Logo

स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ ।

डेंगु नियन्त्रणमा स्थानीय सरकारको भूमिका

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ । नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवम् स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्‍याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।
पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहँुच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चार पटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।
नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय स्वरूप, भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा नि:शुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु साथै कोभिडजस्ता महामारीको प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो । यसै सिलसिलामा यस लेखमा डेंगु महामारीका बारेमा संक्षेपमा चर्चा गर्नु सान्दर्भिक होला ।
मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको सम्बन्धित निकायले जनाएको छ । त्यसमा पनि ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेंगु संक्रमित पुष्टि भएको छ । गत पुसदेखि हालसम्म नेपालमा ५ हजार २९ जनालाई डेंगु संक्रमित पुष्टि भए पनि यो संख्या धेरै बढ्दो छ । ललिपुरमा १ हजार ८ सय ३२, काठमाडौँमा ८ सय ८८, भक्तपुरमा ९९ जना डेंगु संक्रमित पुष्टि भएको छ । तीव्र रूपमा यसरी डेंगुका बिरामी बढ्दै जाने हो भने यो रोगको महामारी हुन सक्ने भएकाले सम्बन्धित निकायले बेलैमा ख्याल राख्न आवश्यक छ । डेंगु लामुखट्टेको एक प्रजातिको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामुखट्टेका प्रजातिहरू बढ्दै गएको र मानिसको आवतजावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण हो । नेपालमा यो लामुखट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसका चार प्रजाति छन् । तीमध्ये डेंगु भाइरस–१ को संक्रमण धेरै छ । नेपालमा पहिलो पटक वि.सं. २००४ सालमा देखिएको थियो । २००६ मा नेपालमा संक्रमण फैलिएको पाइन्छ । सन् २०१९ मा अहिलेसम्मकै १४ हजार ६ सय ६२ संक्रमण देखियो । विश्वमा यो रोगबाट मृत्यु हुने सरदर वार्षिक १ प्रतिशतभन्दा कम छन् । काठमाडौँ उपत्यकामा डेंगु भेक्टर बढ्नका लागि सहयोग पुर्‍याउने फोहोरमैलाको अव्यवस्थापन, अव्यवस्थित बसोबास, वातावरण विनाश आदि हुन् ।
एडिस एजिप्टी नाम गरेको लामुखुट्टेको पोथी प्रजाति डेंगु सार्ने मुख्य माध्यम हो । दिनमा मानिसको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने हुन्छ । यस प्रजातिले टोकेपछि मानिसको रगतमा भाइरस जम्मा गर्छ र शरीरमा फैलिन्छ । साथै रगत चुसिसकेपछि सफा पानी तथा भाँडावर्तनमा अन्डा पार्छ । एक पटकमा यसले अनगिन्ती अन्डा पार्छ । यसका अन्डा निर्जलीकरण प्रतिरोधात्मक भएको यस प्रजातिको संख्या तीव्र गतिमा बढ्छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लाममुट्टेमा भाइरस प्रवेश गरी संक्रमण बढ्छ । मानिसमा एकपटक संक्रमण भएपछि सो प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ तसर्थ चार प्रजातिको भाइरसले एक व्यक्तिमा चार पटक संक्रमण गर्न सक्छ ।
डेंगु लागेको २ देखि ७ दिनमा यसको लक्षणहरू देखा पर्छ । उच्च ज्वरो प्रमुख लक्षण हो । टाउको दुख्ने, मांसपेशी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थि सुन्निने, पेट दुख्ने, गिजाबाट रगत आउने, छातीमा पानी जम्ने, छटपटी हुने आदि हुन्छ । रगत धेरै खेर गएमा कलेजो तथा अन्य अंगले काम नगरी हृदयाघात भई बिरामीको मृत्युसमेत हुन सक्छ । त्यसैले यस रोगको रोकथाम गर्नु अति आवश्यक छ । यसका लागि लामुखुट्टेको प्रजननमा रोकथाम तथा घरवरपर बसोबास हुन नदिनुपर्छ । यसका लागि फोहोरमैलाको आवश्यक व्यवस्थापन गरी वातावरण सफा राख्नुपर्छ । कीटनाशक प्रयोग गरेको झुल प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामुखट्टे बसोबास गर्ने स्थानमा कीटनाशक औषधि छर्कने, पानी जम्न नदिने, आफ्नो सुरक्षाका लागि रिपेलेन्टजस्तै लोसनहरूको प्रयोग गर्ने, यो रोग फैलाउने लामखुट्टेले दिउँसो धेरै टोक्ने भएकाले होसियार हुने आदि कार्य गर्नुुपर्छ । डेंगुका लक्षण देखा पर्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । साथै डेंगु प्रकोप नियन्त्रण गर्न स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारण तथा आम जनतालाई डेंगुबाट बचाउन अति आवश्यक छ ।
निष्कर्षमा डेंगुजस्ता विभिन्न महामारी तथा रोगको नियन्त्रणका लागि स्वास्थ्य संस्थामा नीति, विधान र मापदण्डअनुसार चल्नुपर्छ । आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनुपर्छ । स्वास्थ्य संस्था सेवाग्राहीको पहुँचमा हुनुपर्ने, औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनुपर्छ । आमनागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । नि:शुल्क औषधि बेलैमा उपलब्ध हुनुपर्ने, सो औषधि कति प्रकारको पाइन्छ, सबै नागरिकलाई थाहा हुनुपर्ने, कमसेकम आवश्यक मापदण्डअनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनुपर्छ । स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ । यसो भएमा मात्र हाम्रो देशमा स्वास्थ्य संस्थाले आमनागरिकको स्वास्थ्यमा गहन भूमिका खेली डेंगुजस्ता विभिन्न महामारीहरूको नियन्त्रण भई स्वास्थ्य सेवा गुणस्तर हुनेछ । यसका लागि स्थानीय सरकारको महŒवपूर्ण जिम्मेवारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्