Logo

एकअर्कामाथि खनिए ओली र प्रचण्ड

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्काको तीव्र आलोचना गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित फरक–फरक कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वयले एकअर्काको उछितो काढे र अनेक आरोप पनि लगाए । ओलीले प्रचण्डलाई आफूमाथि छुरा रोपेको आरोप लगाए भने प्रचण्डले ओलीलाई भ्रष्टाचारमा चुर्लुम्म डुबेको आक्षेप लगाए ।
बिहीबार माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए । उनले भने, “मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो बामपन्थी आन्दोनल बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अंगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन । प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिकलि सचेत थिएँ । नभन्दै मैले अंगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।”

ओलीले थपे, “म एकता, एकीकरण भन्ने अनि प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने ।” आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।
उता प्रचण्डले पनि ओलीलाई छोडेनन् । ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप प्रचण्डले लगाए ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाए । उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताए ।
उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताए । अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए । उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरुले गर्ने गरेको बताए । उनले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गरे ।
अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए । उनले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिएपनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे ।
अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गरे । उनले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताए । अध्यक्ष दाहालले नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताए ।
फरक प्रसंगमा उनले निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिए । मुलुकमा संरचनागत सुधार गरेर आर्थिक विकासमा ध्यान दिनुपर्ने उनले बताए । अध्यक्ष दाहालले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । संरचनामा देखिएका विकृति र विसंगतिलाई सुधार गर्नका लागि आफू लागिपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्