स्वरोजगार व्यापार श्रमिक संघद्वारा महानगरलाई ज्ञापनपत्र

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरे पनि मेयर साहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर साह आफ्नो अभियानमा भएको र फुटपाथ व्यवसायीको मागलाई जस्ताको त्यस्तै मेयर साहलाई बुझाउने बताए । अधिकारीले व्यवसायीको जवाफ आफूले दिन नसक्ने पनि बताए ।
त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीका उपाध्यक्ष सनत ढकालले महानगरपालिकाले फुटपाथ व्यापारीलाई गरेको अमानवीय व्यवहारको भत्र्सना गर्ने बताए । उनले सडकमा व्यापार व्यवसाय गरेर आफैं स्वरोजगार भएका नागरिकलाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाए । उनले स्थानीय सरकार सबै जनताको अभिभावक भए पनि सरकार लुटेरा जस्तो भएको भन्दै व्यवसायीसँग सहकार्य गरेर काम गरे सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दा समेत मेयर साहले समय नदिएको बताइन् । उनले फुटपाथ व्यवसायीको रोजीरोटी खोसिएपछि न्यायाका लागि कहाँ जाने भन्दै प्रश्न गरिन् । उनले व्यवसायीलाई सडक पेटीमा व्यवसाय गर्ने ठाउँ नभएको थाहा भएको तर २४ घण्टामा २ घण्टा गरिखाने वातावरण मिलाउन माग गरेको बताइन् । अध्यक्ष गुरुङले मेयर साहले १०औं हजार नागरिकले सडकमा रोइरहेको आवाज सुन्नुपर्ने बताइन् ।
त्यस्तै, फुटपाथ व्यापारी रमा महतले १४ वर्षदेखि सुन्धाराको फुटपाथमा व्यापार गर्दै आए पनि अहिले महानगरले हटाएकाले दिनको तीन घण्टा व्यापार गर्न पाउनुपर्ने माग राख्न आन्दोलनमा आएको बताइन् । निम्न आयस्रोत भएकाले गरिखान पाउनुपर्ने व्यवसायीको माग छ । उनीहरूले मेयर साहविरुद्ध भन्दा पनि फुटपाथ व्यवसाय गर्नका लागि विकल्प दिनुपर्ने माग रहेको बताएका छन् ।