Logo

चार लेन सडक स्तरोन्नति गर्न शिलान्यास

नेपालगन्ज–गुलरिया चार लेन हुलाकी सडक स्तरोन्नति प्रक्रिया अगाडि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । कुल ३५ किलोमिटर लम्बाइ रहेको उक्त सडक स्तरोन्नति गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार शिलान्यास गरेका हुन् । सडक शिलान्यास कार्यक्रममा मन्त्री राईले शिलान्यास भएको नेपालगन्ज–गुलरिया चार लेन सडकको दुई महिनाभित्र निर्माण कार्य सुरु हुने दाबी गरे ।
उनले जमुनाह नाकालाई हिल्सासम्म जोड्ने, नेपालगन्जलाई कन्चनपुरसम्म जोड्ने र नेपालगन्जलाई निर्वाचन क्षेत्र नम्बर १ हुँदै दाङसम्म जोड्ने सडक निर्माण ठेक्का सुरु हुने तयारीमा रहेको बताए ।
सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताउँदै मन्त्री राईले यो आयोजनामा बस्ती भएका ठाउँमा झिलिमिली पार्ने योजना पनि रहेको जानकारी दिए । कार्यक्रममा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम पूर्वसिँचाइमन्त्री सञ्जय गौतमले केही योजना समयमा सम्पन्न नभएर अलपत्र परेको बताउँदै त्यस्ता योजना सञ्चालनमा ध्यान दिनुपर्ने बताए ।
१५आंै पञ्चवर्षीय योजनाको लक्ष्य परिपूर्तिका लागि उक्त सडक स्तरोन्नति गर्ने कार्य भइरहेको सडक विभागले जनाएको छ । उक्त सडकको ठेक्का प्रकृया सुरु भइसकेकाले तीन वर्षभित्र निर्माण सम्पन्न हुने सडक विभागका महानिर्देशक अजुर्नजंग थापाले जानकारी दिए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, बर्दियाका प्रदेश सांसद भुवनेश्वर चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्