मोरङमा ३६ घरपरिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बुधबार मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिका–६ का २७ भूमिहीन सकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गरेकी हुन् ।
मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँब्लक, पुन:नापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँब्लकमा लालपुर्जा वितरण गरिसक्ने गरी काम तीव्र पारिएको भन्दै २ वर्षभीत्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिवद्धता पूरा गरिछाड्ने बताइन् ।
मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने पनि बताइन् ।
मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा गरिब पहिचान गर्ने र पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्यसुविधा परिचयपत्र दिने र राज्यसुविधा परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिव तथा विपन्न लक्षित सेवा सुविधासँग आवद्ध गर्ने काम अगाडि बढाइएको बताइन् ।
भएका स्रोत र साधनको समुचित प्रयोग गरी कृषि योग्य भूमिको उत्पादन र उत्पादकत्व बढाई सहकारीमार्फत प्रतिस्थापन गर्ने र संभव भएसम्म निर्यातलाई प्रवद्र्धन गरेर देशमा रोजगारी सिर्जना गरेर गरिवी निवारण गर्ने गरी योजनाबद्ध रूपमा काम गरिरहेको पनि उनले बताइन् ।