साफा अवार्डबाट विभिन्न कम्पनी सम्मानित «

साफा अवार्डबाट विभिन्न कम्पनी सम्मानित

सार्क राष्ट्रका लेखा व्यवसायीहरूको संगठन दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) ले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने एक दर्जन कम्पनीलाई विभिन्न पदकबाट सम्मान गरेको छ । साफा सम्मेलन–२०१८ अन्तर्गत बुधबार भएको कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरूलाई सम्मान गरे ।
साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०१६ विभिन्न १२ वटा क्षेत्रका कम्पनीलाई प्रदान गरिएको छ । जसअन्तर्गत कृषि विधामा गोल्डेन हार्भेस्ट एग्रो लिमिटेड–बंगलादेश, सूचना प्रविधिमा माइन्डट्रि लिमिटेड–भारत, डाइभर्सिफाइड होल्डिङ विधामा क्रिसेन्ट स्टिल एन्ड एलाइड प्रोडक्ट लिमिटेड–पाकिस्तान, वित्तीय सेवा विधामा आईडीएलसी फाइनान्स लिमिटेड–बंगलादेश, बिमा विधामा प्राइम इन्स्योरेन्स बंगलादेश, उत्पादनमूलक विधामा ब्रिटिस अमेरिकन टोबाको कम्पनी लिमिटेड–बंगलादेशले पदक जितेका छन् ।
यसैगरी गैरसरकारी विधामा सिटिजन्स फाउन्डेसन–पाकिस्तान, निजी क्षेत्रका बैंक विधामा बिआएसी बैंक लिमिटेड–बंगलादेश, सार्वजनिक बैंक विधामा जनता बैंक–बंगलादेश, सार्वजनिक क्षेत्रका संस्था विधामा इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिडेड–बंगलादेश, सेवा विधामा नुवारा इलिया होटल–श्रीलंका, इन्टिग्रेटेड रिपोर्टिङ विधामा आईडीएलसी फाइनान्स लिमिटेड बंगलादेशले पदक जितेका छन् । यसैगरी सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्रनेन्स भने इस्लामी बैंक बंगलादेश लिमिटेडले जितेको छ ।
सबै विधामा फस्र्ट रनर्सअप तथा सेकेन्ड रनर अपसमेत घोषणा गरी पदक प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने कम्पनीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । जसमा नेपालबाट वित्तीय सेवा विधामा कैलाश विकास बैंक र निजी बैंक विधामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र निर्माण क्षेत्रमा बुटवल पावर कम्पनी लिमिटेड सम्मानित भएका छन् ।
साफामा हाल नेपाललगायत अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका लेखाव्यवसायी संस्था सदस्य छन्, जसमा ३ लाख ७५ हजारको हाराहारीमा लेखा व्यवसायीहरूको संलग्नता छ । साफा सदस्य संस्थाको रुपमा आइक्यानले सम्मेलन आयोजना गरेको हो ।
नेपालको तर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्वअध्यक्ष सुबोधकुमार कर्ण सन् २०१८ का लागि साफाको अध्यक्ष पदमा मनोनित भएका छन् । यसरी नेपालले महत्वपूर्ण जिम्मेवारी सम्हालेको यो दोस्रो पटक हो । यसअघि संस्थाका पूर्वअध्यक्ष कोमलबहादुर चित्रकारले सन् २०१० मा अध्यक्षको जिम्मेवारी समालेका थिए । पदक वितरण कार्यक्रममा महालेखा परीक्षक शर्माले देशमा सुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।

छुट्टै महिला समिति बनाउने सहमति
दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलनकै दौरान ५१ औं सञ्चालक समिति बैठक एवम् ८६ औं एसेम्बली बैठकले महिला लेखा व्यवसायीसम्बन्धी छुट्टै समिति बनाउने निर्णय गरेको छ । सार्क क्षेत्रमा महिलाको लेखा व्यवसायमा बढी भन्दा बढी आबद्धता बढाउने उद्देश्यले बैठकमा भएको सैद्धान्तिक सहमति अनुसार बन्ने सो समितिमा सम्पूर्ण पदाधिकारी महिला नै हुनेछन ।
नेपालका तर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्वअध्यक्ष सुबोधकुमार कर्ण सन् २०१८ को लागि अध्यक्ष र उपाध्यक्षमा भारतका सीएमए पीभीएस जगनमोहन राव मनोनीत भएपछिको पहिलो बैठकले विभिन्न आठ उपसमितिले प्रस्तुत गरेको एजेन्डालाई अनुमोदनसमेत गरेको छ । विश्वमा पछिल्लो समयमा लेखा व्यवसायको चुनौती र समय सापेक्ष गरिनुपर्ने परिवर्तनका विषयमा सो अवसरमा छलफल भएको नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का अध्यक्ष प्रकाशजंग थापाले बताए ।
त्यसैगरी चार्टर्ड एकाउन्टेन्सहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेस (आइएफएसी) अन्तर्गतको चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड एकाउन्टेन्सी (सीआईपीएफए)सँग प्राविधिक सहयोग आदान–प्रदान गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको छ । सहमति अनुसार चार्टर्ड एकाउन्टेन्टहरुको क्षमता अभिवृद्धि गर्न सेन्टर अफ एक्सिलेन्स खोल्ने सम्बन्धमा प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख छ । आइएफएसीले प्रतिपादन गरेका र भविष्यमा प्रतिपादन लेखासम्बन्धी विभिन्न मापकबारे जानकारी दिने र भविष्यमा गर्नुपर्ने तयारीबारे सजग गराउने छ ।
साफाको ५२ औं बैठक आगामी अप्रिल ५–६ तारीखमा अफगानिस्तामा हुने निर्णय समेत बैठकले गरेको छ । अफगानिस्तानमा सुरक्षाका कारण हुन नसकेमा विकल्पको रुपमा भुटान वा श्रीलंकामा ५२ औं बैठक गर्ने समेत सो बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्