अबैध मोबाइल नचल्ने, एमडीएमएस लागू

चार वर्षको प्रयासपछि सरकारले बिहीबारदेखि अवैध रुपमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । बिहीबारदेखि नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस सुरु गरेको हो ।
नेपालमा चोरीपैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयमा ल्याएको हो । यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन् । यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वत: चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ को शुभारम्भ गर्दै मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ यो सिस्टम सञ्चालनमा ल्याइएको उल्लेख गरे । यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत पनि उनले गराए ।
उक्त अवसरमा मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताए । मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको भन्दै तत्काल खोल्नुपर्ने माग गरेका हुन् । उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको भन्दै नेपालमा ५० प्रतिशतभन्दा बढी मोबाइल फोन चोरीपैठारीबाट भित्रिने गरेको बताए ।
उनले धेरै लामो समयको प्रयासपछि मोबाइल सेटमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सुरु भएकाले अबदेखि अवैध रुपमा भित्र्याएका मोबाइल फोन बन्द हुने बताए । मलहोत्राले सरकारले मोबाइल फोनको आयात बन्द गर्दा अवैध आयात बढेको भन्दै नेपालमा वार्षिक ५५ अर्बभन्दा बढीको आयात हुने भए पनि यो वर्ष २७ अर्बको मात्र फोन आयात हुने जानकारी दिए ।
उनले वैधानिक रुपमा मोबाइल आयात बन्द गर्दा अवैध रुपमा नेपालमा २८ अर्बको मोबाइल आयात हुने दाबी गरे । “यसबाट सरकारलाई ७ अर्ब रुपैयाँ बराबरको राजस्व गुम्ने छ,” उनले भने । उनले नेपालमा ७० प्रतिशत वैधानिक रुपमा र ३० प्रतिशत अवैध रुपमा मोबाइल फोन आयात हुने गरेको जानकारी पनि दिए ।
मलहोत्राले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा समेत व्यवसायीहरुको कुरा नसुनेको गुनासो गर्दै अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरुमा एमडीएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरुले एक दिन दीपावली मनाउने घोषणा पनि गरे ।