जुम्लीलाई अझै नुनकै पिरलो, ढुवानी नहुँदा सधैं हाहाकार

राजनीतिक अस्थिरता र मूल्यवृद्धिको प्रभावले जुम्लामा नुनको चरम अभाव देखिएको छ । गत भदौ २६ गते साल्ट टे«डिङ उपशाखा, जुम्लामा नुन लिनेको बाक्लो भीड थियो । नुनका लागि एकै दिन झन्डै १ हजारभन्दा बढी नागरिक लाइनमा बसेको त्यो भीडले डेढ दशक पहिलाको जुम्लाको परिस्थितिलाई झल्काएको थियो । जति बेला जुम्लामा एक पोका नुन र एक किलो चामलका लागि नेताको पाउ मोल्नुपर्ने, प्रहरीको लाठी खानु, सहनुपर्ने र हप्ता दिनसम्म लाइन बस्नुपर्ने बाध्यता थियो ।
डेढ दशकपहिले कर्णालीको खाद्यान्न र नुनमा समेत चरम राजनीति हुन्थ्यो । अझ नुन र चामलका लागिसमेत अनिवार्य पार्टीकै कार्यकर्ता बन्नुपथ्र्यो । कर्णाली राजमार्गको स्तरवृद्धियता कर्णालीमा नुन–चामलको राजनीति अन्त्यसँगै नागरिकले सुविधा महसुस गरेको केही वर्ष नबित्दै फेरि कर्णालीको दुर्गम जिल्ला जुम्लामा नुनको पिरलो हुन थालेको छ ।
भदौ २६ गते नुनका लागि निकै तँछाडमछाडसम्म भयो । तर कति नागरिक त नुन नपाएर रित्तै फर्किए । जुम्लावासीलाई अहिले नुन पाउनुभन्दा सुन पाउनु सहजजस्तै छ । पातारासी–६ का तारा बोहोरा भन्छन्, “भदौ २६ गते दिनभरि एक पोका नुनका लागि युद्ध लड्नुपर्यो । तर साँझ रित्तै फर्कियौं । बजारमा २५ देखि ३० रुपैयाँमा प्रतिप्याकेट नुन पाइन्थ्यो । अहिले त्यो पनि पाइँदैन । यता कार्यालयले नुन छैन भन्दै फर्काउने गरेको छ । महान् चाड दसैंतिहार नजिकिँदै गर्दा जुम्लामा नुनको चरम अभाव भएको छ ।”
जिसस उपप्रमुख जनक थकाली भन्छन्, “संघीयतापछि पनि जुम्लाले नुनकै अभाव खेप्नुपर्ने अवस्थालाई राज्यले नजरअन्दाज गरेको छ । नेपालको संविधानले हरेक नागरिकलाई गाँस, बास र कपासको ग्यारेन्टी गरेर घरघरमा सिंहदबार आए पनि जुम्लीलाई अझै नुनकै पिरलो छ ।”
जुम्लामा नुन वितरण हुन छोडेको एक हप्ताभन्दा बढी भयो । तर नागरिक दिनहुँ नुन ल्याउन गए पनि नागरिक रित्तै फर्किने गरेका छन् ।
ढुवानी नहुँदा नुनको अभाव
गत आव २०७८/०७९ मा जुम्लाका लागि स्वीकृत वार्षिक कोटा ३ हजार क्विन्टल थियो । सबै ढुवानी भएर बिक्रीसमेत भयो । साल्ट टे«डिङ उपशाखा, जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले भने, “जुम्लामा नुन अभाव भएपछि गत आवमै थप ३५ सय क्विन्टल कोटा माग गरिएकोमा २३ सय कोटा स्वीकृत भएको थियो । सरकारले इन्धनको मूल्य वृद्धि गर्यो । तर, ढुवानी दररेटमा वृद्धि नगर्दा स्वीकृत भएको थप २३ सय क्विन्टल कोटा नुन ढुवानी नहुँदा जुम्लामा नुनको अभाव भएको हो ।”
ठेकेदारले घाटा खाएर नुनको ढुवानी गर्ने स्थिति नभएपछि जुम्लामा नुन अभाव भएको हो । हाल साल्ट ट्रेडिङ उपशाखा, जुम्लामा १५ देखि २० क्विन्टल मात्रै नुन विपद्का लागि मौज्दात छ । नराकोट, धाँपा डिपो र बिक्री केन्द्र गोरुचौर डिपोमा समेत नुन अभाव छ ।
चालू आवका लागि २५ सय क्विन्टल कोटा स्वीकृत भई पहिलो चरणमा ३ सय ४० क्विन्टल नुन कामना ढुवानी सेवाले जुम्लामा ल्याउन थालेको छ । चालू आवको ३ सय ४० क्विन्टल नुन जुम्ला नपुगेसम्म नुन वितरण गर्ने अवस्था समेत छैन । नराकोटमा ७ सय क्विन्टल, गोरुचौर कनकासुन्दरीमा १ हजार क्विन्टल नुन आउने भएको छ ।
भीडले नुनको माग बढेको देखाए पनि बढी लिएर स्टक गर्ने प्रवृत्ति छ । भदौ २६ गते झन्डै १२ सय जनाको उपस्थिति थियो । सबैलाई ५ प्याकेटका दरले नुन बाँडिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी जुम्लामा नुन ल्याउनका लागि पहल भइरहेको र दसैंमा नुन चामल अभाव नहुने बताउँछन् ।

फोटो क्याप्सन :
भदौ २६ गते साल्ट टे«डिङ जुम्लामा नुन लिनेको भीड । तस्बिर : कारोबार