Logo

कन्तुर हटाउँदै क्युआर कोड

बाराका ठुला सहर, बजार, राजमार्गसँगै ग्रामीण बजारमा समेत क्युआर कोडबाट कारोबार बढेसँगै कन्तुरको प्रयोग हट्दै गएको छ ।
रकम सुरक्षित हुने र उधारो माग्ने बहानाबाजीबाट बच्न ग्रामीण क्षेत्रका पसल मात्र नभई खुला बिक्रेताले समेत क्युआर कोड प्रयोग थालेपछि परम्परागत प्रयोग हँुदै आएको कन्तुरको प्रयोग घट्दै गएको हो ।
बैंक वित्तीय संस्थाको ग्रामीण बजारमा उपस्थिति बढेसँगै क्युआर प्रयोग गर्ने बढेसँगै तत्काल बिक्री भएको सामान बाट आएको नगद राखन पसलेले प्रयोग गर्ने कन्तुरको उपयोग घट्न पुगेको छ ।
पिलुबाका किराना पसल सञ्चालक विष्णु अधिकारीले २०, ५०, १०० सम्मका खुद्रा समानको नगर्दै कारोबार भए पनि बाँकी क्युआर कोडबाटै कारोबार हुने बताए । उनले नगद छैन, बैंक खातामा छ, पछि दिउला भनेर उधारोमा सामान लानेहरूबाट दिक्क बनेको स्मरण गर्दै क्युआर कोडले नगद व्यापार बढाएकोमा खुसी व्यक्त गरे । दैनिक ५ हजार रुपैयाँ बढीको कारोबार यही क्युआर कोडमार्फत भइरहेको अधिकारीले बताए ।
डिजिटल रूपमा हुने यस्ता कारोबारले पछिल्लो समय सर्वसाधारणमा नगदको माग समेत घटाइरहेकाले कन्तुरको आबश्यकतामा कमी आएको हो । शहरमा तालाचाबी सहितको र गाउँमा काठका बलिया ठूला कन्तुरहरू अहिले बिरलै देखिन्छ ।
मोबाइलबाटै पैसा तिरेर सामान किन्न सकिने र पैसा बोक्नुपर्ने झन्झट हटेको बताउँदै सिमरा २ का कृष्ण सिग्देलले कन्तुरभन्दा सुरक्षित स्मार्ट प्रयोग हरेक पसलमा हुँदा उपभोक्तालाई सहज वातावरण बन्दै गएको बताए ।
सहरी क्षेत्रका हेटल, ग्यारेज, खुला पसल, तरकारी, मासु, खेलौना, किराना पसलदेखि मार्टसम्म ’क्युआर कोड’ बाट किनमेल गर्न सकिने अवस्था बनेको छ । मोबाइल सिम प्रयोगमा भएकाले पनि डिजिटल भुक्तानीका यस्ता माध्यम निकै सहजताका साथ उपभोक्ताले अपनाइरहेका छन ्।
नेपालमा फोन–पे पेमेन्ट सर्भिस लिमिटेड, स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाल क्लियरिङ हाउसमार्फत विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूले क्युआर कोडको सुविधा दिइरहेका छन् ।
इन्टरनेट तथा डेटाको शुल्क सस्तो हुँदै जाँदा क्युआर कोडको सहज प्रयोगमा ब्यापकता हुने देखिए पनि एसएमएस ढिलो आउने लगायतका समस्या रहेको प्रयोगकर्ताहरूको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्