दसैंअघि उत्तरी सीमा नाका खुल्ने दाबी

भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरु यही दसैंअगाडि नै खुल्ने बताएका छन् । मंगलबार वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले चिनियाँ पक्षसँग छलफल गरेर दसैंअगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् ।
उत्तरी नाकामा नेपालको कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाइ छ । निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाइ गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए । उनले पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेबिट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको पनि जानकारी दिए । उनले एउटै व्यक्तिले फरक फरक नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको बताए ।
त्यस्तै, नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमा नाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गरे । उनले राजस्व परामर्श समितिलाई लिखित रुपमा नै सुझावसहित माग पेस गरेको बताउँदै चिनियाँ नाका बन्द हुँदा नेपालीहरुको महान पर्व दसैंको लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको बताए । उनले दसैंमा पनि नाका खुला हुन नसके र सामान आउन नसके व्यापारीहरु पलायन हुने अवस्था आउन सक्ने भन्दै नेपाली व्यवसायीहरुले अर्बौं रुपैयाँमा खरिद गरेर ल्याएका सामान उत्तरी नाका ल्हासा, सिगात्से, केरुङ र खासामा रोकिएको बताए ।
आगामी आवको बजेट तयारी
नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा आगामी पुस महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन् । मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले समितिले व्यावसायिक संस्था तथा निजी क्षेत्रको सुझावसहितको प्रतिवेदन पुस महिनाभित्र बुझाउने बताएका हुन् ।
उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयमा प्रदिवेदन बनाउन पाँच वटा समिति बनाएर काम गरिरहेको बताउँदै समितिले प्रदेश स्तरको राजधानीमा गएर त्यहाँका व्यवसायी र सरकारी निकायहरुको सुझावसमेत लिने तयारी भएको जानकारी दिए । उनले पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएका समस्या र सम्भावित राजस्व विस्तारको क्षेत्रका विषयमा पनि ८ वटा अध्ययन सुरु गरिएको बताए । अध्यक्ष दाहालले चोभार सुख्खा बन्दरगाहलाई निर्यात बन्दरगाहको रुपमा लैजान सरकारलाई सुझाव दिएको बताउँदै सरकारले निर्यात बन्दरगाह बनाए निर्यातको लागि उद्योगी–व्यवसायीहरु काठमाडौं बाहिर जान नपर्ने पनि बताए ।
समितिका सदस्य लेखनाथ शर्मा पंगेनीले पछिल्लो समय वैदेशिक व्यापारमा सीमा नाकाबाट चोरीपैठारी भएको विषयमा सरकारका सम्बन्धित निकायले अनुगमन गर्न सुझाव दिएको जानकारी गराए । उनले पछिल्लो समय सीमाभन्दा बढी सामान ल्याउने र नाकामा डम्पिङ गरी बिचौलियाको संयन्त्र बनाएर बजारमा चोरी पैठारीका सामान आउने गरेको बताए । उनले सरकारलाई भन्सार विभाग, राजस्व विभाग र व्यवसायीहरुलाई समेत राखेर अन्तरक्रिया गरी अवैध व्यापार नियन्त्रण गर्न सुझाव दिएको स्मरण गराए । सदस्य पंगेनीले सरकारलाई सहज रुपमा राजस्व आउने र व्यापार–व्यवसाय पनि पारदर्शी रुपमा बनाउन सरकारलाई सुझाव दिएको भन्दै समितिले राजस्व परामर्शसँग सम्बन्धित निकाय र व्यवसायीहरुलाई समेत सचेत गराउने काम गर्दै आएको पनि स्मरण गराए ।