बालविकासका लागि अभिभावक शिक्षामा जोड

जन्मेदेखि २ वर्षको अवधिमा बालबालिकाको ८० प्रतिशत बौद्धिक विकास हुन्छ । त्यो समयमा बालबालिकाको शारिरिक, मानसिक, भाषिक र सम्बेगात्मक विकास हुनु पर्छ,जसलाई प्रारम्भिक बाल विकास भनिन्छ । चेतनाको अभाव,शिक्षाको कमी,बालबच्चाको स्याहार सुसारभन्दा कामममा बढी ध्यानदिने बालीले नेपालका दुरदराज गाउँ ठाउँमा प्रारम्भिक बाल विकासको अवस्था दयनीय छ ।
भनिन्छ, “पहिलो शिक्षक बुबा आमा र पहिलो पाठशाला घर ।” तर, दूरदराजका नागरिकमा चेतना नभएर र सुगमका नागरिक शिक्षित भएर पनि बालबालिकाको प्रारम्भीक विकासमा ध्यान दिएको पाइँदैन् । अझ बालबालिको रेखदेखमा बुबाहरूको भूमिका न्यून देखिन्छ । भने, घरभन्दा मेलापातदेखि बालबच्चाको स्याहारसुसार गर्ने महिलाको ठेक्का जस्तै छ ।
प्रारम्भिक बालविकासका लागि सरकारले बर्सेनि अर्बौं बजेट खर्चिन्छ । त्यस्तै गैससहरूले पनि बाल संरक्षण, सिकाइ बृद्धि, बौद्धिक विकास भाषागत विकासका लागि मोटो रकम लगानी गरेको पाइन्छ । तर, स्थानीय सरकारले गैससका राम्रा कामको निरन्तरता नदिनु र अभिभावक शिक्षालाई जोड नदिँदा प्रारम्भिक बालविकासमा उल्लेखीय सुधार हुन सकेको छैन ।
गाउँका अधिकांश बुबा आमा २ वर्षसम्मका बच्चालाई घरमा छोडेर दिनभरि काम मात्रै गर्ने, बच्चालाई समय नदिने, रुनेबित्तिकै मोबाइल दिने, सधैं काम भनेर बच्चा संग समय नबिताउने समस्या छ । जसले गर्दा बालबालिकाहरूको सर्वांगिण विकासमा बाधा पुग्छ ।
त्यसैले जन्मेदेखि २ वर्षका बालबालिकाको प्रारम्भिक बाल विकासका लागि अभिभावकलाई बढी जिम्मेवार बनाउन आवश्यक छ । विशेष गरी आमा बुबा, घरका अन्य परिवारले गर्भावस्थादेखि २ वर्षका बालबालिकाको शारीरिक, मानसिक, भाषिक तथा संवेगात्मक विकासका लागि समय दिन जरुरी छ ।
प्लान ईन्टरनेश्नलका प्रारम्भीक बाल विकास विज्ञ कमला राई भन्छिन्, “सरकारले २०७७ देखि ०८८ सम्मको एक दशकलाई प्रारम्भिक बालविकास रणनीतिका रूपमा अघि बढाएको छ । उक्त रणनीतिअनुसार २ बाल्यवस्थामै चाहाना प्रस्फुटन, निर्णय र नेतृत्व र सिकाई वृद्धिका सबालमा बालबालिकालाई चनाखो बनाउन अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।”
उनका अनुसार प्लानको सहयोगमा सेडा नेपाल जुम्लाद्धारा संचालित ‘बालबालिकाको सपना परियोजना’ मार्फत जुम्ला र कालिकोटका ४ स्थानीय तहका २१ वडामा प्रारम्भिक बाल विकासका क्षेत्रमा काम गर्दै आएको छ ।
हालसम्म ४ स्थानीयतका २१ वडाका झन्डै ८ हजार बढी २ वर्ष सम्मका बालबालिकाका प्रारम्भीक बालविकासको पहुँचमा पुगेको समेत विज्ञ राईको भनाइ छ । प्लान नेपालका दिपा वली र सेडा नेपालका कार्यक्रम संयोजकले प्रेम सिंह ठकुरीले प्रारम्भीक बालविकासका लागि नमुना अभिभावकको कथा लेखन,चेतना विस्तार तथा छलफल पैरबीमा जोड दिनुपर्ने बताए ।
जुम्लामा विहिबार आयोजित प्रारम्भिक बालविकाससम्बन्धी सरोकारवालासँग छलफल कार्यक्रममा पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले दुर्गम गाउँका अभिभावकहरूलाई प्रारम्भिक बालविकासका बारेमा सिकाउनु पर्ने बताइन् ।
उनले भनिन्, “जन्मेदेखि २ वर्षसम्मको महत्वपूर्ण अवधिलाई अभिभावकले गम्भीर रूपमा बुझ्न र बुझाउन जरुरी छ । बच्चाभन्दा कामधन्दामा बढी ध्यान दिने ग्रामिण समुदायमा चेतना विस्तार जोड दिनुपर्छ ।”