Logo

आयोजनाको कुल प्रगति ६२.९० प्रतिशत

नागढुंगा सुरुङमार्ग ७ महिनाभित्र छेडिने

काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६२.९० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ ।
आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ ।’
विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, “आयोजनको कुल ६२.९० प्रतिशत काम पूरा भएकोे छ । आगामी ७ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुनेछ ।” उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किङ अडिट १ सय २७ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ । आयोजनाको कुल भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत छ । मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ । सुरुङमार्ग छेड्ने कामसँगै आयोजनाले फिनिसिङको कामसमेत तिव्रताका साथ अघि बढाएको छ । तर सुरुङ खन्दा वर्षायाम भएकाले गर्दा पहिरोसमेत आइरहेकाले गति लिन समय लागेको आयोजनाले जनाएको छ । हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ ।
०७७ पुस ७ गतेबाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग शिलान्यास गरेका थिए । लम्बाइ २.६८ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी, पश्चिम लम्बाइ ०.५६५ किमी निर्माण हुनेछ । कोभिड–१९ र आन्तरिक तयारीका कारण केही ढिलो भएको थियो । करिब १९ महिनामा आयोजनाको ६३ प्रतिशत प्रगति हासिल गरेको हो । कार्यतालिकाअनुसार नै सुरुङमार्गको काम भइरहेकाले गर्दा निर्धारित समयमा नै पूरा हुने आयोजनाले जनाएको छ । २४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्तिसहितको टोलीले सुरुङमार्ग खन्ने काम गरिरहेको बताइएको छ । नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा सुरुङमार्ग निर्माण हुन लागेको हो । सम्झौतामा काम सुरु गरेको ४२ महिनाभित्र अयोजना समापन गर्ने उल्लेख छ । तर कोभिड–१९ का केही महिना ढिलाइ भएपछि ३ महिना थप गरेको आयोजनाको समय सीमा ४५ महिना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्