सहकारीको विश्वसनीयता गुम्दै

साधारणतया सहकारी भन्नाले सहकार्यका साथ अगाडि बढ्नाले कुनै पनि कार्य गर्न सम्भव छ भन्ने बुझाउँछ । विश्व इतिहासमा हेर्ने हो भने पनि १८ औं शताब्दीदेखि १९ औं शताब्दीको मध्यतिर बेलायतमा औद्योगिक क्रान्ति चल्दै गरेको अवस्था थियो । पश्चिमा देशहरूमा १८ औं शताब्दीको सुरुदेखि नै औद्योगिक क्रान्ति सुरु भइसके तापनि त्यो त्यति सफल हुन भने नसकिरहेको अवस्थामा बेलायतमा भने ढिला गरी १८ औं शताब्दीको मध्यतिर मात्र सुरु भएको क्रान्ति अन्तत: सफल हुन पुग्यो । यसको एउटै कारण थियो संगठित मजदुर, कृषि क्रान्तिसँगै बढेको सहकारिता, जसको कारण क्रान्ति सफल भएको मान्न सकिन्छ ।
बचत तथा ऋण सहकारीका पिताका रूपमा चिनिएका रेफेइसनले बचत तथा ऋण सहकारी संस्था स्थापना गरी ग्रामीण जनतालाई शोषणबाट मुक्त गराए थिए । सोही कारण आज पनि उनलाई विश्वभरका बचत तथा ऋण सहकारी संस्थाका पिता भनेर चिन्ने गरिन्छ । यस्तै विश्व इतिहास बोकेको सहकारी संस्थाको अनुसरण गर्दै नेपालमा थुप्रै दर्ता भएका छन् । नेपालमा वि.संं. २०१३ मा बखान सहकारी संस्था चितवनमा स्थापना भएसँगै सहकारी संस्था स्थापनाको श्रीगणेश भएको थियो । करिब ६६ वर्ष लामो इतिहास भोगेको सहकारी संस्थाले उतारचढाव भोग्दै यहाँसम्म आइपुग्दा नेपालमा सहकारी संस्थाको स्थापना लोभलाग्दो छ । फलस्वरूप चोकचोकका घरैपिच्छे सहकारी खुल्दै गइरहेका छन् । घरका तलैभरि सहकारी स्थापना भएका छन्, यो खुसीको कुरा हो । सहकारीको विस्तार सहरदेखि गाउँगाउँसम्म विभिन्न प्रारूपमा सञ्चालन हुने गरेका सहकारीका संख्या देशभरि झन्डै ३० हजारको हाराहारीमा रहेका छन् । तर, सहकारीको विस्तारसँगै विश्वसनीयतामा समेत प्रश्नचिह्न खडा हुँदै आइरहेको छ, जुन विश्वास सहकारीप्रति थियो, आज त्यो विश्वास गिर्दै गइरहेको स्पष्ट छ ।
हामीले आर्जन गरेको रकमबाट बाँकी रहेको पैसालाई बचत गर्ने उपर्युक्त माध्यम सहकारी बनेको थियो । त्यति मात्र होइन, थोरै–थोरै रकम जम्मा गरेर परेको बेलामा गर्जो टार्न सहजता मिल्ने हुन्थ्यो । आममानिसका लागि बचतमात्र होइन, सहकारीबाट ब्याज तिरेर ऋण लिन पनि पाइन्थ्यो । सहकारीको सहज, सुलभ तरिका अपनाइरहँदा केही सहकारी सञ्चालकको बदमासीले आज सिंगो सहकारीको विश्वसीनयतामा आँच आइरहेको छ । जसका कारण सर्वसाधारणले दु:खले आर्जेर जम्मा गरेको बचत नै सहकारीबाट फिर्ता नपाउने अवस्था आउँदा सहकारीको विश्वास गिर्दै गएको छ ।
काठमाडौंको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएको घटना सार्वजनिक भएपश्चात् सहकारीका खोल ओढी बसेकाको बदमासी एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । २५ हजार सदस्य रहेको गौतमश्री संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भई पछि सम्पर्कमा आएपश्चात् निक्षेपकर्ताको बचत फिर्ता गर्ने तर ब्याज नपाइने सर्तमा घटना बिस्तारै सेलाउँदै गएको थियो । गौतमश्री सहकारी मात्र होइन, त्यसअगाडि यस्ता घटना धेरै उजागर भइसकेका छन् । सिभिल सहकारीका तत्कालीन अध्यक्ष रहेका इच्छाराज तामाङले त निक्षेपकर्ताको रकम सहकारीबाट ३ अर्ब ३१ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा जेलजीवन बिताइरहेका छन् । सहकारी सञ्चालकका यस्ता गतिविधिले आज आममानिसमा सहकारीप्रतिको विश्वसनीयता गुम्दै गएको छ । जसका कारण सहकारीमा निक्षेप गर्नेभन्दा पनि निक्षेप रकम झिक्नेको संख्या बढ्दै गइरहेको छ ।
– विनोद पौडेल