हिन्दू संस्कृति र पहिचानको जगेर्ना गरौं

हाम्रो मुलुकभित्र आजसम्म थरीथरीका समाचारहरू प्रकाशन भए, प्रसारण पनि भए । हाम्रो मुलुकको हिन्दू संस्कृति तथा पहिचानलाई जोगाउनका लागि धेरै ठाउँबाट आवाजहरू पनि निस्किरहेका छन् । विभिन्न कार्यक्रमहरूको आयोजना गरी यस हिन्दू सनातन धर्मको जगेर्ना गर्नका लागि सञ्चार जगत्मा धेरै धार्मिक सञ्चार क्षेत्रहरूको पनि उदय भयो । फलस्वरूप हाम्रो मुलुकमा पनि विभिन्न अनलाइन पत्रपत्रिकाको माध्यमबाट, रेडियो/टेलिभिजनहरूबाट दैनिक बिहान/बिहान सुमधुर भजनहरू गुन्जिरहेका हुन्छन् । यो हिन्दू धर्मालम्बीहरूलाई निकै फाइदाजनक हुन्छ । ज्ञान हासिल हुन्छ । धर्मकर्ममा आस्था जागेर आउँछ । यसले हाम्रो मुलुकको सनातन हिन्दू संस्कृतिको पहिचानलाई सधैं जीवन्त तुल्याउन मद्दत गर्छ । सनातन हिन्दू धर्म–संस्कृति, रीतिरिवाज अनि मौलिकताको जगेर्ना गर्नुमा रामायण भजनको पनि उत्तिकै भूमिका रहेको हुन्छ । भगवान् राम–सीताको पालादेखि अर्थात् द्वापरयुगमा रावणले अत्याचारले सीमा नाघ्दै गएपछि यही अत्याचारको सीमा मेट्नका लागि विष्णु भगवान्को जन्म भयो । त्यसपछि कौशल्याको कोखबाट भगवान् रामले जन्म लिएपछि भगवान् रामले विष्णु अवतार लिनुभयो । त्यसपछि जनक राजाले जानी–नजानी अठोट गरे, जसले शिव धनुष उठाउँछ उसैलाई छोरी दिने कुरा । तर, शिव धनुष कसैले उठाउन सकेनन् । अन्त्यमा रामले शिव धनुष जनक राजाको अगाडि उठाउनुभयो र जनक राजाले रामलाई आफ्नो छोरी सीता दिनुभयो भन्ने किंवदन्ती रामायण भजनमा उल्लेख गरिएको छ ।
राम–सीता १२ वर्षसम्म वनबास गएका घटनादेखि रावण अन्त्यसम्मका घटनाहरू रामायणमा उल्लेख गरिएको पाइन्छ । भगवान्को पालादेखि यसको विश्वास यथार्थ घटनामा आधारित भएर हाम्रो मुलुक पनि हिन्दू संस्कृति, परम्परा अनि रीतिरिवाजमा आजसम्म पनि जिवित रहेको पाइन्छ । यसैको जगेर्ना गर्नका लागि हाम्रो मुलुकका विभिन्न देवालयहरूमा कुनै चाडबाड, रीतिरिवाज अथवा भगवान्को जन्मको अवसरमा दिनहुँ मठमन्दिरमा पूजा–पाठ, रामायण भजन–कीर्तन आदि गरेर मनाउने चलन रहिआएको छ ।
गत शनिबार मात्रै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित हरहर महादेव सिद्धिविनायक मन्दिरमा सिद्धिविनायक रामायण भजनले आफ्नो स्थापनाको २४ औं रामायण भजनको वार्षिकोत्सव पनि मनाएको छ । मुलुकका विभिन्न ठाउँबाट आउनुभएका भक्तजनहरूलाई रामायण भजनमा स्वागत गरिएको थियो । रामायण भजन गाउनेमा, हार्मोनियम बजाउनेमा गंगा चापागार्इं, तबला बजाउनेमा विकास रायमाझी, डमरु झ्याली तथा नाचगान गर्नेमा समाजसेवी कृष्णभक्त न्यौपाने, अरू सहभागी उल्लेख्य महिला दिदीबहिनीहरूको पनि उपस्थिति रहेको थियो भने कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर शान्ता थापा र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीमसेन थापाको पनि उपस्थित रहेको थियो । सबै जनाले एकाग्र भएर आँखा चिम्लेर रामायण भजनमा मन डुलाइरहेका देखिन्थे भने भजनको छेउमा समाजसेवी कृष्णभक्त न्यौपाने र भूपेन्द्र रायमाझी नाचिरहेका देखिन्थे ।
रामायण भजन सकिएपछि उपस्थित भक्तजनहरूलाई प्रसादको व्यवस्थापनका लागि युवाहरू लक्ष्मण पुरी, नवराज पुरी, भीमसेन न्यौपाने, शेखर सिग्देल तथा सिद्धिविनायक भजन मण्डलकी अध्यक्ष मीना पुरीलगायत दिदीबहिनीहरूले पनि उल्लेख्य सहयोग गरेका थिए । समाजसेवी कृष्ण भक्त न्यौपानेले भन्नुभयो, “मुलुक हिन्दू सनातन धर्म भएको देश हो । जबसम्म हिन्दू सनातन धर्मको जगेर्ना गर्न सकिन्छ तबसम्म हामी नेपाली भनेर शिर ठाडो पारेर हिँड्न सक्छौं ।” उपस्थित भक्तजनहरूले सधैंभरि यस्तो पुण्य कार्यमा हामीलाई पनि निमन्त्रण गरियोस् भने । सबैले हाम्रो हिन्दू संस्कृति, परम्परा अनि रीतिरिवाजलाई सदैव आ–आफ्नो ठाउँबाट जगेर्ना गर्नुपर्ने देखिन्छ ।