एक करोड राशिको ‘भवन किर्ती रत्न’ पुरस्कार महाविर पुनलाई

नेपालका युवा उद्यमी तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष एवं संरक्षक भवन भट्टद्वारा स्थापित रु. एक करोड राशिको ‘भवन किर्ती रत्न’ सम्मान राष्ट्रिय आविष्कार केन्द्र तथा केन्द्रका संस्थापक महावीर पुनलाई प्रदान गरिएको छ । भट्टको जन्मदिनको अवसर पारेर मंगलबार गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा पुरस्कार प्रदान गरिएको हो ।
नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनका लागि पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार नेपालमा प्रदान गरिने पुरस्कारमध्ये सबैभन्दा ठूलो राशिको पुरस्कार हो । भवन भट्टद्वारा स्थापित यो पुरस्कार गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलनका अवसरमा घोषणा गरिएको थियो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुरस्कार वितरण समरोहलाई सम्बोधन गर्दै राष्ट्रिय आविष्कार केन्द्र सबैका लागि प्ररणाको स्रोत बन्नुपर्ने भन्दै विज्ञान र प्रविधिको विकासलाई पनि महत्व दिनुपर्ने बताएका छन् । “प्रविधिको क्षेत्रमा सबैको चासो बढाउन आवश्यक छ । अविष्कार केन्द्र पनि विज्ञान र प्रविधिसँग जोडिएको छ । यसमा इच्छासहित लाग्ने व्यक्तिको सम्मान हुनुपर्छ,” उनले भने ।
मन्त्री पौडेलले एनआरएनएले उद्योग–व्यवसायीका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नै देशमा लगानी बढाउन आग्रह समेत गरेका छन् । “रोजगारी सिर्जना गर्ने उद्यम र वातावरण सिर्जना गर्ने सरकारले नै हो । सबै मिलेर मुलुकको मुहार फेर्ने संकल्प गर्नपर्छ,” पौडेलले थपे ।
बीबी ट्रष्टका अध्यक्ष तथा ‘भवन किर्ती रत्न’ पुरस्कारका संस्थापक भवन भट्टले प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यो पुरस्कार तथा सम्मान नेपालको विकास र नेपालीको हितका लागि काम गर्ने संस्था वा व्यक्तिलाई प्रदान गरिने जानकारी गराए । “हामी बाँचेको युगमा हाम्रो देश र हाम्रो समाजको निमित्त सशक्त योगदान गर्ने कर्मवीर, मानवीयताका प्रखर हिमायती तथा नेपाल र नेपालीको किर्ती देश र विदेशमा सुवाशित गराउने एक प्रज्वलित ताराको खोजी हो ‘भवन किर्ती रत्न’ पुरस्कार,” उनले भने, “सामान्य जीवन त सबैले बाँचेकै हुन्छौं, तर जीवन त्यस्तो होस् जसले आफूलाई मात्र नभएर आफ्नो समाज, आफ्नो देश र आफू वरिपरिका सबैलाई लाभान्वित गराउन सकोस् ।”
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर वाणी, “खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ,” भनेझैं भट्टले पनि आफूलाई यो पुरस्कार एक अत्यन्त सुपात्र र पुरस्कारका सच्चा हकदारलाई अर्पण गर्न पाउँदा अत्यन्त सुख अनुभूति भएको सुनाए ।
गोरखा जिल्लाको तान्द्राङमा एक मध्यम परिवारमा जन्मिएका भट्ट युवा अवस्थामा नै जापानमा विद्यार्थी तथा कामदारको रुपमा प्रवेश गरेसँगै सफल व्यवसायीको रुपमा आफ्नो छवि स्थापित गराएका छन् । आफ्ना पिता यदुप्रसाद भट्टलाई आदर्श मान्ने भवन भट्टले आफूले जापानमा जति सम्पत्ति कमाए पनि सो सम्पत्ति नेपाल र नेपालीका लागि उपयोग हुन नसके त्यसको तात्विक महत्व नहुने बताएका छन् । उनले करिब डेढ दशकदेखि नेपालमा बीबी होल्डिङ्स स्थापना गरी होटल, शिक्षा, पर्यटन, हवाई सेवा, ऊर्जा, सञ्चार तथा विभिन्न व्यापारमा लगानी गरेर हजारौंलाई रोजगारी दिएका छन् । व्यवसायमा व्यस्त भइरहेकै समयमा भट्ट स्वामी आनन्द देवको नामकरणसहित ओशोको अनुयायी भएर ओशो आश्रममा योग तथा ध्यानमा समेत समय बिताउन थालेका छन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै महाविर पुनले आविष्कार केन्द्रलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नति कहिल्यै नहुने बताए । पुनले हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने दाबी समेत गरेका छन् । मुलुकमा उद्यम बढाएण्मात्रै रोजगारी पनि बढ्ने भन्दै उनले उद्यम विकासका लागि अनुसन्धान तथा आविष्कार जरुरी रहेको बताए । “नेपालका युवाहरु बाध्य भएर विदेशमा जाने चलन छ । यदि नेपाल समृद्ध भएको भए नेपाली युवाहरु बाहिर जानुपर्ने थिएन । रोजगारी सिर्जना गर्नका लागि उद्यम विकास हुनुपर्छ र उद्यम विकास गर्नका लागि अनुसन्धान तथा आविष्कार हुनु जरुरी रहेछ,” उनले भने, “रोजगारी वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । रोजगारीको सिर्जना सरकारले मात्रै गर्ने हो भनेर गाली गर्छौं तर उद्यमीले वास्तवमा रोजगारीको सिर्जना गर्ने हो ।”
नेपालको अर्थतन्त्र सुधार गर्ने अभिभारा उद्यमीको काँधमा रहेको भन्दै उनले उद्यम विकासमा जोड दिएका छन् । आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न आवश्यक रहेको उनको भनाइ छ । “देशमा नयाँ प्रविधिको विकासमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानुपर्ने बाध्यता अन्त्य हुने पुनले बताए ।
म्याग्दी जिल्लाको नाङ्गी गाउँमा जन्मिएका पुनले माध्यमिक शिक्षापछि नेपालमै शिक्षकको रुपमा काम गरे । संयुक्त राज्य अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए उनले । आफ्नो जन्मस्थान सानैमा छाडेका पुन अध्ययनपश्चात् त्यहीँ स्थानमा गएर त्यहाँका बालबालिकाको शिक्षाका लागि महत्वपूर्ण योगदान गरेका छन् । म्याग्दीमा इन्टरनेट सेवा विस्तारका लागि उनले गरेको मेहनत र सफलताले पुनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराएको छ । महावीर पुन अशोका फाउण्डेशनको शोधार्थी तथा फिलिपिन्सको प्रख्यात रामोन म्यागासेसे पुरस्कार तथा अन्य अन्तर्राष्ट्रिय पुरस्कारका विजेता पनि हुन् । उनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान तथा खोजका क्षेत्रमा उल्लेखनीय योगदान गर्दैै युवा वैज्ञानिकलाई प्रोत्साहन र नेपालमा नै वैज्ञानिक खोजहरुका कामलाई प्रश्रय दिँदै आएको छ ।
कार्यक्रममा ओशो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताए । पुनलाई शिक्षामन्त्री देवेन्द्र पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं बीबी फाउण्डेशनका अध्यक्ष भवन भट्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, स्वामी आनन्द अरूणलगायतले ‘भवन कीर्ति रत्न’ पुरस्कार हस्तान्तरण गरेका थिए ।
पहिलो वर्ष यो पुरस्कार प्राप्त गर्ने व्यक्ति यसका संस्थापक भट्टले नै चयन गरे पनि आगामी वर्षदेखि एनआरएनए तथा बीबी ट्रष्टले संयुक्त रुपमा पुरस्कार प्राप्त गर्ने संस्था वा व्यक्तित्वको चयन र घोषणा गरिने भट्टको भनाइ छ ।