नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२ हुँदै

होटल संघ नेपालले ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ गर्ने भएको छ ।
कोभिड–१९ का कारण तय गरेको ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आगामी ८ असोजमा आयोजना गर्ने भएको हो । संघको अर्धवार्षिक साधारणसभाका बखत उक्त सम्मेलनको समेत समुद्घाटन गरिने संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
लामो समयदेखि तयारी गरिएको नेपालकै पहिलो आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ दिवसीय सम्मेलनमार्फत होटल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने प्रकारका सत्रहरू उक्त सम्मेलनमा सञ्चालन गरिने जनाएको छ ।
कोभिड–१९ को महामारीबाट पुनरुत्थानका क्रममा रहेको व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरण गरिनुका साथै केही नयाँ अभ्यास प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न हस्पिटालिटी कन्क्लेभ फलदायी हुने जनाइएको छ । सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गर्ने स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागिता हुने हुँदा समग्र पर्यटनको विकासका लागि यस सम्मेलनले केन्द्रीय भूमिका खेल्ने विश्वास लिइएको छ ।
सातवटा सत्रले होटल सञ्चालनमा नीतिगत, दीर्घकालीन रूपमा होटलका विभिन्न विभागमा प्रभावकारी रूपमा छलफल तथा जानकारी प्राप्त हुने जनाइएको छ ।
छलफलबाट प्राप्त सुझाव नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने छ । अर्धवार्षिक साधारणसभा र आतिथ्यता सम्मेलन दुवै दिन होटलमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्ध गराउने कम्पनी तथा व्यवसायीलाई समेटी बृहत प्रदर्शनी हुनेछ ।