Logo

महाकाली चार लेन पुलको काम ८१% सम्पन्न

सुदूरपश्चिम प्रदेशको गौरवको रूपमा रहेको महाकाली चार लेन पुलको काम ८१ प्रतिशत सम्पन्न भएको छ ।
महाकाली नगरपालिकाको सडक संजालसँग जोडिने यो पुल बहुअपेक्षित पुलको रूपमा लिइएको छ । ठेकेदारसँंग २०७८ जेठमा सम्पन्न गर्नुपर्ने सम्झौता भए तापनि कोरोना महामारीका कारण ढिलाइ हुँदा सरकारले डेढ वर्ष ठेक्काको म्याद थपेको थियो । कोरोनाको त्रास कम भएपछि तीव्ररूपमा सुचारु भएको कामले अहिले पूर्णता पाएको छ । पुलमा हुने सबै ३४ पिल्लर र ३२ स्ल्याब निर्माण भइसकेको योजनाका प्रमुख इन्जिनियर किशोर पाण्डेयले जानकारी दिए ।
गतवर्ष महाकालीमा आएको बाढीका कारण निर्माणाधीन पुलका कतिपय संरचना बगाएको र पुलतर्फ जाने रोडसमेत भत्काएकाले सरकारले ठेकेदारसंँग पछिल्लो सम्झौता लागत तीन अर्ब २७ करोड ९३ लाख २४ हजारबाट बढाएर तीन अर्ब ६६ करोडमा पुर्‍याएको छ ।
पुलको अरु संरचनामा पोखरी निर्माणकार्य मात्र बाँकी रहेको छ । पोखरी निर्माणकार्य प्रक्रियामा रहेकाले छिट्टै सम्पन्न गरी आगामी कात्तिकसम्म पूर्णरूपमा सम्पन्न हुने इन्जिनियर पाण्डेयले बताए ।
पुल निर्माणकार्य अन्तिम चरणमा पुगे पनि पुलको निर्माणको डिजाइन बीचमा बदल्नु परेका कारण नक्सा भेरिएसन भने अझै नभएको पाण्डेयले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ मा शिलान्यास गरेको पुल निर्माण कुमार सीएसईसी जेभी निर्माण कम्पनीले गर्दै आइरहेको छ ।
पुल सम्पन्न भएपछि नेपाल सरकारले निर्माण गर्न लागेको दोधरा–चाँदनी सुक्खा बन्दरगाह सञ्चालनमा सहजता आउने देखिन्छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको महाकाली पुल ।

प्रतिक्रिया दिनुहोस्