसम्म ४०१ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको पनि उल्लेख गरे । आयोजनाको लागि चालू आवमा ३० अर्ब ७ करोड ८६ लाख बजेट विनियोजन भएको र १७.१७ प्रतिशत थप कार्य प्रगति हासिल हुने लक्ष्य रहेको बताउँदै उनले सो लक्ष्य प्राप्ति गरेको खण्डमा चालू आवको अन्त्यमा ३८.३५ प्रतिशत प्रगति हुने पनि जनाए ।
चालू आवमा विनियोजित बजेट ३० अर्ब ७ करोड ८६ लाखमध्ये पुँजीगततर्फ २९ अर्ब ९९ करोड ९७ लाख र चालूतर्फ ७ करोड ८९ लाख रहेको उल्लेख गर्दै चालू आवको भदौसम्मको वित्तीय प्रगति विवरणअनुसार कुल वित्तीय खर्च ७८ करोड २२ लाख २४ हजार १६६ रहेको उनले बताए । उनले खोकना जग्गा विवाद फागुनसम्ममा सक्ने, अन्य स्थानको थप जग्गा अधिग्रहण चैत र वृक्षरोपण कार्य असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए । आयोजनाको ११ वटा ठेक्का प्याकेजमध्ये हालसम्म सुरुङ खण्ड, सडक तथा पुल खण्ड गरी ५ वटा प्याकेजको ठेक्का सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको छ । पोखरेलले चालू आवमा बाँकी ६ वटा प्याकेजको समेत ठेक्का व्यवस्थापन गरी पारदर्शी एवं गुणस्तरीय ढंगले सम्पूर्ण कार्य एकसाथ सञ्चालन गर्ने र निर्धारित समयमा नै आयोजना सम्पन्न गर्ने कार्ययोजना रहेको दाबी गरे ।
द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर रहेको र ४ लेनको सडक, चौडाइ पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर, विशेष प्रकृतिको पुल १६ वटा, अन्य पुल ७१ वटा छन् । साथै, द्रुतमार्गमा ३ वटा टनेल र दुई ठाउँमा विश्रामस्थल छन् ।
गत आव २०७८/०७९ को लागि ८ अर्ब ९२ करोड ७९ लाख विनियोजन भई वार्षिक कार्यक्रम तय भएकोमा चालूतर्फ ८ करोड ७५ लाख र पुँजीगततर्फ ८ अर्ब ८४ करोड ४ लाख रहेको थियो । जसअनुरुप वार्षिक लक्ष्यको अनुपातमा भौतिक प्रगति ९९.८९ प्रतिशत र वित्तीय प्रगति ९९.६१ प्रतिशत रहेको सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार नेपाली सेनालाई हस्तान्तरण हुनुपूर्व आयोजनाको कुल खर्च ३ अर्ब ६७ करोड १३ लाख रहेअनुरुप एवं आयोजनाको गत आर्थिक वर्षसम्मको कुल वित्तीय खर्च ३४ अर्ब २९ करोड समेत गरी आयोजनामा हालसम्म कुल ३७ अर्ब ९६ करोड ९६ लाख रकम बजेट खर्च भएको छ ।
आव २०७३/०७४ बाट नेपाली सेनाको जिम्मेवारीअन्तर्गत काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्यसञ्चालन भइरहेको छ । २०७६ भदौ १ मा आयोजनाको डीपीआर स्वीकृत भई आयोजनाको निर्माण अवधि ४ वर्ष ६ महिना निर्धारण भएकोमा २०८१ मंसिरसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखी निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्