खाद्य संस्थानको चामल गोदाममै कुहियो «

खाद्य संस्थानको चामल गोदाममै कुहियो

उपभोक्ताले उपयोग नगर्दा नेपाल खाद्य संस्थान शाखा कार्यालय खोटाङको १० क्विन्टल चामल सडेको छ ।
आव ०७२-७३ मा ल्याइएको जिरा मसिना चामल संस्थानको गोदाममै सडेको हो । बजारमा आउने चामलभन्दा महंगो मूल्य परेका कारण १० क्विन्टल चामल गोदाममै सडेको संस्थानका प्रमुख सुनिलकुमार शाहले बताए ।
दिक्तेल–रुपाकोट(मझुवागढी नगरपालिका–१ दिक्तेलको हाँटडाँडास्थित संस्थानको गोदाममा रहेको सो चामल घुन, किरा, चिल्सा परेर सडेको हो । उपयोग गर्न नमिल्ने गरी सडेको चामल डिस्पोजको प्रक्रिया थालिएको संस्थानले जनाएको छ । आव ०७२-७३ मा प्रतिकेजी ६० रुपैयाँ पर्ने जिरा मसिना चामलको मूल्य हाल प्रतिकेजी ५० रुपैयाँमा झरेको छ । “संस्थानमा ल्याइएको मध्ये खपत हुन बाँकी १० क्विन्टल चामल सडेको अवस्थामा छ,” कार्यालय प्रमुख शाहले भने, “असारपछि डिस्पोजको प्रक्रिया अघि बढाउँछौँ ।” प्रयोग गर्नै नमिल्ने अवस्थामा पुगेका कतिपय चामल स्थानीयले पशु तथा चौपायलाई खुवाउने गरेका छन् ।
बजारको भन्दा महंगो पर्नु, गोदाम व्यवस्थापन चुस्त नहुनु, भण्डारस्थल चिसो हुनुलगायतका कारण संस्थानको चामल सडेको हो । पछिल्लो समय गाउँ–गाउँमा सडकको पहुँच विस्तार, संस्थानको चामल पुरानो हुँदै गए पनि मूल्य संशोधन नहुँदा चामल सड्ने अवस्थामा पुगेको शाहले बताए ।
ल्याइएका कतिपय चामल लामो समयसम्म गोदाममै थन्किने अवस्था देखिएपछि खाद्य संस्थानले सहुलियत दरमा सहकारी संस्थामार्फत बिक्रीको तयारी थालेको छ । उपभोक्तालाई घरदैलोमै चामल उपलब्ध गराउने लक्ष्यका साथ संस्थानले सहकारीलाई ६ देखि ७ प्रतिशत कमिसन दिएर चामल बिक्रीको तयारी थालेको जनाएको छ । हाल संस्थानबाट जापानिज चामल बिक्री भइरहेको छ । १६५ क्विन्टल जापानिज चामल ल्याइएकामा हालसम्म १५-१६ क्विन्टलमात्र खपत भएको छ । बाँकी चामल सहकारीसँग सहकार्य गरेर बिक्री गर्न लागिएको छ ।

कार्यालय हटाउने तयारी
खाद्य संस्थानको हलेसी डिपो कार्यालय हटाउने तयारी थालिएको छ । करिब १० वर्ष अघिदेखि चामल बिक्री वितरण रोकिएको हलेसी डिपोलाई हटाउने तयारी थालिएको संस्थानका प्रमुख शाहले बताए । वर्षाको भलबाढी पसी ११ क्विन्टल चामल भिजेर कुहिएपछि त्यस यता हलेसी डिपोमा चामल पठाइएको छैन । “हलेसी डिपोमा हाल स्टाफ पनि छैनन्, चामल पनि पठाएको छैन,” शाहले भने, “चामल बिक्री वितरण नभएपछि डिपो नै हटाउने तयारी भइरहेको छ ।” जिल्लामा हाल ऐसेलुखर्क, बाक्सिला र खोटाङबजार डिपो कार्यालय सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्