समाजको भूमिकाले मात्रै आत्महत्या नियन्त्रणमा सहयोग पुर्याउँछ

नेपालसहित विश्वभरि नै गत शनिबार ‘आशा जगाऔं, जीवन बचाऔं,’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइयो । नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । तर त्यसले आत्महत्या रोकथामका लागि त्यति धेरै प्रयास गरेको भने देखिँदैन । आत्महत्या नियन्त्रण सरकार वा समाजले मात्र गर्न सक्दैन । यसमा सरकार र समाजको उत्तिकै दायित्व हुन्छ । सर्वप्रथम आत्महत्या रोकथामका लागि जोखिम वर्गको पहिचान गरी प्रारम्भिक लक्षण पत्ता लगाई सहयोगका लागि सम्बन्धित निकाय तत्पर हुनुपर्दछ । तिनीहरूको पहिचान भएपछि उनीहरूको कुरा र समस्यालाई सुन्ने गर्नुपर्दछ, त्यस्ता व्यक्तिका कुरा सुनेपछि सहानुभूति दिने र परामर्श गर्नेजस्ता कार्यले आत्महत्या रोकथाममा ठूलो सहयोग पुग्छ । त्यस्ता व्यक्तिलाई भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रलाई सम्पर्क गर्ने, यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने र मनोचिकित्सक, मनोविद्, परामर्शकर्ता कहाँ पठाउँदा आत्महत्या नियन्त्रणमा सहयोग पुग्दछ । यसै सेरोफेरोमा कारोबार राष्ट्रिय आर्थिक दैनिकले स्वास्थ्यकर्मी एवं मनोविद्सँग गरेको कुराकानीको सार :
आत्महत्याको कारण नै खोजी भएको छैन
सुशीला डंगोल
मनोविद्
नेपालमा आत्महत्या किन घटिरहेको छैन भनेर ठ्याक्कै अनुसन्धान त भएको छैन । तर, मेरो विचारले हेर्नुपर्दा हामीले यसको रोकथामका उपाय गरिराखेका छौं तर पुगेको छैन । मानसिक स्वास्थ्यको हिसाबमा हामीले धेरै काम गर्न बाँकी छ । अनि अर्को यो व्यक्ति विशेषमा पनि काम गर्नुपर्ने हुन्छ, किनकि हाम्रो समाज परिवर्तन भइरहेको छ । त्यो हिसाबले धेरै कुरा परिवर्तन भइरहेको छ । उनीहरूले ध्यान पुर्याउनुपर्ने कुराहरू नगरेर धेरै बढिराखेको छ । यसलाई हेर्ने तरिका तथा हामीले दिएको ज्ञान पुग्दो छैन, साथै व्यक्तिगत एकीकरण छैन । महामारी, भूकम्प, यस्ता विपत्ति जति पनि छन् यसले पक्कै पनि यो कुरामा कतै न कतै असर गर्छ । यसले आत्महत्या बढाउनु स्वाभाविक हो । अर्को कुरा, अहिले हामी जुन डिजिटल युगमा छौं र यसले पनि आत्महत्या धेरै बढाएको देख्न सक्छौं । प्रकोपले पनि यसको समस्या बढाउँछ नै ।
नेपालमा आत्महत्याको विशेष कारण के हो त भनेर अहिलेसम्म अनुसन्धान भएको छैन । तर, विस्तारै हुँदै गइरहेको अनुसन्धानमा अथवा हामीले हेर्दा धेरै कारण छन् । अहिले यो कोभिड–१९ का अनुसार हेर्दाखेरि पैसाकै कारणले गर्दा धेरै देखिन्छ । जस्तै व्यापार–व्यवसाय डुबेर अथवा यसै त पैसा छैन । त्यही माथि आफ्नो मान्छे गुमाउँदा पीडा, पैसा खर्च अनि कसैको काम गयो । पैसाको कारण धेरै देखिन्छ । यसमा नेपाल सरकारले गर्नुपर्ने भूमिका थुप्रै छन् । सुरुमा हामी सेवाको विकासमा जान सक्छौं । साथै मानसिक स्वास्थ्यसँग लिन सक्ने व्यवस्थालाई पनि लिन सक्छौं । साथै, यसको बारेमा सोच्ने कुरालाई परिवर्तन गरेर अर्को जनचेतना जगाउन निकै जरुरी हुन्छ र अर्को भनेको जसलाई आत्महत्याको सोच आउँछ उहाँहरूलाई सहयोग दिनका लागि नेपाल सरकारकै सहयोगमा एउटा हटलाइन सञ्चालन गरेको छ । यस्तै खालका सहयोगकर्ताहरू अथवा यसलाई नै तरिका मिलेको छैन कति ठाउँमा त्यो कसरी प्रयोग गर्ने, कहाँ जाने जस्ता जनचेतनाका साथै सुविधा दियौं भने धेरैभन्दा धेरै कम गर्न सक्छौं । यो विषयमा सबैभन्दा महŒवपूर्ण भूमिका नै आफू, परिवार र समाजको हुन्छ । पहिले व्यक्तिको समस्याको पहिचान गर्नु, किनभने आत्महत्या गर्नुअघि उसले त्यसलाई कहींकतै व्याख्या गरेको हुनसक्छ अथवा मानिसको व्यवहारमा परिवर्तन भएको हुनसक्छ । यस्ता धेरै संकेत हुन सक्छन् । यसलाई हामीले सकेसम्म छिटो पहिचान गर्न सक्यौं भने आत्महत्यालाई हामी रोक्न सक्छौं ।
जो आत्महत्या गर्न खोजेर बाँच्नुभएको छ, उहाँहरूलाई पनि धेरै दु:ख नदिने, जस्तै नेपाली समाज कस्तो छ भने आत्महत्या गर्न खोजेर बाँचेका व्यक्तिलाई देख्यौं भने शुभ हँुदैन, हाम्रो जीवनमा पनि नराम्रो हुन्छ भन्ने जस्ता सोचाइ छ । उनीहरूलाई त्यसै पीडा हुन्छ, झन् त्यसो गर्दा व्यक्तिको जीवनमा अझै असर पार्न जान्छ । त्यसैले त्यो खालको भेदभाव, त्यो खालको व्यवहार समुदायदेखि परिवारले र आफूले आफैंलाई पनि सहयोग गरेर अगाडि बढ्ने हो भने यस्ता समस्या कम हुन समय लाग्दैन ।
सामाजिक भेदभावले पनि आत्महत्या बढाएको छ
मनिल महर्जन
मनोविद्
आत्महत्याबारे चाहिँ बार्है महिना एउटा जागरूकता नभएजस्तो लाग्छ मलाई । बार्है महिना जति गरेका छौं, यसका लागि नपुगेको अथवा कमी भएको जस्तो देखिन्छ । जसका कारण आत्महत्याका घटना घट्न नसकेको हो जस्तो लाग्छ मलाई । यो कोरोना कालको अवस्था हेर्दा १५ देखि २० प्रतिशत बढेको पाइन्छ । पहिला दिनमा १७–१८ वटा आत्महत्या हुन्थ्यो भने महामारीको बेलामात्रै दिनमा २१–२२ वटा आत्महत्याका घटना भएको हाम्रो अनुसन्धानले देखाएको छ । यसको मुख्य कारण भनेको सामाजिक भेदभाव हो । जस्तै पैसा पनि छैन, सामाजिक सहयोग पनि छैन, कसैले काम गुमाए, कसैको आफ्नै व्यवसाय पनि डुबेर गएको छ । त्यसैले मनोवैज्ञानिक कारण र सामाजिक कारणले गर्दाखेरि मानिसले अलि धेरै एक्लोपनाको महसुस गर्यो । आत्महत्याबाहेक अरू विकल्प देखेन होला । साथै, उसलाई बुझाउने/सम्झाउने व्यक्तिको पनि कमी आयो होला । हामीले देखेका धेरैजसो बिरामीमा भनेको एकदम धेरै आशाविहीन हुने साथै सहयोगको अपेक्षा धेरै हुने र सबै भने जस्ता कुरा नहुने आफूमा यसको कारण, यो मुख्य हो अनि आफूमा भन्दा अरूमा बढी भरपर्ने र डर धेरै भएका साथै बिरामी, त्यस्ता व्यक्तिमा आत्महत्या गर्ने बढी अवस्था हुन्छ । यस्तो अवस्थामा नेपाल सरकारले योगदान त पुर्याउँदै आइरहेको छ, साथै स्वास्थ्य सेवा अझै बढाउनुपर्छ र नेपाल सरकारले यो मनोवैज्ञानिक स्वास्थ्य सेवा गाउँगाउँमा पुर्याउन सक्नुपर्छ वा भनौं पुर्याउनुपर्छ ।
हरेक अस्पतालमा मनोवैज्ञानिक चिकित्सक वा त्यस्ता सेवा पनि राखिनुपर्छ । सेवालाई पनि बढाउने साथै गाउँगाउँमा समस्याको पहिचान, समाधानहरू चिन्न सिकाउने, ज्ञान प्राप्तिका लागि सहयोग गर्ने पनि गर्न सकिन्छ । सरकारले धेरै ठाउँमा हेर्नुपर्छ र हेर्छ पनि । तर पूर्णरूपमा यसमा ध्यान दिँदा आत्महत्याको दर घटाउन सकिन्छ । हामी परिवार, समाजको भूमिका भनेको उनीहरूको जीवन र व्यवहारमा आएका परिवर्तन, कसैको हिँडाइमा परिवर्तन आउँछ, कसैको बोलीचालीमा, कसैको खाने तरिकामा, कसैको सुत्ने तरिकामा परिवर्तन आउँछ । त्यस्ता झ्यापै आउने परिवर्तनलाई हेरेर समस्याको पहिचान गर्नुपर्छ । अर्को भनेको साथ हाम्रो पनि छ है, तिमी मात्र एक्लो छैनौं भन्ने बिरामीलाई साथ पनि हुनुपर्छ । हाम्रो समाजको भूमिका भनेको जनचेतना जगाउने जस्ता काम पनि गर्न सकिन्छ ।
आत्महत्या रोकथाममा व्यक्ति नभई समाजबाट सहयोग हुनुपर्छ
पार्वती श्रेष्ठ
संयोजक, टीपीओ नेपाल
मलाई चाहिँ हामीले अझै पनि जनचेतनामा जगाएका कुराहरू छन् नि, त्यसमा सम्पूर्ण काम गरेका छौं जस्तो लाग्दैन । त्यो अधुरो भइराखेको छ जस्तो लाग्छ । सम्बन्धित निकायबाट पनि त्यति सहयोग नभएको जस्तो लाग्छ । अनि आत्महत्या रोकथामजस्तो कुरा एउटा व्यक्तिबाट मात्र पहल नभई सबै समाजबाट सहयोग हुनुपर्छ । धेरै कुराहरू छन् । यसका कारण सामाजिक, मानसिक, शारीरिक अन्यबाट पनि सहयोग हुनुपर्यो । यो जरुरी पनि छ, साथै कति व्यक्ति सहयोगका लागि आउनुहुन्न, सक्नुहुन्न, हिम्मत छैन, मलाई यस्तो भएको छ भन्ने जस्ता धेरै कुरा छन्, आत्महत्या नघट्नुमा । साथै, यसमा समुदायदेखि लिएर परिवारले पनि सहयोग गर्नुपर्यो । यो कोभिड–१९ का कारण पनि यस्ता समस्या बढेको पाइन्छ । एक त यसका बारेमा नेपालमा ज्ञान कम छ । साथै, तुलनात्मक हिसाबले हेर्न थालेको भएर पनि साथै पारिवारिक वातावरण र सामाजिक वातावरणले यस्ता कुरालाई लिएर पनि हामीले धेरै कम गर्नतिर लाग्नुपर्छ । तर, यस्ता अवस्था जस्तै पैसाको अभाव, आफ्नो मान्छे गुमाउनुको पीडामा कुनै बाटो नदेखिएको भएर यस्तो मनोदशा देखिन्छ । यसै कारणले पनि आत्महत्या बढाउने गरेको देखिन्छ । आत्महत्याको सबैभन्दा ठूलो कारण भनेको मानसिक समस्या नै हो । सामान्य व्यक्तिलाई पनि अत्यधिक तनाव हुन थाल्यो, पारिवारिक मेलमिलाप कम हुन थाल्यो, साथै एक्लोपन बढ्न थाल्यो, आफ्ना समस्या सजिलै समाधान गर्न सकेन, सँगसँगै उसलाई अरू व्यावहारिक कठिनाइ भयो भने पनि उसले त्यो सोचाइहरू ल्याउन सक्छ । पैसाको अभाव, मानसिको जीवनमा त्यो भइ नै रहन्छ । तर, यसलाई सामाजिक तनाव वा असमानताले बढावा दिन्छ । जस्तै तनावको सामना गर्न सकेको छैन, सँगसँगै परिवारमा त्यसै झैझगडा छ भने पनि व्यक्तिको जीवनमा ठूलो नकारात्मक असर गर्छ । यसमा नेपाल सरकारको भूमिका धेरै छ । जस्तै व्यक्तिलाई सामान्य रूपमा हेर्दाखेरि कति काम गर्न गाह्रो हुन्छ, रोजगारीको कमीले मानिसमा तनाव उत्पन्न हुन्छ, तिनीहरूको पनि समस्या बुझेर उचित सम्बोधन गर्नुपर्छ, स्वास्थ्य चौकीहरू त छन् । तर सहयोग पाउने अवस्थाचाहिँ छैन । मनोसमस्याको औषधि पाउने अवस्था छैन नेपालमा, यसका लागि चिकित्सकहरू पनि कम छन् । यस्ता कुरा पनि हेर्नुपर्छ ।
स्वास्थ्यसम्बन्धी कार्यक्रम सरकारले आयोजना गर्छ भन्ने कुरा जनतामा ज्ञान हुने हो भने मानसिक तनावमा कमी आउँछ र आत्महत्या कम हुन्छ भन्न सक्छौं हामी । साथै यसका लागि समाजमा बस्ने व्यक्तिको भूमिका कस्तो हुन्छ भने अहिले पनि मानसिक तनाव भएका व्यक्तिले खुलेर आफूलाई यो भयो, के गर्ने होला भनेर भन्न सक्ने अवस्था छैन । यसमा कुनै छलाङको कुरा होला अथवा कुनै सहयोग पाउने निश्चितता पनि छैन । भनेर पनि के हुन्छ र केही गर्न सक्ने होइन भन्ने जस्ता सोचले पनि यो हुन्छ । त्यसैले मानसिक तनावका बारेमा खुलेर बोल्ने वातावरण सिर्जना गरिदिने । सोझासाझा, कमजोर मुटु भएका व्यक्तिलाई मानसिक सहयोगसम्म पनि समाजले गर्न सक्यो भने यस्ता घटना कम हुन्छ होला ।
सामाजिक सञ्जाल पनि आत्महत्याको कारण बनेको छ
सुस्मिता थापा
मनोविद्
सुरुमा हेर्दाखेरि नेपालमा मेडिकल स्वास्थ्यको जुन समस्या छन्, ती समस्या राम्रै समाधान भएका छैनन् । साथै, यो मनोविज्ञानको उपचार नेपालमा नयाँ पनि हो । सबैलाई छुट्टाछुट्टै खालका समस्याहरू छन् । समयअनुसार परिवर्तन छ । आत्महत्या त विभिन्न कारणले हुन्छन्, जस्तै मानसिक, शारीरिक, आर्थिक, सामाजिक विभिन्न हुन्छन् तर हाम्रो देशलगायत विश्वमा यस्ता खालका ज्ञानको कमी भएका कारण र समाज, साथीलाई व्यवहारअनुसार भन्न नसक्नुजस्ता धेरै कुराले यसको समस्या निम्त्याएको छ । धेरै समस्या हुन्छन् । मानसिक जीवनमा यसलाई आत्मसात् गर्दै नलगेर एक्लोपनको सिकार हुनु पनि यसको मुख्य कारण हो । साथै, पुरानो सोच पनि यसको कारण हो वा भविष्यको तनाव छ । यो विश्वभर फैलिएको महामारीमा कति पैसाको तनाव, साथै मानिसमा डर–त्रास, अर्को यो कोरोनाकालमा कतिको जागिर गयो, कतिको आफ्ना व्यवसाय बन्द भए । आर्थिक रूपमा सबैलाई यस्ता समस्याहरू देखिए, साथै कति जनाको आफ्नो मान्छे गुमाउनुको पीडा साथै कसरी चल्ने भन्ने जस्ता पीडा साथै समाजमा घुलमिल हुन नसक्ने, आफूलाई सम्हाल्न पनि नसक्ने, त्यस्ता कुराले पनि आत्महत्या त्यतिबेला बढेको देख्न सक्थ्यौं । मुख्यत: पैसाले धेरै समस्या निम्त्याएको छ ।
अब भनेको दूरसञ्चारको दुरुपयोगको कारण पनि हो । मानिसको गोप्यतालाई ख्याल नगर्ने, यस्ता कुराले पनि मानसिक तनाव बढ्ने र मानिसले आत्महत्यालाई आत्मसात् गरेको पाइन्छ । सरकारबाट पनि यसलाई नियन्त्रण गर्ने काम त भइ नै रहेका छन् । तर, निरन्तर रूपमा भएनन्, जस्तै प्रचार प्रसारका काम गर्ने, मानसिक रोगी हुनुमा यसलाई के गर्ने, सरकारले ल्याएका पहलहरू कस्ता छन्, त्योबाहेक सरकारी अस्पतालमा पनि एउटा मनोविज्ञानसम्बन्धी सेवा हुनुपर्यो ।साथै औषधिको कुरा छ । यो जिन्दगीभर खानुपर्छ । मानसिक अस्पताल आए अब म पागल हो भन्नेजस्ता सोचाइ हुन्छ, तर त्यसबारे अलि धेरै ज्ञान सिर्जना गर्न जरुरी छ, साथै यस्तो खालको जनचेतना सरकारी तहबाट भयो भने पनि यसको राम्रो रोकथाम हुन्थ्यो ।
जति कुरा गरे पनि मेरो समस्याको समाधान छैन भन्ने जस्ता सोच हुन्छन्, त्यस्ता सोचलाई हटाउने साथै त्यस्ता व्यक्तिलाई बुझाउन सक्नुपर्यो । मुख्य कुरा भनेको हामी एक जना व्यक्ति परिवर्तन भयौं भने परिवार र समाजमा परिवर्तन आउँछ, त्यो नै मुख्य हो । आफू परिवर्तन हौं अनि समाज परिवर्तन गराऊँ । अनि बल्ल समाजका व्यक्तिमा तनाव, आत्महत्यामा कमी र सामाजिक भूमिका पनि निर्वाह हुन्छ ।