नेपालमा लगानी गर्न आग्रह

नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीलाई ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्ने प्रकृया अगाडि बढेको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीलाई आग्रहसमेत गरेको छ । उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको ठूलो महत्व रहेको बताए । अर्थमन्त्री शर्माले कोरियामा रहेका गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरे ।
“मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव छ । अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईंहरूले सहजीकरण गर्नुपर्यो,” उनले भने ।
द्रूत आर्थिक विकास र सम्मृद्धिका लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउदै उनले कोरियामा रहेका नेपालीलाई मुलुकमा वैदेशिक लगानी र नयाँनयाँ प्रविधि भित्र्याउनसमेत आग्रह गरे ।
कोरियामा ग्लोबल आइएमई बैंकले शाखा स्थापनाको प्रकृया अगाडि बढाएकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनका लागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रकृया सुरु गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे । “म यहाँका गैरआवासीय नेपाली साथी तथा गैरआवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाई हामी हातेमालो गरेर अगाडि बढाँै । तपाई हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको समृद्धि सम्भव छ । नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईंहरूले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाईहरूको लगानीको सुरक्षा गर्न हामी तयार छौँ,” उनले भने ।
“म निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्ष, नेपालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष तथा नेपालको एउटा व्यावसायिक समूह, आइएमई समूहको अध्यक्षको हैसियतले यहाँहरूलाई निर्धक्कसँग नेपालमा लगानी भित्र्याउन र भित्र्याउने वातावरण निर्माण गर्न अनुरोधसमेत गर्न चाहन्छु ।”
आइएमई समूहले गैरआवासीय नेपालीसँगको सहकार्यमा लम्जुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अरु धेरै परियोजना पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैरआवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनामा काम गर्न सकिने बताए । उनले ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनका लागि स्वीकृति पर्खिरहेको बताए ।
“दक्षिण कोरियामा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक शैद्धान्तिक स्वीकृति लिइसकेका छौं । स्थानीय कानुनी परामर्शदाताको माध्यमबाट दक्षिण कोरियाको नियामक निकायमा बैंकको शाखा स्थापनाका लागि औपचारिकरूपमा अनुरोध गरेका छौं । अबको केही समयभित्र बैंकको शाखामार्फत सम्पूर्ण बैंकिङ सेवा सञ्चालन हुनेछ,” उनले भने ।
दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरू नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानीका लागि तयार रहेको बताए ।
कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर, वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल तथा गैरआवासीय संघका प्रतिनिधिले कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खोल्दा वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सहज हुने बताए ।