नेपाल सेमिफाइनलमा

काठमाडौं जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाहुना टोली श्रीलंकालाई सोमवार ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकाल्दो अन्तिम चारमा स्थान पक्का गरेको हो । यससँगै नेपाल समूह विजेतका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ । नियमित खेलाडी सावित्रा भण्डारी डेंगुका कारण अनुपस्थित भएपनि नेपाल श्रीलंकामाथि हावी रह्यो ।
नेपाललाई जित दिलाउन यसै प्रतियोगितामा डेब्यु गरेकी अमिषा कार्कीले दुई गोल गर्दा रश्मीकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाहीले एक/एक गोल गरे । पहिलो हाफमा चार गोल गरेको नेपाल दोस्रो हाफमा दुई गोल थपेको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी अमिशाले दुवै गोल गरेकी हुन् । खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि सरुले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाउँदा १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३–० को अग्रता पाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो । दोस्रो हाफमा केही रक्षात्मक देखिएको श्रीलंकाबिरुद्ध पाँचौं गोल गर्न ७६ औं मिनेट कुर्नुपर्यो । भुटानबिरुद्धको खेलमा डेब्यु गरेकी अमिषाले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाईन् । अमिषाले नेपालको लागि यो पहिलो गोल गर्न पनि सफल भएकी हुन् । त्यसपछि खेलको इन्जुरी समयमा अमिषा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को सहज जित दिलाउँदै सेमिफाइनलमा स्थान पक्का गराइन् । हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । तालिकाको पुछारमा अंकविहीन हुँदै श्रीलंका घर फर्किएको छ । लगातारका दुई खेलमा स्पष्ट जित निकालेको नेपालले ६ अंक जोड्दा समूह बी तालिकाको शीर्ष स्थानमा रह्यो भने भुटान दोस्रो स्थानमा रह्यो । भुटान यसअघि नै अन्तिम चारमा प्रवेश गरेको थियो ।
भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५–० गोल अन्तरले हराएको थियो । नेपालसँग भुटान ४–० गोलले पराजित भएको थियो । उता समूह ए बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । मंगलबार हुने दिनको दोस्रो खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेका छन् । दुवै टोलीबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।