Logo

सहारा खेलकुद पत्रकारिता पुरस्कार शाहीलाई

यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीले प्राप्त गरेका छन् । सहारा क्लब पोखराले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार शाहीलाई सम्मानपत्रको साथमा दोसल्ला ओढाइ नगद २० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरी पुरस्कृत गरिएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार शाहीलाई सम्मान गर्दै पोखराको खेलकुद क्षेत्रमा सहाराले पुर्‍याएको योगदानको प्रशंसा गर्दै पोखरामा खेल पर्यटनको प्रवल सम्भावना भएको बताए । उनले गण्डकी प्रदेशको राजधानि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न महानगरले आवश्यक सहयोग र समन्वय गर्ने बताए ।
उक्त पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको थियो । काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् । जनसम्मत डटकमका सम्पादक पत्रकार शाही एभरेष्ट मिडिया हाउसमा समेत कार्यरत छन् । अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।
यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबि आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार सम्मानित भई सकेका छन् ।
क्लब अध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति, नेपाल खेलकुद पत्रकार मञ्च अध्यक्ष देवेन्द्र सुवेदी, गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले खेलकुदको बारेमा चर्चा गरे ।
सहारा क्लब पोखराले दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । उक्त एकेडेमीमा हाल १६ जना बालकहरू रहेको महासचिब रामजीप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्