‘जनताको क्रयशक्ति बढाउन आवश्यक’

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन आवश्यक रहेको बताएकी छन् ।
सोमबार काठमाडौंमा यूएनडीपीले आयोजना गरेको मानव विकास प्रतिवेदन सन् २०२१/२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन् । मन्त्री भुसालले कृषि, पर्यटन र ऊर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलस्रोतलगायतका प्राकृतिक स्रोतको उचित प्रयोग गर्नु आवश्यक रहेको बताइन् । उनले औद्योगीकरण, यातायात सञ्चालन, सिँचाइ, कृषि विकास, खानेपानीको विकासमा विद्युतीय सामग्रीको प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री भुसालले ऊर्जाको आन्तरिक खपत बढाउनका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी रहेको पनि बताइन् । उनले जलस्रोत र ऊर्जाका दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक रहेको पनि स्पष्ट पारिन् । मन्त्री भुसालले देशमा उत्पादन हुने विद्युत पूर्णरुपमा नवीकरणीय, स्वच्छ ऊर्जा भएकाले हाल देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको दाबी गरिन् । उनले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन भइरहेको पनि बताइन् । उनले सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई नि:शुल्क विद्युत सेवा दिने र नि:शुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै विद्युत आधारभूत आवश्यकताका साथै उत्पादनको साधन भएको बताइन् ।
मन्त्री भुसालले यो आर्थिक वर्षको अन्त्यसम्म करिव १६ अर्बको विद्युत व्यापार हुने प्रक्षेपण गरेको बताइन् । उनले यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३ सय ५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको बताइन् । नेपाल यूएनडीपीको प्रतिवेदनअनुसार १ सय ९३ वटा देशमध्ये मानव विकास वर्गीकरणको १४३औं स्थानमा छ । नेपाल मध्यम मानव विकासको अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।