नेपालमा सवा २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी

- ५५ देशको एफडीआई
- भारतको ७६ अर्ब, चीनको ३३ अर्ब, तेस्रोमा आयरल्यान्ड
- ६०.५ प्रतिशत औद्योगिक र ३९.४ प्रतिशत सेवा क्षेत्रमा
- उद्योगको क्षमता उपयोग ६४.९ प्रतिशत र नाफा १४.७ प्रतिशत
नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५ देशको २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
राष्ट्र बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड लगानी भएको छ भने दोस्रोमा रहेको चीनबाट ३३ अर्ब लगानी रहेको अध्ययनमा उल्लेख छ । पछिल्ला वर्षहरुमा आवधिक लगानीमा चीन अगाडि रहे पनि समग्रमा भने भारत निकै माथि रहेको छ । भारत र चीनपछि आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ ।
समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ । यस्तै, कुल वैदेशिक लगानमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ हालैका वर्षहरूमा एफडीआई प्रवाहलाई आकर्षित गर्न कानुनी, संस्थागत र नियामक सुधारहरू भए पनि अपेक्षित रुपमा भित्रिन नसकेको बताउँछन् । “यस क्षेत्रका अन्य अर्थतन्त्रको तुलनामा नेपालमा एफडीआई प्रवाह अपेक्षाकृत कम छ,” उनी भन्छन्, “विदेशी मुद्रा सञ्चितिको स्थितिलाई हेर्दा एफडीआईको महत्व पछिल्ला वर्षहरूमा बढ्दै गएको छ ।”
आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १ सय ९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/०७८’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुयाउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्ना गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।
बक्समा
लगानी प्रतिबद्धता दोब्बर
नेपालमा वैदेशिक लगानी सवा २ अर्ब रहेको केन्द्रीय बैंकको तथ्यांक रहे पनि लगानी प्रतिवद्धता भने यसको दोब्बर रहेको तथ्यांक छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षसम्म नेपालमा ४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
विभागले ६ अर्ब रुपैयाँसम्मका वैदेशिक लगानीको मात्र स्वीकृत गर्ने र योभन्दा ठूलो लगानी भने लगानी बोर्डमा जाने भएकाले प्रतिवद्धता रकम अझै बढी हुने देखिन्छ । विभागका महानिर्देशक रामचन्द्र तिवारी लगानी स्वीकृति र भित्रिएको लगानीका सम्बन्धमा एकीन तथ्यांक राख्ने तयारी भइरहेकाले आगामी दिनमा यसमा सुधार हुने बताएका छन् ।