फेसबुक न्युजफिडको प्राथमिकतामा स्थानीय समाचार

फेसबुकले आफ्नो न्युजफिडमा स्थानीय समाचारलाई प्राथमिकता दिने भएको छ । हाल उपभोेक्ताले फेसबुक खोलेपछि देखिने न्युजफिडमा विश्वभरका समाचार छरिएर आउने गरेकोमा अब भने पहिले स्थानीय समाचारहरु देखिनेछन् भने विस्तारै टाढा टाढाका समाचार आउनेछन् ।
विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले हालै सम्पन्न कार्यक्रमका बीच यस्तो घोषणा गरेको हो । उपभोक्तालाई खुशी पार्ने अभियानअन्तर्गत नयाँ संरचनामा न्युजफिडको सेटिङ गर्न थालिएको कम्पनीका संस्थापक संस्थापक मार्क जुकेबर्गले बताएका छन् । “तपार्इं बस्ने गाउँ सहरका समाचारहरू समाचार स्रोतबाट बढी भन्दा बढी प्रस्तुत गर्न सुरू गरिरहेका छौं,” प्रमुख कार्यकारी समेत रहेका जुकेबर्गको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्, “न्युज फिडमा तपार्इंले स्थानीय प्रकाशक र स्थानीय समाचारलाई फलो गर्नुहुन्छ हुन्छ भने पहिले स्थानीयले नै प्राथमिकता पाउनेछ ।” यो अभियानले स्थानीय उपभोक्तालाई न्युज फिडमा प्रोत्साहन मिल्ने उनको बुझाइ छ ।
न्युजफिड भनेको फेसबुक खोल्दा अगाडि देखिने र नियमित अपडेट भइरहने होम हो । न्युजफिडमा स्टाटस अपडेटहरु, फोटोहरु, भिडियोहरु, समाचार वा अन्य वेबलिंकहरु, विभिन्न एप्लिकेसनका सूचना तथा विज्ञापनहरु, आफूले लाइक गरेका पेजका गतिविधिहरु, विभिन्न ग्रुपका गतिविधिहरु आदि देखिन्छ । फेसबुकमा अरु कुनै सेटिङमा गइएको छ भने पुनः होमपेजमा फर्कंदा देखिने सबै कुरा न्युजफिडकै अंग हुन् । फेसबुकले ‘न्युज फिड’ सेटिङमा गर्दै गरेको तेस्रो परिवर्तन हो । न्युजफिडमा स्थानीय समाचारलाई प्राथमिकता दिनु भनेको नेपालमा रहेर नेपालका समाचार साइटहरुको र अन्तर्राष्ट्रिय समाचारहरुको पेज पनि तपाईंले लाइक गर्नु भएको छ भने तपाईंको फिडमा सबैभन्दा माथी नेपाली साइटहरु नै देखिने छन् ।
फेसबुकमाथि गलत समाचारलाई प्रोत्साहन गरेको आरोप विगत केही वर्षदेखि लाग्दै आएको छ । जुकेबर्गले सन् २०१८ मा यस्ता समस्याहरूलाई हटाउन यस्तो अभियानको थालनी गरिएको दाबी गरेका छन् । यो महिनाको सुरूमा कम्पनीले सत्य नभएका समाचारलाई प्राथमिकता नदिने जनाएको थियो । यसबाट मानव रूचीका समाचारहरू उपभोक्तासमक्ष पुग्न सक्ने कम्पनीको विश्वास छ । यसको सुरूवात अमेरिकाका ६ सहरबाट उपलब्ध हुन सुरू भइसकेको सो कार्यक्रममा जानकारी दिइएको छ । गत साता गुगलले पनि स्थानीय समाचारलाई प्राथमिकता दिन एक प्लेटफर्मको परीक्षण सुरू गरेको छ ।