Logo

पर्यटन प्रवद्र्धनमा रेसुंगा नगरपालिका

गुल्मीको रेसुंगा नगरपालिकाले पर्यटन प्रवद्र्धनमार्फत समुन्नतिको यात्रालाई जोड दिएको छ । नगरपालिकाले पर्यटनपरिषद् बोर्ड लुम्बिनी प्रदेश र क्रियाशील पत्रकारसँग अन्तरक्रिया गरि पर्यटन प्रवद्र्धनमा मार्फत समुन्नतिको यात्रालाई जोड दिएको हो ।
पर्यटनपरिषद् बोर्ड लुम्बिनी प्रदेशको समूह र बुटवल तथा गुल्मीका क्रियाशील पत्रकारसँग अन्तरक्रिया गर्दै रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पर्यटन मार्फत समुन्नतिको यात्रामा लागेको बताए । ‘सिंगो गुल्मीको समुन्नतिका लागि कृषिसँगै पर्यटनलाई बिशेष प्राथमिकता दिएर अगाडि बढेका छौं ।’
नेपाली कांग्रेस गुल्मीका सभापतिसमेत रहेका नगरप्रमुख पन्थीले भने, “सिंगो जिल्लालाई समुन्नतिको यात्रामा दौडाउन पर्यटन प्रवर्द्धनलाई ध्यान दिएका छौं । “पन्थीले पवित्र तपोभूमि रेसुंगा स्वर्गको एक टुक्राका रूपमा अनुभुती गर्दै यसको प्रयोगबाट आफूहरू अगाडि बढ्ने बताए । उनले पर्यटनपरिषद् बोर्ड र बुटवलमा क्रियाशील पत्रकारलाई सोमबार रेसुंगाको अवलोकन गराएका थिए ।
गुल्मीको विकासका लागि पहिलो पर्यटकीय आधार रेसुंगा नै भएको नगरपालिका प्रमुख पन्थीको भनाइ थियो । गुल्मीले रेसुंगा तपोभूमि पाएकोमा यसको प्रचारप्रसारले आफूहरू अगाडि बढ्ने उनले बताए । मिडियामार्फत रेसुंगाको प्रचार गर्न उनले उपस्थित पत्रकारलाई आग्रह गरे । पन्थीले रेसुंगा, रूरूधाम, बिचित्र गुफा, कंके देउराली, सालिमे दह र टिमुरे ताललगायतका पर्यटकीय गन्तव्यलाई व्यापक प्रचार गर्नुपर्ने बताए । रेसुंगा विमानस्थल छिट्टै सञ्चालनमा ल्याएर पर्यटन क्षेत्रमा विकास गर्ने पनि उनको भनाइ थियो ।
रेसुंगाको पर्यटन प्रवद्र्धन विषयमा भएको संक्षिप्त कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले जिल्लाका सबै स्थानीय तहसँगको समन्वयमा पर्यटकीय क्षेत्रको विकास गर्नेतर्फ आफूहरू लाग्ने बताए । आकर्षित पर्यटकीय गन्तव्य बनाएर आफूहरू अगाडि बढ्ने खत्रीको भनाइ छ ।
पर्यटन प्रवद्र्धन गर्नका लागि होटल पौवाका संचालक धुर्व न्यौपानेले गुल्मीमा साहित्यकार सम्मेलन, लेखकहरूको सम्मेलन, धार्मिक सम्मेलन र अन्य राष्ट्रब्यापी कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरेले स्थानीय तहले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने तर्फ जाने, पर्यटन क्षेत्रको विकासका लागि मिडियाले लेखेको कुराहरू ध्यान दिनुपर्ने, सबैलाई चाँसो ब्यक्त गर्नुपर्ने, दुर्लभ चराहरूलाई देखाएर पर्यटक तान्न सकिने, ऐतिहासिक ठाउँको प्रचारप्रसार गर्नुपर्ने र प्रत्येक स्थानीय तहले कम्तीमा एक/एक वटा पर्यटकीय क्षेत्रलाई मुख्य गन्तव्य बनाउन लागेमा पर्यटन क्षेत्रको विकास हुनु धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्