बुद्धिष्ट सर्किटको प्रवद्र्धन «

बुद्धिष्ट सर्किटको प्रवद्र्धन

बुद्ध नेपालमै जन्मिएका हुन् कि होइनन् भन्ने भारतीय दुश्प्रचारको विवादमा नेपालले धेरै समय बिताइसकेको छ । भारतका शीर्ष नेताहरूले नै अन्तर्राष्ट्रिय मञ्चमा बुद्ध जन्मस्थलका विषयमा अनर्गल प्रचार गर्ने र पछि माफी माग्ने परम्पराजस्तै बनिसकेको छ भने भारतका कतिपय राज्यको पाठ्यक्रममा पनि यस्तै भ्रामक सूचना अझै रहेको पाइन्छ । तर, भारत ठूलो मुलुक हुनुको कारण तथा भारतीयहरूको संसारभर छरिएर रहेको ठूलो संख्याका कारण विगतमा यस्तो दुश्प्रचारले बढावा पाए पनि अन्ततः बुद्धबारे जानकार जो कोहीका मनमा समेत अव भ्रम रहेको पाइँदैन । पछिल्लो समय सामाजिक सञ्जालदेखि प्रभावकारी मिडिया नेटवर्क र सूचनामा संसारभर बढ्दो पहुँचका कारणले पनि यो विषय अब विवादित भइरहने अवस्था छैन ।
बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने तथ्यलाई तोडमोड हुन नदिनु नेपालको कर्तव्य हो भने यसकै कारण नेपालमा संसारभरका बुद्धमार्गीहरूको भ्रमण गराउनु अहिलेको आवश्यकता पनि हो । यसले एकातर्फ संसारभर नेपालको सकारात्मक प्रचारसँगै नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य र अद्वितीय प्रभाव पार्न सक्छ । बुद्ध जन्मस्थल लुम्बिनी मात्र भ्रमण गराएर बुद्धमार्गीको चाहना पूरा नहुने र पर्यटकका लागि उनीहरूको चाहनाअनुसारको बुद्धले ज्ञान प्राप्त गरेको ठाउँलगायतका स्थलमा पुर्याउनकै लागि बुद्धिष्ट सर्किटको अवधारणा अघि सारिएको हो । यसको प्रवद्र्धनका लागि न नेपाल एक्लैले सम्भव छ, न त भारतले नै । श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेले सार्कक्षेत्रको विकासका लागि सार्कलाई बुद्धिष्ट सांस्कृतिक सर्किटको विकास गर्नुपर्नेमा जोड दिएको यहाँनेर स्मरणीय छ । सार्क शिखर सम्मेलनमा दक्षिण एसियालाई बुद्धिष्ट कल्चरल ट्रेल बनाउन सकिने उनको धारणा तत्काल कार्यान्वयन नभए पनि यो बुद्धिष्ट सर्किटको विस्तारित रूप हुन सक्छ ।
त्यसो त नेपाल र भारत सरकारबीच नेपालमा राष्ट्रिय स्तरमा बुद्ध पर्यटकीय सर्किट बनाउने र भारतको राष्ट्रिय बुद्ध पर्यटकीय सर्किटसँग जोड्ने सहमति यसअघि नै भइसकेको छ । यसमा विश्व बैंकको सहयोग र सहजीकरणले पनि नयाँ आयाम थप्न सक्छ । यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीबीच नै सम्झौता भएको छ । नेपालको राष्ट्रिय बुद्धिष्ट सर्किटमा लुम्बिनीलाई नाभी मानेर तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भूलगायत समावेश गर्न सकिन्छ भने भारतले बोधगयालाई नाभी मानेर सारनाथ, कुशीनगर, श्रावस्तीलगायतका स्थललाई जोडेर ७ सय किलोमिटरको राष्ट्रिय बुद्ध सर्किट सञ्चालन गरिरहेको छ । यसमा रहेका दुवै गन्तव्यलाई ऐतिहासिक महŒवका आधारमा जोड्नु अबको मुख्य आवश्यकता हो ।
बुद्धिष्ट सर्किटका गन्तव्यहरूमा हेरफेर गर्न सकिए पनि विश्व शान्तिको मुहानस्थल लुम्बिनीलाई अन्तराष्ट्रिय पर्यटनको केन्द्र भाग बनाउने लक्ष्य रहनुपर्छ । महापरिनिर्वाणअघि गौतम बुद्धले शिष्य आनन्दलाई ‘उच्च आस्थाका साथ म जन्मेको लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, पहिलो धार्मिक प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण प्राप्त गर्ने कुशीनगर पुग्नेछन्’ भनेको बौद्ध साहित्यहरूमा उल्लेख गरिएको छ । अहिले यी चार स्थान बौद्ध धर्मका चार धाम बनिसकेका छन् । संसारभरका बौद्ध धर्मावलम्बीहरूले जीवनमा कम्तीमा एकपटक पुग्न चाहने यी स्थललाई बुद्धिष्ट सर्किटमा जोड्ने अवधारणा लागू गर्न अब ढिलो गर्नु हुँदैन । नेपालले आन्तरिक तयारीलाई प्रभावकारी बनाएर कूटनीतिक रूपमा भारतलाई पनि विश्वासमा लिएर बुद्धिष्ट सर्किटको विकास गर्नु आजको प्रमुख आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्