नेपालगन्ज लागूऔषधको उच्च जोखिममा

नेपालगन्ज लागूऔषधको उच्च जोखिममा
नाबालकदेखि ५० वर्ष माथिका वृद्धसम्मले लागूऔषध सेवन गर्ने गरेको तथ्यांक सार्वजनिक
नेपालगन्ज उपमहानगरपालिका लागूऔषधको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । उपमहानगरभित्र बसोबास गर्ने १२ वर्षमुनिका नाबालकदेखि ५० वर्षमाथिका वृद्धसम्मले लागूऔषध सेवन गर्ने गरेको तथ्यांक सार्वजनिक भएको हो । सार्वजनिक तथ्यांकले नेपालगन्ज लागूऔषधको उच्च जोखिममा देखाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा लागूऔषध दुव्र्यसनविरुद्ध काम गर्ने संघसंस्थाले वैशाख २० गतेदेखि जेठ १० गतेसम्म गरेको सर्भेक्षणको तथ्यांक शुक्रबार सार्वजनिक गरिएको छ । उपमहानगरपालिकाभित्र लागूऔषध प्रयोगकर्ताको वर्तमान अवस्था एकीन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनोट गरी सर्भेक्षण गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा लागूऔषधविरुद्ध नेपालगन्जमा क्रियाशील विभिन्न ७ वटा संघ÷संस्थाको सहजीकरणमा गरिएको सर्भेक्षणअनुसार नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्र १ हजार १ सय ९७ जना दुव्र्यसनी रहेको अनुमान छ । जसमा महिला ३४ र पुरुष १ हजार १ सय ३३ जना छन् । यीमध्ये उमेर समूहमा १२ वर्षमुनिका ६४ जना, १६ देखि ३९ वर्षसम्मको एक हजार ३० जना र ५० वर्षदेखि माथिको उमेरका १ सय ३० जना रहेको सर्भेक्षणमा सहभागी रवीन्द्रसिंह राठौरले जानकारी दिए ।
तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५ जना, सुँघेर ६३ जना र सुईको माध्यमबाट लागूऔषध प्रयोग गर्ने ९ जना छन् । तथ्यांकअनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समूहका एक हजार तीनजना, १२ वर्षमुनिका ६४ जना र ५० देखि ६१ वर्ष उमेर समूहका १३० जना छन् ।
लागूऔषध प्रयोगकर्तालाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार लिएको प्रारम्भिक सर्भेक्षणले जनाएको छ । जुन कुल संख्याको २० प्रतिशतमात्रै हो । सर्भेक्षणले नगर क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको संख्या भयावह देखिएको सहारा हाउस नेपालगन्जका सञ्चालक अभिराज क्षेत्रीले बताए । तथ्यांक तलमाथि हुने सम्भावना रहे पनि यसले लागूऔषधविरुद्धमा काम गर्न आधार तयार हुने उनको भनाइ छ ।
लागूऔषध दुव्र्यसनीले ब्राउनसुगर, ट्याबलेट, इन्जेक्सबाट लागूऔषध सेवन गर्ने गरेको पाइएको छ । खुला सिमानाका कारण लागूऔषध दुव्र्यसनीको जोखिम बढेको लागूऔषध व्युरो प्रमुख वीरबहादुर थापाले बताए । उनका अनुसार बाँकेमा चालू आवको १० महिनामा प्रतिमहिना औसतमा ३० जनाका दरले लागूऔषध ओसारपसार तथा दुव्र्यसनीमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको छ ।
ब्युरोले यस अवधिमा २९७ जना पक्राउ गरेको छ भने १९२ वटा मुद्दा दर्ता गरेको छ । त्यस्तै १८ वर्षमुनिका ९.७३ प्रतिशत, १८–२५ वर्षका ५८.४, २५–३५ वर्षका २२.१२, ३५–४५ वर्षका ५.३० र ४५ वर्षमाथिका ४.४२ प्रतिशत व्यक्ति लागूऔषध कारोबारमा संलग्न छन् ।